बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, ८ जना बेपत्ता


असार २८, काठमाडौं । अविरल वर्षाका कारण देशभरका विभिन्न घटनामा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ भने ८ जना बेपत्ता भएका छन् ।

पछिल्लो विवरण अनुसार काठमाडौंमा ३ जनाको ज्यान गएको छ भने खोटाङमा पनि ३ जनाको मृत्यु भएको छ । काठमाडौंको मुलपानीमा पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् । खोटाङमा बेपत्ता भएका ३ जनाको खोजी कार्य जारी छ ।

बनेपाको नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । उनीहरु नातामा हजुरआमा नातिनी हुन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । भोजपुरमा पानीको भेलले पर्खाल भत्काउँदा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ ।

पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मकवानपुरको थाहा नगरपालिकाको महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।

२८ असार २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको