बिआरआईबारे जनार्दन शर्माको यस्तो आयो धारणा


असोज ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्माले चिनियाँ राष्ट्रपति सी जिनपिङले ल्याएको ‘बेल्ट एण्ड रोड इनिशिएटिभ’ (बिआरआई) बारे धारणा राख्दै नेपालीहरूमा स्वतन्त्र निर्णय गर्न सक्ने क्षमता छ कि छैन भनेर प्रश्न गरेका छन् ।

नेकपाले शनिबार काठमाडौंमा गरेको अन्तर्क्रियामा सांसद घनश्याम भुसालले राखेको प्रस्तुतीकरणपछि बिआरआईबारे आफ्ना बुझाइ राखेका शर्माले भने, ‘हामी नेपालीहरूले बुझ्नुपर्ने र जान्नुपर्ने कुरा हामी हाम्रो निर्णय गर्ने क्षमता राख्न सक्छौं कि सक्दैनौं? स्वतन्त्र निर्णय राख्न सक्ने क्षमता । हाम्रो आत्मविश्वास कति छ भन्नेमा पनि यो निर्भर रहन्छ ।’

उनले आफ्नै स्वतन्त्र निर्णय गर्ने क्षमता राख्न सक्ने हो भने हाम्रा हितमा हुने कुरालाई आत्मसाथ गरेर अघि बढ्ने हिम्मत हुनुपर्ने बताए । ‘नेपाल र नेपाली जनताको हितमा हामी अहिले बेल्ट एण्ड रोडको एउटा महत्व र सही प्रयोग गरेर नेपालको समृद्धि र विकासमा अघि बढ्न सक्छौं,’ उनले भने ।

बिआरआईलाई एक असल छिमेकीले देखाएको पारस्परिक लाभको रूपमा स्वीकार्य गर्नुपर्ने पनि शर्माले बताए । समाजवादी विचार अभियानको रूपमा बिआरआईको चर्चा गर्दै शर्माले थपे, ‘भौतिक संमृद्धिको अभियान मात्र भन्ने मैले देख्दिनँ । यो समाजवादी विचार अभियानको रूपमा भन्ने बुझेँ।’

४ आश्विन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको