दाङका एक युवकको अमेरिका सपना: ७५ लाख डुबाएर १७ महिना जेल परे


जेठ ३२, काठमाडौँ  । अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ । मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकामै १७ महिना जेल परेका हुन् । उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ लिइएको थियो । पछि बाटोमा धम्क्याएर थप पैसा असुली गरिएको हो । भारतबाट युएई हुँदै उनलाई ब्राजिल लगिएको थियो । त्यहाँबाट सडकमार्ग हुँदै उनलाई अमेरिका लगिएको हो ।

ब्राजिलबाट पेरु, इक्वेडर, कोलम्बिया, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै उनलाई अमेरिका लगिएको थियो । मेक्सिकोबाट अमेरिका छिरेलगत्तै पक्राउ परेका उनी त्यहाँ १७ महिना जेल परे । जेलबाट छुटेपछि नेपाल ‘डिपोर्ट’ गरिएको थियो । नेपाल फर्किएपछि उनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए ।

उनलाई त्यसरी अमेरिका पठाउने गिरोहका सदस्य जिसीलाई ब्युरोले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको छ । जिसीले हाल मृत्यु भइसकेका एक प्रदेश सभा सदस्यको निर्देशनमा पैसा लिएको बयान दिएका छन् ।

गिरोहका अन्य सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । सो समूहले त्यसरी महिनौँसम्म लगाएर विभिन्न देश हुँदै युवाहरूलाई अमेरिका पठाउने गरेको थियो । केही वर्षयता अमेरिकी सीमामा कडाइ गरेपछि त्यहाँ धेरैजना पक्राउ परेका थिए ।

१५ युवकलाई लिबिया पु-याएर बन्धक

वैदेशिक रोजगारीका लागि इटाली लैजाने भन्दै लिबिया पु-याएर १५ युवालाई अलपत्र बनाउने गिरोहका दुईजना पनि पक्राउ परेका छन् । मावन बेचबिखन नियन्त्रण ब्युरोले राहुल गहतराज, तीर्थबहादुर विश्वकर्माजस्ता उपनाम भएका राहुल थापा र कमल भन्ने लोकमान राईलाई प्रहरीले पक्राउ गरेको हो ।

सो समूहले प्रतिव्यक्ति पाँचदेखि सात लाख रुपैयाँ असुलेर उनीहरूलाई नयाँदिल्ली, दुबई हुँदै ट्युनिसियाबाट सिरिया पठाइएको थियो । त्यहाँबाट लिबिया पु-याएपछि उनीहरूको पासपोर्ट तथा नगदसमेत खोसिएको थियो । पछि त्यहाँ खटिएको नेपाली शान्ति सैनिक र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा उद्धार गरिएको थियो ।

पक्राउ परेकामध्ये लोकमान विगतमा पनि मानव तस्करी मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २४ पुस ०७४ मा पक्राउ गरेको थियो ।

टर्कीमा मानव तस्करी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । अदालतबाट १० लाख रुपैयाँ धरौटीमा छुटेपछि उनले यही धन्दालाई निरन्तरता दिएका थिए । ‘भिजिट भिसामा विमानस्थलबाट मानव तस्करी गर्ने गिरोहका उनी नाइके भएको बुझिएको छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने ।

काजकस्तान भन्दै कुर्दिस्तान

मानव तस्करीमा संलग्न गिरोहले काजकस्तान लैजाने भन्दै नेपालीहरूलाई झुक्याएर इरानको सहर कुर्दिस्तान पु-याएरसमेत अलपत्र बनाएका थिए । तीन युवकलाई त्यसरी कुर्दिस्तान पु-याइएको छ ।

त्यसमा संलग्न अमरबहादुर बगाले र मेनुका श्रेष्ठलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले पक्राउ गरी कारबाही अघि बढाएको छ । आकर्षक जागिरको प्रलोभनमा लाखौँ असुलेर उनीहरूलाई कुर्दिस्तान पु-याइएको हो । इराक, लिबिया, सिरियाजस्ता द्वन्द्वग्रस्त देशहरूमा समेत मानव तस्करी बढेको प्रहरीले जनाएको छ ।

३२ जेष्ठ २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको