आगोले खायो ८७ घर, पिउने पानीदेखि कपडासमेत अभाव


पुस १०, कालिकोट । आगलागीले पलाँता गाउँपालिका–१ खाडागाउँस्थित न्यौपानेबस्तीका ८७ घर जलेर नष्ट भएका छन् ।

वडाका १६९ घरधुरीमध्ये ८७ वटा घर जलेर नष्ट भएकोे हो ।सोमबार बिहानका राति २ बजेबाट लागेको आगो नियन्त्रणमा आउन नसक्दा गाउँका ८७ वटा घर, गोठ र सम्पत्ति जलेर नष्ट भएका छन् ।

स्थानीयले ज्यान जोगाउन भागाभाग मात्र गर्नुपरेन, टोलका झन्डै ६ सय नागरिक लत्ताकपडाविहीन भएका छन् ।
समुन्द्री सतहदेखि करिब ३ हजार मिटर उचाइमा रहेको विकट बस्तीमा लागेको आगो तत्काल नियन्त्रणमा लिन नसक्दा स्थानीयका घर, चौपाया र धनमाल नष्ट भएका छन् ।

आगोका कारण धुवाँको मुस्लोले छोपिएको गाउँ आगो नियन्त्रणमा आएसँगै सोमबार बेलुकीबाट खुल्न थालेको छ ।
५४० जना खुला आकाशमुनि बस्न बाध्य छन् । घटनास्थलमा छिमेकी गाउँका बासिन्दा, सुरक्षाकर्मीलगायत परिचालित भए पनि अझै पीडितका लागि बास र कपडाको उचित प्रबन्ध हुन सकेको छैन ।

सदरमुकामबाट घटनास्थलसम्म पुग्ने मोटरबाटो नहुँदा उद्धारकर्मी ५ घण्टाको उकालो हिँडेर ढिलो गरी पुग्नुपरेको थियो । राति दुई बजेबाट आगलागी सुरु भए पनि घटनास्थलमा प्रहरी र सेनाको टोली हिँडेर बिहान उज्यालो भएपछि मात्र पुग्यो ।

आगलागीले गाउँमा रहेको एउटा मात्र खानेपानीको पाइप जलेपछि स्थानीयवासीसँग पिउने पानीसमेत छैन । सिंगो गाउँका लागि गाउँको बीचमा बनाइएको १४ हजार लिटरको ट्यांकीमा संकलन गरेको पानी बाडीचुँडी खाँदै आएका स्थानीयसँग अब तत्काल पानीको स्रोतसमेत छैन । राजधानी दैनिकमा खबर छापिएको छ ।

१० पुष २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको