सरकारलाई निर्देशन: आईफा अवार्ड रोक्नु


असार १७, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले तत्काल सबै प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

‘सरकारले सम्झौता त गरेको छैन तर, मस्यौदा हेर्दा नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्‍याउने भएकाले यो अवार्ड तुरन्त रोक्न निर्देशन दिएका हौं’ समितिकी सभापति पवित्रा निरौला खरेलले अनलाइनखबरसँग भनिन् ।

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आईफा)–१९ को नेपालमा गर्न सरकारले सैद्धान्तिक सहमति दिएको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा हुने आईफा अवार्डमा काठमाडौं महानगपालिका सहआयोजक बसेको छ र महानगरले ४५ करोड दिने समझदारी छ । यद्यपि अरु सम्झौता हुन बाँकी छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बोलाइए उनी गएनन् । सचिव मोहनकृष्ण सापकोटा, पर्यटन बोर्डका कार्यकारी सिइओ दीपकराज जोशी उपस्थित थिए । बैठकमा सचिव सापकोटा र सीईओ जोशीले नेपालको पर्यटन प्रबद्धन र व्यापारिक फाइदा हुने निर्णयको बचाउ गरे ।

तर सत्तारुढ सांसदहरुले नै चर्को आलोचना गरेका छन् । भीम रावल, अग्नि सापकोटाले अवार्डको विरोध गरे । सम्बोधनका क्रममा उनी निकै भावुक बनेका थिए ।

टिप्पणी: नेपालीले दुःख पाउने, विदेशी रमाउने राम्रो होइन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले सरकारी खर्चमा भारतीय फिल्म अवार्ड (आईफा) गर्ने तयारीको विरोध गरेका छन् ।

पूर्वसांसद मञ्च नेपालको १९ औ साधारणसभालाई सम्बोधन गर्दै नेता नेपालले आईफाबारे बोलेका हुन् । नगरपालिकाले करोडौं तिरेर अवार्ड गर्ने निर्णयले नेपाली फिल्म निर्माताहरु चिन्तित भएको आफूले पाएको उनले बताए ।

पर्यटन प्रवर्द्धन गर्न ध्यान पुर्‍याउन पर्ने तर, आफ्नो देशको साधन स्रोतलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्ने उनले बताए । नेकपा नेता नेपालले भने, ‘राष्ट्रिय पुँजी मासिएर विदेशी पुँजीहरु फस्टाउने, नेपालीहरुले दुःख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन । नेपालको उद्योगधन्दाहरु धरासायी हुने विदेशीहरुका उद्योगहरु लहलहाउने स्थिति हुनुहुन्न ।’

उनले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।

सांसदको आलोचना 

सरकारले करोडौं खर्चिएर भारतीय फिल्म अवार्ड आईफा नेपालमा गर्न लागेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । सत्तारुढ नेकपाकै सांसदहरु समेत सरकारी निर्णयको विरोधमा बोलिरहेका छन् ।

मंगलबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा त नेकपाका सांसद अग्नि सापकोटा भावुक बने । पर्यटन मन्त्रालयका सचिव, पर्यटन बोर्डका सचिव लगायतलाई बोलाइएको बैठकमा आइफा अवार्डको विषयमा छलफल चल्दै थियो ।

भीम रावल, सुदन किराती, प्रकाशमान सिंह लगायतले सरकारी खर्चमा भारतीय फिल्म अवार्ड गर्न लागेको भन्दै विरोध गरे । सांसद सापकोटा पनि विरोध गरे ।

‘राष्ट्रियताका लागि म त क्रान्ति गरेर आएको मान्छे । तर, अहिले हाम्रो राष्ट्रियता कता जाँदैछ ?’ यसो भन्दै गर्दा सांसद सापकोटाको गला अवरुद्ध भयो ।

एकछिन रोकिएर उनी पुनः बोल्न सुरु गरे । सरकारले करोडौं रकम दिएर भारतीय फिल्ड अवार्ड गर्ने तर, सबै व्यवस्थापन उनीहरुले गर्ने तयारी रहेको भन्दै उनले यसले नेपालको स्वाधीनता, स्वतन्त्रतामा आँच पुर्‍याउने धारणा राखे ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सापकोटाले आफू रोएको नभई स्तब्ध भएको बताए । ‘यो राष्ट्रियता र संस्कृतिमाथि अतिक्रमण हो’ उनले भने, देशभक्तिको कुराले मलाई धेरै छुन्छ । बैठकमा हृदयको बारुद्ध विस्फोट नै भयो ।’

अवार्ड समारोह आयोजना गर्न सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा पाँचवटा मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र होटल एसोसिएसन अफ नेपालका प्रतिनिधि राखेर उच्चस्तरीय समिति बनाएको छ । सहआयोजक बनेको काठमाडौं महानगरपालिकाले ४५ करोड दिने सहमति भएको छ भने अरु डिल टुंगिएको छैन ।

१७ असार २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको