सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम तेश्रो


जेठ २७, काठमाडौं । भारतीय टेलिभिजन च्यानल ‘जिटिभी’ बाट प्रसारण हुँदै आएको ‘सारेगमप लिटल च्याम्प्स’ को आइतबार फाइनलमा इटहरी-५ का एघार वर्षीय प्रितम आचार्य तेस्रो भएका छन्।

छ जनाको ‘टप-६’ मा परेका अर्का नेपाली भक्तपुरका आयुष केसी भने अन्तिम तीनमा पर्न सकेनन्। यो प्रतियोगिता सुगन्धा दातेले जितेकी छन् भने दोस्रो भए मोहम्मद कैफ।

प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी ‘रियालिटी शो’ को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई नेपालीले आइतबारको ‘ग्र्यान्ड फाइनल’ मा पनि निर्णायक र पाहुनाहरूको वाहवाही बटुले। आयुषको प्रदर्शनपछि निर्णायक मण्डलका शानको प्रतिक्रिया थियो, ‘रोमान्टिक गीतमा तिमी अरू प्रतिस्पर्धीभन्दा एक कदम अगाडि छौ।’

नेपालजस्तो सानो बजार र गीत-संगीतले करिअरको दर्जा नपाएको देशका प्रतिस्पर्धीले भारतीयहरूकै माझ उभिएर अब्बल प्रदर्शन गर्नु र उनीहरूलाई नै पछार्दै फाइनलसम्म पुग्नु आफैंमा तारिफयोग्य हो। प्रितम र आयुषले त्यही कोटीको प्रदर्शन गरे, यसपालिको ‘सारेगमप’ सिजनमा। प्रितमले आफ्नो सुमधुर आवाजबाट गृहजिल्ला सुनसरीमा धेरैलाई ‘मन्त्रमुग्ध’ पारेको पाँच वर्षभन्दा बढी भयो।

पाँच वर्षको उमेरमा राम्ररी बोली नफुट्दै उनी स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा गीत गाउँथे। उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘रोमान्टिक गीतमा प्रितम बढी रमाउँछन्।’ प्रितमकी आमा राधिका भने उनी भावुक गीतहरू गाउन रूचाउने बताउँछिन्। उनी आफैं पनि भजन गाउँछिन्। आमाकै प्रभावले हुन सक्छ, प्रितम सानैबाट गायनमा झुम्मिन थाले।

‘बाबु रोयो भने गीतले फक्किन्छ भनेर डिभिडी/भिसिडी प्लेयरमा प्रशस्तै गीत राखेका थियौं,’ राधिकाले प्रितमको संगीत मोहबारे केही दिनअघि सेतोपाटीसँग भनेकी भनिन्, ‘सानै उमेरमा यति सफल होला भन्ने चाहिँ कल्पनै गरेकी थिइनँ।’

राधिकाका अनुसार प्रितम चार वर्षको हुँदा नै गीत सुनेर कन्ठ पार्न सक्थे। ठूलो भएपछि के बन्ने भनेर सोध्दा उनको जवाफ हुन्थ्यो, ‘नारायण गोपाल।’ जिटिभीको प्रतिस्पर्धामा नेपाली गीत गाउन लगाउँदा उनले नारायण गोपालकै गीत सुनाएको राधिकाले बताइन्। यसअघि कान्तिपुर टिभीको ‘सुरशाला’ मा पनि उनले नारायण गोपालकै गीत गाएका थिए।

प्रितमलाई कान्तिपुर टेलिभिजनले २०६२ मा सञ्चालन गरेको ‘सुरशाला आइडल जुनियर’ को प्रतिस्पर्धामा डोर्याएका थिए– पूर्वकै लोकभाका संगीतकार बलराम समालले। त्यति बेला प्रितम कक्षा २ मा पढ्थे। उनी स्वर तिखार्न इटहरी–२ स्थित संगीत साधना प्रतिष्ठानमा भर्ना भइसकेका थिए। प्रतिष्ठानका गुरू राजु केसीले प्रितमलाई भरपुर ‘गाइड’ गरे।

उनकै सिकाइले प्रितम सुरशालाको फाइनलसम्म पुगेर ‘फस्ट रनरअप’ भए। त्यसमा विजयी भएका थिए उनै आयुष केसी, जो ‘सारेगमप’ मा सँगै फाइनलसम्म पुगे। सुरशाला संगीत प्रतिष्ठानले नै नौ महिनाअघि प्रितमलाई जिटिभीको कार्यक्रम निम्ति आवेदन भर्न लगाएको थियो। ‘सुरशाला’का अमृत क्षेत्रीले प्रितमलाई कार्यक्रममा प्रतिस्पर्धा गराउन आफैं अगुवाइ गर्दै परिवारसँग अनुमति मागेका थिए।

सुरशाला एकेडेमीले नेपालबाट दुई बाल प्रतिभालाई जिटिभीमा सिफारिस गरेको थियो- आयुष केसी र प्रितम। यसको निम्ति दुवैले गाएका गीतका भिडिओ प्रतिष्ठानले सारेगमपमा पठायो। जिटिभीले उनीहरूलाई पहिलो चरणको अडिसनबिना सोझै दोस्रो चरणका लागि दिल्ली बोलायो। दोस्रो चरणको अडिसन दिन आयुष र प्रितमसँगै अरू ८ जना नेपाली केटाकेटी दिल्ली गएका थिए। ‘लेभल टू’ मा आयुष र प्रितम मात्र छानिए।

आफ्नो हाँसो र चञ्चले स्वभावका कारण पनि सबैका प्रिय बनेका प्रितमले गाउँदा-गाउँदै मञ्चमा नाचेर, कलाकारले झैं अभिनय गरेर सबैको मन जित्दै आएका थिए। कार्यक्रममा तेस्रो भएका प्रितमले सुरूआतदेखि नै निर्णायक मण्डल र ‘सेलेब्रिटी’ पाहुनाहरूको मन जित्दै आएका थिए। उनले गाएको ‘सन्देशे आते हैं’ र ‘तडप तडपके’ गीत खुबै रूचाइएका थिए।

संसारकै एक ठूलो फिल्म उद्योग ‘बलिउड’ र सवा अर्ब जनसंख्याको बजारयुक्त भारतमा गीत-संगीतलाई राम्रो करिअरका रूपमा लिइन्छ। लाखौं केटाकेटी भविष्यमा किशोर कुमार र मोहम्मद रफी बन्ने सपना देख्दै हुर्कन्छन्। त्यहीअनुसार उच्चस्तरीय तालिम लिन्छन्।

२७ जेष्ठ २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको