युवालाई जापान तिर बेच्न सरकार किन मख्ख ? खोई स्वदेश फर्काउने योजना ?


पृथीछक बुढा मगर ।  नौ जवान परदेश पठाएर लास बुझ्ने देश हो नेपाल । विश्व श्रम बजारमा सस्तो श्रम मूल्य भएको देश हो नेपाल । तर आफुलाई लाहुरे भन्छौं । पहिले लाहोरमा भर्ना हुन जान्थे नेपाली । जसवाट बिदेशीने हामी सबै लाहुरे भयौं । खाडी जाऔं, युरोप जाऔं, जापान जाऔं वा कोरिया जहाँ जाऔं, हामी लाहुरे कहलिन्छौँ । मानौँ लाहुरे हाम्रो नयाँ जात हो, नयाँ थर हो ।

जापानमा कामदार पठाउन लागेकाले सरकार मख्खै परेको छ । यो कति निर्लज्ज छ । भन्छ, नेपाली श्रमिकको लागि गतिलो नयाँ गन्तब्य खुल्दै छ, यो एतिहासिक हुने छ ।

जापानमा पनि सरकार छ, नेपालमा पनि सरकार छ । दुबै देशमा सरकार छ । नेपालले श्रमिक बेच्छ, जापानले किन्छ । त्यसको ठिक उल्टो जापानले श्रमिक किन बेच्दैन ? अनि नेपालले श्रमिक किन किन्दैन ? जवाफ सजिलो छ । नेपाल गरिव छ र जापान धनी छ । नेपालमा देशका युवाहरु बेच्न नेता हुन्छन तर जापानमा बिदेशी श्रमिक युवाको परिसरम खरिद्न नेता हुन्छन ।

जापानले चिजको उत्पादन गर्छ र बिदेशमा बेच्छ । नेपालले श्रमिक उत्पादन गर्छ र बिदेशमा बेच्छ । बेच्न त दुबै देशले बेच्ने नै हो । जापानले आफ्नो उत्पादन बेच्छ । नेपालले आधुनिक दासको रुपमा आफ्नो नागरिक बेच्छ । बेच्ने कुरामा नेपाल र जापानमा भने समानता छ ।

नेपाल र जापानमा एउटा कुरा चाहिँ मिल्दैन । त्यो हो प्रोडक्ट भ्यालु । जापानीज उत्पादन बिश्वमा महँगो ब्राण्डमा गनिन्छ भने नेपाली श्रमिक विश्व श्रम बजारमा सबैभन्दा सस्तो ब्राण्डमा गनिन्छ । किन यस्तो फरक ? दोष कसको हो ? दोष राज्यको हो । सरकारको हो । प्रोडक्टको भ्यालु बढाउन माल उत्कृष्ट बनाउनैपर्छ । नेपालको उत्पादन बिश्वकै कमसल उत्पादन हो । माल हेरि मूल्य निर्धारण भएकाले विश्व श्रम बजारमा नेपाली उत्पादनको मूल्य सस्तो भएको हो ।

हामी लाहुरे आधुनिक दास हौं । आधुनिक दास बनाउनमा नेपाल सरकार आफै लागिपरेको छ । भन्छ, नेपाली श्रमिकको लागि नयाँ गन्तव्य खुलेको छ । सरकारले नयाँ गन्तव्य आफ्नै देश भित्रै खोजी गरेन । नेपाल कस्तुरीको बिनामा सुतेको देश हो । हामीले आफ्नै सुगन्ध ठम्याउन सकेनौं । मुगल कालमा हामी मुग्लानी कहलियौं । प्रथम र दोस्रो विश्व युद्धमा हामी लाहुरे कहलियौं । अब के नामले कहलिन्छौँ ? जुन नामले कहलिए पनि हामी मालिक द्वारा बेचिएका आधुनिक दास नै हौं ।

ठिकै छ, नेपालमा राजनैतिक अस्थिरता भयो । तीन दशक पन्चले खाए, दस बर्ष माओवादीले विध्वंस मच्चाए । जापान पनि त दोस्रो बिश्व युद्धमा थचक्कै परेको देश हो तर जुरुक्कै उठ्यो । पाठ सिक्यो र अहिले बिश्व अर्थतन्त्रमा आफ्नो नाम सबैभन्दा अगाडी लेख्न सफल भएको छ । हामीले कहिले पाठ सिक्छौँ ?

हामी चाहिँ सधैं राजनितीलाई दोष दिइरह्यौं । दोष राजनितिको होइन, दोष हामीहरुको हो भनेर कहिलै समीक्षा गरेनौं । कुनै देशको राजनितिको चरित्र कस्तो हुने भन्ने कुराको निक्र्योल त्यो देशमा कस्तो नेतृत्व छ भन्ने कुराले धेरै ठूलो फरक पार्छ ।

एउटा रुखको डालीमा बसेको चरीलाई डाली भाच्चिएला भन्ने किन्चित डर हुँदैन, किनभने उसलाई आफ्नो पखेटासङ्ग बिश्वास हुन्छ । जापानीज नेतृत्वले आफैलाई बिश्वास गरे । आफ्नै उत्पादनमा ध्यान दिए र आत्मनिर्भर पनि भए । हामीलाई चाहिँ आफै प्रति बिश्वास छैन । के जनता के नेता आफैले उत्पादन गर्नुपर्छ भनेर कहिलै सोचेनौं । बरु बेच्न र बेचिन तयार भयौं । मालिकको मुठ्ठिको माखी भइरह्यौं । छोडे बाच्छौँ, मिचे मर्छौँ ।

बोका मन्दिरमा काटिन्छ वा कुनै बधशालामा त्यसले के असर पर्छ ? मर्न त उ जसरी पनि मारिनु नै हो । त्यसैले हामीले जापान जाने भयौं भनेर मख्ख पर्नुको तुक छैन । जहाँ पनि हामी बिचिनु नै हो । बलै केही रुपैयाँ तलमाथि होला ।

जुनदिन आफ्नै देशको माटोमा श्रम बगाउने यो देशको नेता र सरकारले ब्यबस्था मिलाउने छ त्यही दिन यो देशमा पनि सक्कली सरकार रहेको महसुस हुनेछ । होइन भने जापानमा कामदार पठाउने भयो भनेर सरकार मख्ख नपरे हुन्छ । सरकार ! बेच्नलाई हामी खसी बोका होइनौं । दास भएर होइन, २१औं शताब्दीका नागरिक भएर बाच्न चाहन्छौं । मान्छे भएर बाच्न चाहन्छौं ।

ओली सरकारले युवाहरु स्वदेश फर्काउने उद्घोष उदाङ्गो हुँदै छ र उल्टै युवा बेच्ने जापानको मानव तस्करी ढोका खुल्ला गराउदै मख्ख भएको छ ।

११ पुष २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको