‘मात्र ३३ प्रतिशत अधिकार बोकेर पुरुष सम्मान भन्दै नारी दिवस मनाए’


सरस्वती अधिकारी । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस आएर पनि गयो । एक्काइसौँ शताब्दीका नारीहरुले ३६४ दिनका कठोर संघर्षहरुलाई भुलेर एकदिन उत्सव मनाए ।

अन्तर्राष्ट्रिय स्तरमा नारीहरुको अबस्था के छ ? त्यो खोजमुलक बिषय होला तर नेपाली नारिहरुको हकमा महिलाहरु विभेदको जाँतो मुनि पिल्सिनु परेको छ । पुरुषबादको थिचोमिचोको कुरा छोडौ, अधिकार दिने राज्यले नै महिलाहरुलाइ ३३ प्रतिशत अधिकारमा मात्रै सिमित गरेको छ।

महिलाहरु संसदमा ३३ प्रतिशत सिट मात्रै लिएर बसेका छौ, जसले नै प्रस्ट परेको छ कि, यो देशमा बस्ने महिलाहरु सम्मान ढंगले बाँचेका छन् कि असम्मान ढंगले बाँचेका छन् ।

आखिर ५० प्रतिशत अधिकार माग गर्न सक्दैनौ भने हामी कसरी नारी र पुरुष समान बन्न सक्छौ ? अनि नारी र पुरुष समान भन्दै नारी दिवस मनाउनुको के औचित्य ? मात्र ३३ प्रतिशत अधिकार बोकेर नारी र पुरुष कसरी सम्मान भए ?

महिलाहरु समानुपातिक प्रतिनिधित्वमा राज्यले ३३ प्रतिशत मात्र प्रदान गरेको छ । त्यही ३३ प्रतिशत बोकेर नारि दिवश मनाउने महिलाहरुले सोच्ने पर्ने बेला भएको छ ।

नेपाली समाजमा महिलाहरु प्रति बढ्दो हिंसाका घटनाहरु भयाबह छन् । जहाँ ३/४ बर्षिया नाबालिका देखि ७०/८० बर्षिया बृद्द आमाहरु बलात्कृत भैरहेका छन् ।

कयौं निर्दोष राधाहरु बोक्सीको आरोपमा कुटिनु परेको छ । बलात्कृत निर्मलाहरुको न्याय हराएको छ ।

नारीहरु असमानताको सिकार हुनुपरेको छ, चाहे घर होस् या कार्यालय, चाहे श्रम होस् या पारिश्रमिक हरेक ठाउँमा नारी र पुरुषबीच विभेद नै विभेद छ ।

२१औ सताब्दीका नेपाली नारीहरु अझै पनि घर धन्दा र चुलो चौकोमै सीमित छन् । एउटी विवाहित नारी जसले सास फेर्न पनि उसको पतिको अनुमति लिनु पर्ने रे ! उसले घरबाहिर काम गर्न नहुने रे ! अनि घर भित्रै बिना पारिश्रमिक नै श्रम गरेर बस्नुपर्ने रे। यो कस्तो समाज हाम्रो जहाँ घरभित्र छोरा मान्छे अर्थात् पुरुषले घरभित्रको काम गर्न नहुने ? छोरा मान्छेले भाडा माज्नु हुन्न रे ! पकाउनु हुन्न रे इज्जत जान्छ । छोरी मान्छेले हास्नु हुन्न रे ! पोथी बास्नु हुन्न रे ! अनि छोरा मान्छेले रुनु हुन्न रे ! कस्तो बिडम्बना हो, जहाँ पनि छोरीले झुक्नैपर्ने !

यहि समाज हो जहाँ नारी अस्मितालाई सेतो कपडाको रुपमा दाज्ने अनि, नारी जीवनलाई कर्कलाको पानीसंग दाज्ने। अनि फेरी यहि समाज हो सेतो कपडामा दाग लगाउन खोज्ने, अनि नारीको जीवनलाई छताछुल्ल पार्न खोज्ने पनि।

यो कस्तो समाज हो, जहाँ पनि पुरुषवाद छ ? जहाँ के नारी दिवस मनाउनुको केहि औचित्य छ ?

हरेक घरमा छोरीलाई संस्कार सिकाइन्छ । अनि भनिन्छ छोरी बेलुका छिटो घर आइज है, जमाना खराब छ भनेर । अनि त्यहि घरमा छोरालाई कहिल्यै सिकाइदैन कि छोरा अर्काको घरको इज्यतसंग कहिल्यै खेलवाड नगर है भनेर ।

जब हाम्रो सिकाइमा नै पुरुषवाद छ भने एक दिने नारी दिवसको के औचित्य छ ?

यहाँ नारीहरु पुरुषबाट मात्र होइन, स्वयम् नारीहरुबाट नै अन्यायमा परेका छन्। सासुले बुहारीलाई गर्ने विभेद होस् या बुहारीले सासूलाई गर्ने विभेद आज समाजमा व्याप्त रुपमा फैलिएको छ। यदि नारीले नै नारीलाई सम्मान गर्न सक्दैनौ भने कसरी कसरि हुन्छ नारि मुक्ति ?

हिजो-आज नारी अधिकारकर्मी पनि डलरमा बिक्न थालिसके । त्यसैले होला नारी दिवस झन् फितलो बन्दै गैरहेको छ। नारीको अस्मिता धरापमा पर्दै गैरहेको छ ।

नारी दिवसको नारा लगाएर नारी र पुरुष समान हो भन्ने संघर्षमा पुग्छौ । अझ नारीको नाममा डलरको खेति गर्दै जय नारी भन्ने महान नारीको त झन् कमी नै छैन यहाँ । आफनै अधिकार डलरमा बेचेर भाषण गर्नेहरुले गर्दा अझ नारी दिवस कमाइ खाने भाँडो बन्दै छ।

हरेक दिन हुने हिंसात्मक घटनाले गर्दा आज पनि नारीहरु निर्धक्क बन्न सकेका छैनन् । अझ राष्ट्रको सबैभन्दा ठुलो सम्माननीय पदमा पनि नारी नै रहेको मेरो देशमा तिनै अर्थात् रास्ट्रपतिकै सम्मान गर्न नसक्ने हाम्रो देशले नारी दिवस मनाउनुको के औचित्य ? रास्ट्रपति नारी भएकै कारण उनिमाथि बेलाबखत आंच आउने खालको पोष्टहरु सामाजिक संजालमा पोखिने गरेका छन् ।

निर्मलालाई न्याय दिन नसक्ने हाम्रो देशमा जय नारी भनेर डलरको खेति गर्नेहरुलाई यो सोध्न मन छ की, जय नारी भन्दै हिड्दै गर्दा कति डलर प्राप्त भयो ? अनि एउटी नारी निर्वश्त्र भएको देख्दा तिमीहरुलाई अलिकति पनि दयाको भाव जाग्यो कि जागेन ?

अन्त्यमा, नारी दिवस मनाउन भन्दा अब जागरुक बनेर हरेक काममा अगाडी बढ्ने प्रेरित हुनु जरुरत छ। हिँसा के हो त्यसको पाठ पढाउनु जरुरी छ। भोलिका दिनहरुमा निर्मलाहरु बलात्कृत नहुन, हरेक छोरीहरुले निर्धक्क भएर बाच्न पाउँन, अनि हरेक छोरीलाई मात्र होइन, छोरालाई पनि संस्कार सिकाउन ।

२५ फाल्गुन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको