ओली–प्रचण्ड बैठक: जुट्यो ‘जनताको जनवाद’मा सहमति


असार २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार सहमति जुटेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । सचिवालयको बैठकमा राजनीतिक प्रतिवेदन परिमार्जन गरेर जनताको बहुदलीय जनवाद राख्नुपर्ने विषय प्रवेश भएपछि विवाद सुरु भएको थियो । राजनीतिक प्रतिवेदनमा अब ‘जनताको जनवाद’ लेखिनेछ, बीचमा ‘बहुदलीय’ लेखिने छैन ।

पार्टी एकीकरण भएको १३ महिनापछि राजनीतिक प्रतिवेदन प्रकाशित हुन लागेको हो । पार्टीको विधान र नियमावली लगायतका दस्तावेज प्रकाशित भएर कार्यान्वयनमा पुगेपनि विवादकै कारण राजनीतिक प्रतिवेदन प्रकाशित हुन सकेको थिएन । पार्टी एकता हुनुपूर्व नै भएको सहमति विथोल्ने गरी सचिवालय बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेले ‘जनताको बहुदलीय जनवाद’ राख्नुपर्ने प्रस्ताव गरेपछि पार्टीभित्र विवाद सुरु भएको थियो । जनताको बहुदलीय जनवाद एवं जनयुद्धजस्ता शब्द र कतिपय राजनीतिक कार्यदिशाका विषयमा सहमति जुटेको थिएन ।

अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच आइतबार बालुवाटारमा भएको छलफलपछि राजनीतिक प्रतिवेदनका विवादित विषयमा सहमति जुटेको छ । एक वर्षअघि नै राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज अध्ययन गरेर सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो । तर यस विषयमा दुई अध्यक्षबीच छलफल भएपनि सहमति जुट्न सकेको थिएन ।

नेकपामा पार्टीको तत्कालीन कार्यक्रम जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्ने बहससमेत चलेको थियो । पछिल्लो पटक मदन भण्डारी जयन्तीका अवसरमा अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद नै अब जनताको जनवाद भएको अभिव्यक्ति दिनुभएको थियो । सोही आधारमा राजनीतिक प्रतिवेदनमा सहमति जुटेको नेताहरुले बताएका छन् । सचिवालय बैठकमा राजनीतिक प्रतिवेदनमाथि विवाद सुरु भएपछि बहुमत सदस्यहरुले पूर्व सहमतिअनुसार नै राजनीतिक प्रतिवेदन प्रकाशित गर्नुपर्ने अडान लिएका थिए ।

नेपालको असन्तुष्टि

राजनीतिक प्रतिवेदनमा सहमति जुटेपनि १३ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्य विभाजन हुन सकेको छैन । त्यस्तै, स्थानीय तहमा पनि पार्टी कमिटीले पूर्णता पाउन सकेको छैन ।

तीन महिना अघिबाट केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्नेगरी सचिवालय बैठकमा गृहकार्य भए पनि शीर्ष नेताहरुबीच सहमति जुट्न सकेको छैन । केन्द्रीय सदस्यहरुको कार्य विभाजनको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाउँदा कार्य विभाजनको काम अगाडि बढ्न नसकेको हो ।

प्रचण्डको अडान

अध्यक्ष प्रचण्डले नेतृत्वसम्वन्धी निर्णय सहमतिबाट गरिने प्रसंग दोहो¥याउनुभएको छ । शीर्ष नेताहरुले नेतृत्वको लागि सहमतिमा हस्ताक्षर गरेको प्रसंग उल्लेख गर्दै पार्टी एकतामा उक्त कदम महत्वपूर्ण भएको बताउनुभएको छ ।

पार्टी एकतामा यो ठूलो काम भएको बताउँदै प्रचण्डले राजनीतिक प्रतिवेदनन हुँदा विचार, सिद्धान्तको बारेमा अन्यौलता रहेको बताउनुभयो । उहाँले पार्टी एकता घोषणा गर्दा अबको महाधिवेशन एकताकै लागि हुने भन्दै विचार, राजनीति र नेतृत्वसम्वन्धी निर्णय सहमतिबाट गरिने प्रसंग दोहो¥याउनुभयो ।

यसैबीच नेकपाका अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदनमा सहमति जुटेकाले अब प्रकाशनमा जाने बताउनु भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी अध्यक्ष ओली र आफ्नो बीचमा एक वर्षदेखि सम्पूर्ण रुपले सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने सहमति भएकोमा खुसी व्यक्त गर्नुभयो ।

२३ असार २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको