प्रदेश ५ मा गाडी खरिद प्रक्रियामा अनियमितता भएको पुष्टि


माघ २६, बुटवल । प्रदेश नम्बर ५ का लागि गाडी खरिद गर्दा अनियमितता भएको पुष्टि सार्वजनिक लेखा समितिले गरेको छ ।

प्रदेश नम्वर ५ मा प्रदेश सभा र सरकारका विभिन्न मन्त्रालयले खरिद गरेका सवारी साधनमा लेखा समितिले उपभोक्ता मूल्य भन्दा बढी मुल्य तिरेर गाडी किनेको र बढी रकम प्रदेशसभा सञ्चित कोषमा राख्न निर्देशन दिएको छ ।

प्रदेश सभाले ११ वटा र मन्त्रालयले ४ वटा टाटा स्ट्रोम गाडी खरिदमा अनियमितता आशंका सहित सार्वजनिक लेखा समितिमार्फत् छानबिन सुरु गरेको थियो ।

लेखा समितिले शुक्रबार प्रतिवेदनलाई अन्तिम रुप दिँदै टाटा गाडी बिक्री गर्ने सिप्रदी र स्थानीय एजेण्टले अत्यधिक नाफा खाएको निचोड निकालेको छ । समितिले उपभोक्ता मूल्य ६८ लाख ५५ हजारभन्दा बढी मूल्य नतिर्न पनि निर्देशन दिएको छ ।

समितिले तयार पारेकोे प्रतिवेदन प्रदेश सभालाई यही माघ २९ गते मंगलवार दिन बुझाउने लेखा समितिका सभापति डिल्लीप्रसाद चौधरीले बताए ।

प्रदेश सभामा खरिद गरिएका गाडीको मूल्य एउटाको ७१ लाख ९५ हजार छ भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सोही गाडीलाई ७२ लाख ९९ हजार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ७२ लाख ४२ हजारमा खरिद गरिएको उल्लेख छ । एउटै गाडी प्रदेश सभा र मन्त्रालयले खरिद गर्दा तीन थरि मूल्य देखिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

२६ माघ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको