पुस २, विराटनगर । ‘को–पाइलट अञ्जुका श्रीमान् पनि पाइलट नै हुनुहुन्थ्यो। १६ वर्षअघि उहाँको पनि जहाज दुर्घटनामै ज्यान गयो। श्रीमानको सपना पूरा गर्दैगर्दा आज उहाँ रहनु भएन। यो दुःखद् संयोग पर्यो। १६ वर्षपछि पुनः परिवारमा बज्रापात दोहोरियो,’ आइतबार जहाज दुर्घटनामा निधन भएकी को–पाइलट अञ्जु खतिवडाको विराटनगरस्थित माइती घरमा पुग्दा आफन्त सन्तोष तिम्सिना सुनाउँदै थिए।
घरमा सन्नटा छाएको थियो। सबै भावविह्वल थिए। घरभित्र रुवाबासी चलेको थियो। आफन्त सन्तोष भन्दै थिए, ‘श्रीमानको काम उनले सुरु गरेर परिवारमा पीडा भुलाएकी थिइन्। तर, आज ऊ पनि त्यस्तै घटनामा परिन्। यो बज्रपातको पीडा व्यक्त गर्ने कुनै शब्द छैन।’
दुर्घटनामा निधन भएकी यती एयरलाइन्सकी को–पाइलट ४४ वर्षीया अञ्जु खतिवडा विराटनगरकी चेली हुन्। अञ्जुको माइती विराटनगर महानगरपालिका–५ चाँदनी चोक हो। पति दीपक पोखरेलको निधन पनि यती एयरलाइन्सको जहाज दुर्घटनामै भएको थियो। दीपक यतीकै को–पाइलट थिए। यतीकै विमान २०६३ साल असार ७ गते जुम्लामा दुर्घटना हुँदा उनको निधन भएको थियो।
पतिको पाइलट बन्ने सपना पूरा गर्न आफू पाइलट बनेकी अञ्जुको निधन पनि जहाज दुर्घटनामै भएको छ। जहाज दुर्घटनाले दिएको पारिवारिक दुःखान्तपछि पाइलट पढेकी अञ्जु पति गुमाएको १६ वर्षपछि एउटै प्रकृतिको घटना बेहोर्दै यो संसारबाट आफैं अस्ताएकी छन्। उनको जीवन सकिएको यो दुःखद् संयोगले परिवार, आफन्त, नातागोता र शुभचिन्तकमा शोक थपिदिएको छ। सबैलाई बज्रपातमा पारिदिएको छ।
आफन्त सन्तोषका अनुसार पति दीपकको निधनपछि पाइलट बन्ने अञ्जुको सपना थियो। त्यो अठोटका साथ अमेरिकामा पाइलट पढेकी अञ्जु ५ बर्से कोर्स पूरा गरी नेपाल फर्किएर यती एयलाइन्समा आबद्ध भएको उनी बताउँछन्। करिब ७ वर्षदेखि यतीमा आबद्ध उनले भारतमा प्लस टु गरेकी थिइन्।
अञ्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढीलगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेको बताइएको छ। अञ्जुले झन्डै १०० घण्टा जहाज उडाएको आफन्त बताउँछन्। सन्तोषका अनुसार २०५४ साल जेठमा काठमाडौंका दीपकसँग उनको पहिलो बिहे भएको थियो। उनीतर्फकी १ छोरी मेलिसा पोखरेल क्यानडामा डाक्टर पढ्दैछिन्।
दीपकको निधनपछि सुबास केसीसँग अञ्जुको दोस्रो बिहे भयो। सुबासतर्फका ३ वर्षका छोरा रहेको जानकारी सन्तोषले दिए। उनका अनुसार गोविन्दप्रसाद खतिवडा र इन्दिरादेवी खतिवडाकी जेठी छोरी अञ्जुको जन्म २०३५ साल कात्तिकमा भएको हो। छोरीको निधनको खबरसँगै व्यवसायी एवं समाजसेवी गोविन्द आइतबार साँझ सपरिवार काठमाडौं गएको सन्तोषले बताए।
उनका अनुसार गोविन्दका ३ छोरी र १ छोरा छन्। छोरा मनिष खतिवडा र बुहारी रिग्दा आचार्य अमेरिकामा छन्। माइली छोरी मैया खतिवडाका पति प्रमोदराज पौडेल यतीकै क्याप्टेन हुन्। कान्छी मुना पोखरेल पति राजेन्द्र पोखरेलसँगै क्यानडामा बस्छिन्।
सरकारी जागिरबाट अवकाशप्राप्त गोविन्दका बुवाको गत भदौमा निधन भएको सन्तोषले बताए। ‘बुवाको बर्खन्त बारेर बसेका बेला पुत्रीशोक पनि पर्यो। अपत्यारिलो घटनाले संसार नै अँध्यारो बनाएको छ,’ उनले भने, ‘पहिला ज्वाइँ पनि जहाज दुर्घटनामै बित्नुभयो। अहिले छोरीको निधन पनि जहाज दुर्घटना मै भयो।’ गोविन्दकी आमा (अञ्जुकी हजुरआमा) शुभद्रादेवी नातिनीको निधनको खबरले सम्हालिन सकेकी छैनन्।
शुभद्रादेवीले अब न नातिनीले जहाज उडाएको सुन्न र देख्न नै पाउँछिन्, न त उनलाई प्रत्यक्ष भेट्न नै। अञ्जु दुर्घटनामा परेको जहाजमा ६८ यात्रुसहित चालक दलका ४ जना सदस्य थिए। प्रशिक्षक पाइलट क्याप्टेन कमल केसी अञ्जुलाई क्याप्टेन पास गराउने अन्तिम उडान गराइरहेका थिए। उनले क्याप्टेन क्लियरेन्सको प्रमाणपत्र पाउने उडान दुर्घटनामा परेको बताइएको छ। याे खबर अाजकाे अन्नपुर्ण पाेष्टमा किशोर बुढाथोकीले खबर लेखेका छन ।
प्रतिक्रिया दिनुहोस