चौकी कब्जा गर्न आएका भनिएका विप्लवका कार्यकर्ता र तालिम केन्द्र फेला परेन


जेठ २२, काठमाडौँ । सोलुखुम्बूको महाकुलुङ गाउँपालिका–५ स्थित गुँदेलमा प्रतिबन्धित विप्लव नेकपाले सञ्चालन गरेको भनिएको तालिम केन्द्र प्रहरीले फेला पार्न सकेको छैन ।

यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । आइतबार परिचालित सुरक्षाकर्मीले छेस्काम चौकी कब्जा गर्न आएका भनिएका विप्लव कार्यकर्ता र तालिम केन्द्र फेला पार्न नसकेका हुन् ।

गुँदेलमा तालिम केन्द्र सञ्चालन गरेको जानकारी प्रहरीलाई आइरहेकै बेला आइतबार छेस्कामको चौकीनजिक हतियारधारी समूह आएको सूचना पाएपछि प्रहरीले चौकी छाडेका थिए । यसैका आधारमा विप्लवले चौकी कब्जा र आक्रमण गरेको हल्ला फैलिएपछि देशभरि तरंग ल्याएको थियो ।

विप्लवको गतिविधि बढेको सूचनाका आधारमा गस्ती र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । सोलुखुम्बूका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले छेस्काममा हल्ला मात्र चलाइएको बताए । उनले टेलिफोनमा भने, ‘छेस्काममा केही भएको थिएन, गुँदेलमा छ भनिएको तालिम केन्द्र खोजी भइरहेको छ, फेला पार्नासाथ जानकारी दिन्छौं ।’ विप्लवको गतिविधि बढेको र तालिम केन्द्र नै छ भन्ने सूचनाका आधारमा खोजी भइरहे पनि अहिलेसम्म फेला नपरेको उनको भनाइ छ ।

सोलुखुम्बूको महाकुलुङ केन्द्रित गरी प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरेर तालिम केन्द्र र विप्लवका कार्यकर्ता खोजी भइरहेको छ । सशस्त्र प्रहरीको प्रदेश १ गण मुख्यालय रानी विराटनगरबाट डीएसपीको नेतृत्वमा ५० र केन्द्रीय प्रहरी विशेष कार्यदलबाट ३० सहित ८० प्रहरीको विशेष टोली सर्च अभियानमा छ । गुँदेलमा बिजुली र टेलिफोन अझै सुचारु हुन नसक्दा सूचना प्रवाहमा समस्या छ । ओखलढुंगाबाट समेत प्रहरी खटाइएको छ । बाहिरबाट आएको र जिल्लाभित्रकै सुरक्षाकर्मीको टोलीले सर्च अभियान सुरु गरेर विप्लवका कार्यकर्ताको खोजी तीव्र पारेका छन् ।

सोलुखुम्बूका सीडीओ राना मगरका अनुसार एक जना पनि विप्लव कार्यकर्ता र हतियारधारी भनिएका कोही पनि पक्राउ परेका छैनन् । जिल्ला शान्त रहेको पनि उनले दाबी गरे । सोलुखुम्बूको सदरमुकामभन्दा निकै टाढा रहेका छेस्काम र गुँदेल संखुवासभा र भोजपुरसँग सिमाना जोडिएका गाउँ हुन् । यस क्षेत्रमा विप्लवका उच्च तहका नेता आएको अनुमान प्रहरीले गरेको छ ।

शान्त छ महाकुलुङ

चौकी आक्रमणको हल्ला नसुनुन्जेल छेस्काम र गुँदेलका स्थानीय ढुक्कसँग बसेका थिए । समाचार आएपछि महाकुलुङ अशान्त भएको गाउँपालिका अध्यक्ष सागर किराँतीले बताए । उनले टेलिफोनमा भने, ‘बाहिर मात्रै हल्ला छ, महाकुलुङ शान्त छ, छेस्कामका स्थानीय ढुक्कसँग दैनिकी चलाइरहेका छन् ।’ मिडियाले देशैभरि छेस्काम र गुँदेलबारे अफवाह फैलाएकाले मनोवैज्ञानिक त्रास बढेको किराँतीले बताए ।

उनले दिएको जानकारी अनुसार गुँदेलमा विप्लव कार्यकर्ताको आवतजावत् बाक्लिएको सूचना आएको र प्रहरीले खोजी गरेको भए पनि छेस्कामबारे हल्ला मात्र चलाइएको हो । स्थानीयले बाहिर आएका हल्ला झुटो भएको बताएको उनको भनाइ छ । गुँदेलकी तारा राईका अनुसार अहिले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ । अन्य कुनै घटना भएको छैन ।

हल्लाले स्थानीयमा त्रास फैलिएकाले यस्ता हल्लाको पछि नलाग्न अध्यक्ष किराँतीले आग्रह गरे । उनले सरकार र विप्लव जिम्मेवार हुनुपर्ने सुझाव दिए । गाउँपालिका अहिले शान्त रहेकाले निर्धक्क आफ्नो दैनिक काम गर्न गाउँवासीसँग उनले आग्रह गरे ।

२२ जेष्ठ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको