कलङ्की–कोटेश्वर सडकमा दुर्घटना बढेपछि ल्याइयो यस्तो नयाँ नियम


जेठ २१, काठमाडौँ । नमूना सडकको रूपमा विस्तार गरिएको कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा सवारी दुर्घटना बढेपछि गति नियन्त्रण अभियान सञ्चालन गरिने भएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । चीन सरकारको सहयोगमा सुधार र विस्तार गरिएको यो सडकखण्ड ९.९ किलोमिटर लम्बाइ र आठ लेनमा छ । गत वर्षको फागुनदेखि सञ्चालनमा आएको यो सडक खण्डमा यस अवधिमा ६६१ वटा सवारी दुर्घटना भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने २३ जना गम्भीर र ४५८ जना सामान्य घाइते भएका छन् । दुर्घटना भएका सावरी साधनमा मोटरसाइकल, कार, जिप, ट्याक्सी, माइक्रोबस, बस र ट्रिपर गरी एक हजार १७० वटा छन् ।

कलङ्की–कोटेश्वर सडकमा सवारी दुर्घटना हुनुमा विभिन्न कारणमध्ये तीव्र गति मुख्य कारण भएको ट्राफिक प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले बताउनुभयो । सोमबारबाट कलङ्कीदेखि कोटेश्वरचोकसम्म गति नियन्त्रणसम्बन्धी सचेतना अभियान सञ्चालन गरिएको छ ।

सडकको मुख्य भाग (मेन लेनमार्ग ) मा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ( सहायक लेन) मार्गमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी गुडाउनुपर्ने कानुनी व्यवस्था गरिएको छ । तर, चालकले आफूखुसी ८०÷९० देखि एकसयसम्मको गतिमा चलाउने गरेको पाइएको छ ।

फराकिलो र खाली सडक देख्नेवित्तिकै आफूखुसी सवारीको गति लिँदा दुर्घटना बढेको भनाइ उहाँको छ । अर्को मङ्गलबारबाट तीव्र गतिमा सवारी हाँक्ने चालकलाई कारवाही हुने भएको छ । सवारीको गति नाप्न ‘लेजर–गन’ प्रयोग गर्ने तयारी भइरहेको छ ।

‘राडर गन’ को विकसित रूप लेजर गनको सहयोगले तीव्र गतिमा गुडिरहेका सवारीलाई लक्ष्यित गरी जाँच गर्ने र स्लिपपत्रसहित घटनास्थलमा नै कारबाही गर्ने जानकारी महाशाखाले दिएको छ । महाशाखाका प्रहरी नायव उपरीक्षक प्रभु ढकाल चालक आठ लेनको सडकप्रति अभ्यस्त भई नसकेकाले पनि दुर्घटना बढेको बताउनुहुन्छ ।

‘चार–चार, आठ लेन’ यो सडक नेपालका लागि नमूना सडक हो । ढकालले भन्नुभयो,‘यसको बनावटमा केही प्राविधि कमिकमजोरी भएका होलान् तर, चालकले ट्राफिक नियमको पालना गर्नैपर्ने पर्छ ।’

त्यस्तै सडक निर्माणमा प्राविधि त्रुटि देखिएको प्राविधिकहरूको भनाइ छ । सडक विभागका एक प्राविधिक अनुसार आठ लेनको सडकमा जेब्रा क्रसिङ राख्न उचित हँुदैन । अन्डरपास तथा आकासे पुल अनिवार्य हुनुपर्छ । नाम उल्लेख नगर्ने शर्तमा उहाँले भन्नुभयो,‘सडकको बीच भागमा डिभाइडर तथा साइड लाइट पनि छैन ।’

सडक प्रयोगकर्ता तथा चालकले ट्राफिक सिग्नल, चिह्न, सडकमार्क प्रयोग गर्न नजान्दा पनि दुर्घटना बढेको हो । स्थानीयवासीले पनि सडक पैदलयात्री मैत्री नभएको गुनासो गरेपछि पाँचस्थानमा आकासे पुल निर्माण सुरु गरिएको छ ।

जेब्रा क्रसिङबाट बाटो काट्दा लामो र असुरक्षित हुने भएकाले नगरवासीले बाक्लो बस्ती तथा स्कुल भएका स्थानमा आकासे पुल बनाउन आग्रह गरेका हुन् ।

२१ जेष्ठ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको