तरकारी प्रकरणमा कांग्रेस भन्छ- ‘सरकारको राष्ट्रवाद कुन दुलो भित्र छिरेको छ ?’


असार २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत लगायत तेस्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूललाई विषादी परीक्षण नगर्ने निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको छ।

राष्ट्रियसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति ध्यानाकर्षण गराइन्।

कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने उनको भन्दै उनले यो निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गरिन्।

‘यो कस्तो गाईजात्रा हो सभाअध्यक्ष ज्यू ? आफैँ निर्णय गर्ने अनि आफैँ फेरि कार्यान्वयन नगर्ने? निर्वाचनको बेलामा महान राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दबाबमा आएर लर्याकलुरुक परेर फेरि आफ्नो निर्णयबाट फिर्ता हुने र यो कस्तो राष्ट्रवाद हो ? अहिले सरकारको राष्ट्रवाद कुन दुलो भित्र छिरेको छ ?’, उनले भनिन्।

विषादीयुक्त तरकारी तथा फलफूल आयातमा कडाइ साथ रोक लगाउन र त्यस कार्ययोजनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन्।

सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय गरेको थियो। भारतीय दवाबपछि सरकार सो निर्णयमा पछि हट्ने अवस्था बनेको हो।

२२ असार २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको