दाङमा बिहे गरेकि बुहारीले गरिन यस्तो अचम्मको निर्णय (नालिवेलीसहित)


फागुन २६, दाङ ।

बुहारीको बिहे! त्यो पनि सासूससुराले नै गरिदिएको!

यस्तो पनि हुन्छ र?

हुन्छ नि, समाजमा असल मानिस भए तिनले बुहारीको पनि बिहे गरिदिन्छन्।

दाङको तुलसीपुरमा यस्तै भयो। भरखरै, यही साताको बिहीबारको कुरा हो।

बिहे भएको हो ३० वर्षीया आरती श्रेष्ठको। उनका सासूससुरा विना श्रेष्ठ र शिव श्रेष्ठले बिहे गरिदिएका हुन्।

कसरी भयो त बिहे? यसको थोरै पृष्ठभूमि बुझौँ।

केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–६ निवासी शिव र विनाका छोरासँग आरतीको बिहे भयो। उनका लागि बिहे गरेर आएको घर नै एउटा संसार बन्यो।

उनले सासू–ससुराको रूपमा बुबाआमा नै पाइन्। सानो परिवारमा उनी हाँसीखुसी थिइन्।

समय सधैँ उही रहेन। बिहेको केही वर्षमा उनका पति बिरामी परे, क्यान्सर भएको टुंगो लाग्यो। अन्ततः शिव र विना श्रेष्ठका एक मात्र सन्तान, आरतीका पतिको मृत्यु भयो।

परिवारमा अन्धकार छायो। समयको खेल न हो, सहनै पथ्र्यो। शिव–विना र आरतीले पनि सहे। समय बित्दै जाँदा घाउमा खाटो बस्दै गयो।

छोराको मृत्युपछि शिव–विनाको सहारा बनिन् बुहारी आरती। पतिको मृत्युपछि पनि उनले घर छाडिनन्, सासूससुरासँगै बसिन्।

सासूससुराले उनलाई छोरीजस्तै माने, पढाए। गरिखाने बाटो देखाए।

विधवा बुहारीलाई हेलाहोचो गर्ने समाजमा शिव–विना फरक देखिए। सासूससुराको व्यवहारले आरतीलाई पनि पतिको घरमा बस्न असजिलो भएन। उनको मनमा सासूससुराप्रति माया र सम्मान बढ्दै गयो।

उनले पनि सासूसुरालाई आमाबुबा सरह मानिन्।

‘श्रीमान बितेपछि घरमा बुहारीले धेरै हेला सहनुपर्छ, अनेक समस्याहरूसँग जुध्नुपर्छ भन्ने सुनेकी थिएँ,’ आरतीले भनिन्, ‘मलाई त सासूससुराले बुहारीभन्दा पनि छोरी जस्तो मान्नुभयो। म खुसी छु।’

बिहीबार आमन्त्रितहरूका माझ यिनै आरतीको बिहे विधिपूर्वक भयो। शिव र विनाले राजीखुसीले उनको बिहे गरिदिएका हुन्।

आरतीको बिहे गरिदिन पाएकोमा शिव र विना दुवैमा सन्तोषको भाव देखिन्थ्यो।

‘हाम्रो छोरा भने पनि बुहारी, छोरी जे भने पनि उनी (आरती) नै हुन्,’ शिवले भने, ‘एकातिर मलाई धेरै खुसी लागेको छ, अर्कातिर यति प्यारी छोरीलाई बिदाइ गर्दा आफूलाई सम्हाल्न गाह्रो पनि भएको छ।’

शिवले आरतीलाई ‘बुहारी’ भनेनन्, ‘छोरी’ भने।

बिहे भएर आउँदा आरतीले स्नातक तह पूरा गरेकी थिइन्। घरमा सबैले नर्सिंङ पढ्न हौसला दिए। उनले तुलसीपुरबाटै ‘स्टाफ नर्स’ पढाइ पूरा गरिन्।

बिहे गरेर आएपछि परिवारकै हौसलाले आफू नर्स भएको उनले बताइन्।

उनले यो बिहेपछि पनि आफूहरू तुलसीपुरमै बुबाआमा (सासूससुरा) कै साथमा बस्ने निधो गरेकी छन्।

‘जन्मदिने बुबाआमा अरू नै भए पनि कर्म दिने बुबाआमा पहिलो प्राथमिकतामा हुनुहुन्छ,’ उनी भन्छिन्, ‘बिहेपछि पनि हामी तुलसीपुरमा बुबाआमाको घरमै आएर बस्छौँ।’

आरतीले दोस्रा श्रीमान चन्दनध्वज केसीसँग यसबारे सम्झौता भएको बताइन्।

शिवले आरती आफूहरूसँग बस्ने कुरा उनकै इच्छामा भर पर्ने बताए। उनले भने, ‘यो कुरा अब हाम्रोभन्दा पनि छोरी आरतीको इच्छामा निर्भर हुने कुरा हो। मलाई विश्वास छ छोरीज्वाइँ हामीसँगै बस्नेछन्।’

उनले आरती आफ्नो इच्छाअनुसार बिहे भएको नयाँ घरमा जान सक्ने बताए।

शिव र आरतीका कुरा सुनिरहेका चन्दनध्वजले पनि आफू आरतीकै इच्छाअनुसार अघि बढ्ने बताए।

उनी नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–५ का स्थायी बासिन्दा हुन्।

उनका अनुसार फेसबुकमार्फत आरतीसँग चिनजान भएको थियो। यस्तो चिनजानपछि काठमाडौंमा भेट भएको थियो।

ससुरा शिव बिरामी हुँदा उपचारका लागि उनलाई लिएर आरती काठमाडौं गएकी थिइन्। त्यही क्रममा अस्पतालमा चन्दनध्वजसँग भेट भएको थियो।

चन्दनध्वजले उपचारको क्रममा धेरै मद्दत गरे। उनको व्यवहारबाट आरती प्रभावित भइन्। उनीहरूको हृदयमा अदृयरूपमा आपसी मायाका मुनाहरू अंकुराउन थाले।

एक दिन चन्दनध्वजले प्रेम प्रस्ताव राखे। आरतीले आफ्नो सबै वास्तविक अवस्थाबारे बताइन्। कुरा सुनेर चन्दनध्वज गम्भीर भए।

उक्त क्षण सम्झँदै उनले भने ‘आरतीले कुनै कुरा नलुकाई आफ्नो विगत बताइन्। मलाई उनीप्रति असाध्यै माया र भरोसा भयो। मैले नै बिहेको प्रस्ताव गरेँ।

आरती बिहे गर्न तयार थिइनन् तर चन्दनध्वजले हार मानेन्। उनी आरतीको घरमै गए, शिव र विनालाई भटेर आफ्नो प्रस्ताव सुनाए।

शिवलाई कुरा उचित लाग्यो। उनले आरतीलाई सम्झाई–बुझाई गरेर बिहेका लागि राजी गराए।

‘आरतीले त अर्को बिहे गर्न मानेकी थिइनन्। तपाईंहरूलाई छोडेर जान्नँ भन्थिन्,’ शिवले भने, ‘उनको उमेर कलिलै छ। हामीले नै सम्झाई–बुझाई गरेर दोस्रो बिहे गर्न मनाएका हौँ।’

आरतीले आफू सदाको लागि तुलसीपुरमा बुबाआमा (सासूससुरा) सँगै बस्ने वचन दिएकी छन्।

‘आज त म बिहे गरेर श्रीमानको घरमा जानैपर्छ,’ उनले भनिन्, ‘म दुई चार दिनमै तुलसीपुर फर्किएर बुबाआमासँगै बस्नेछु।’

नवलपरासी पूर्वको प्रतापपुर गाउँपालिका–१ बाट आरतीका बुबाआमा छोरीको बिहेमा आएका थिए। आमा ५५ हुममाया श्रेष्ठले शिव श्रेष्ठको जस्तो असल परिवार बिरलै भेटिने बताइन्।

‘मैले आरतीलाई जन्ममात्रै दिएकी हुँ। संसारमा यस्तै अरू मानिस पनि भए कोही छोरीबुहारीले दुःख पाउनुपर्ने छैन,’ उनले भनिन्, ‘ज्वाइँको मृत्यु हुँदा छोरी अभागी रहिछे, दुःख पाउने भई भन्ने चिन्ताले सताएको थियो। आज यो बिहेमा आइपुग्दा मेरी छोरी जति भाग्यमानी कोही छैन जस्तो लागेको छ।’

बेहुला चन्दनध्वजका बुबा ६१ वर्षीय उत्तमध्वजले आफूहरूले खुसीसाथ आरतीसँग छोराको बिहे गरिदिएको बताए।

‘विधवा हुनुमा महिलाको के दोष हुन्छ र,’ उनले भने, ‘अहिलेको जमानाम पश्चगामी सोच पाल्नु सही होइन।’

बिहेमा भेटिएकी महिला अधिकारकर्मी सुष्मा गिरीले आफू अहिलेसम्म सयौँ बिहेमा सहभागी भए पनि आज सबैभन्दा धेरै खुसीको अनुभूति गर्न पाएको बताइन्।

‘विधवा देख्दा शुभ हुँदैन, अलच्छिन हुन्छ भन्ने पुरातन सोचबाट समाज मुक्त हुन जरुरी छ,’ उनले भनिन्, ‘विधवा हुनुमा महिलाको कुनै दोष हुँदैन। समाजमा शिव र विना जस्ता असल मानिसहरूको संख्या बढ्दै जान जरुरी छ।’

तुलसीपुर उपमहानगरकी महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ आफूले यति सकारात्मक र उदाहरणीय कार्य पहिलो पटक देखेको बताइन्।

‘सबै छोरीबुहारीका यस्तै असल अभिभावक भए किन महिला हिंसा बढ्थ्यो र,’ उनले भनिन्, ‘सबैले छोरी हुन् वा बुहारी, यस्तै माया र संरक्षण गर्न सके समाज सुन्दर र सुरक्षित हुन्थ्यो होला।’ यो खवर नारायण खड्काले सेतोपाटीमा लेखेका छन ।

२६ फाल्गुन २०७९, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको