मोदीलाई बधाइ दिँदै पाकिस्तानका प्रधानमन्त्रीले दिए यस्तो प्रतिक्रिया


जेठ १०, काठमाडौं । लोकसभा चुनावमा भाजपाको शानदार जित भएपछि विश्वभरका नेताहरुले नरेन्द्र मोदीलाई बधाइ सन्देश दिइरहेका छन् । यसैक्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मोदीलाई बधाइ दिएका छन् ।

खानले भाजपा र उसका सहयोगी दलहरुलाई मोदीमार्फत् बधाइ सन्देश दिएका छन् । साथै दक्षिण एसियाको शान्ति र विकासका लागि मोदीसँग मिलेर काम गर्न पाकिस्तान इच्छुक रहेको पनि बताएका छन् ।

जवाफमा मोदीले इमरान खानप्रति आभार व्यक्त गरेका छन् । मोदीले भनेका छन्, ‘तपाईंको शुभकामनाका लागि हृदयदेखि आभार व्यक्त गर्दछु । मैले सधैं आफ्नो क्षेत्रमा शान्ति र विकासलाई प्राथमिकता दिएको छु ।’

यसअघि भारतको चुनाव हुनुअघि इमरान खानले एक पत्रकार सम्मेलनमा मोदी दोस्रो पटक पनि प्रधानमन्त्री बनेमा पाकिस्तानको लागि राम्रो हुने बताएका थिए ।

मोदी फेरि प्रधानमन्त्री बनेमा कश्मीर समस्याको समाधान निकाल्न सकिने उनको विश्वास थियो । यस विषयमा भारत-पाकिस्तान धरै अगाडि बढिसकेका थिए ।

तर, बालाकोट आक्रमणपछि दुई देशबीच कटुता चर्किंदै गएर भारतले पाकिस्तानमा हवाई आक्रमणसमेत गर्‍यो । भारतले, पाकिस्तानको आश्रय लिँदै आएका आतंकवादी समूहलाई क्षति पुर्‍याएको दाबी गरेको थियो ।

भारतको प्रधानमन्त्रीको रुपमा मोदी दोस्रो कार्यकालका लागि दोहोरिने भएपछि नेपाल, भुटान, चीन, अमेरिका, जापान, रुस, श्रीलंका, मालदिभ्स, अफगानिस्तान, पोर्चुगल, इजरायल लगायतका धेरै देशहरुले मोदीलाई बधाइ दिएका छन् ।

१० जेष्ठ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको