नौ महिनामा देखिए नयाँ ‘मुनी’


पुरुषोत्तम लम्साल/पोष्टपाटी । विवादित कार्यक्रमको आमन्त्रण समितिको अध्यक्ष बनेका माधवकुमार नेपालको टुप्पी तान्न घनश्याम भुषाल, भीम रावलहरु अग्रसर होलान् ? यो पनि शंका छ । केपी ओलीलाई अल्झाउने यो जालो एकनाथ ढकालहरुको मात्र हो वा माधवकुमार नेपाल र कुम जोडेर हिंड्ने सभामुख कृष्णबहादुर महराहरु पनि यसमा मतियार छन् ? मदन भण्डारी बाँचेकै बेलामा पनि माधव नेपालको शंकास्पद भूमिकाबारे भराधाकृष्ण मैनालीले किटेरै लेखेका छन् भने अरुको के कुरा । बाँकि त स्वार्थको मनोविज्ञानको प्रकटीकरण मात्र हो ।

पहिला एउटा सत्य स्वीकार गरौं । यो सत्य मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारको ब्याज खाएरै नेकपा एमालेले हिजोको मितिसम्म राजनीतिक त्राण र प्राण जोगाएको हो । यासमा मदन भण्डारीले व्याख्या गरेको जनताको बहूदलीय जनवादको लेपले एमालेको वैचारिक राजनीतिक यात्रा थप सहज बनायो । जसरी विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक विचार र उचाईको ब्याजमा आजपर्यन्त नेपाली कांग्रेस राजनीतिक अखडामा छ, त्यसरी नै आजको सिंगो नेकपा मनमोहन अधिकारी नेतृत्वको सरकारको ब्याजमा गीर खेलिरहेको छ भन्दिए हुन्छ ।

अब दोस्रो सत्य । केपी ओली नेतृत्वमा बनेको दुईतिहाई बहूमतसहितको सरकारले नौ महिनामा आशाको मिसक्यारेज भएको शिशु जन्म दिंदैछ । नौ महिनामा आशाको भ्रूणले शिशुको दुरुस्त आकार लिएर सूर्यदर्शन गर्नपर्नेमा शिशु दिव्यांग भएर आएको छ । विकार बोकेर, अपशकुन बोकेर आएको छ । केही त्यस्ता विषय स्थायी समस्या उत्पन्न गराउने प्रकृतिका छन् जसको लाज छोप्न समृद्दीको लंगौटी अपुग बन्ने देखिंदैछ ।

हिजोको अनुभवले भन्छ, नौ महिनामा जनताको मुहारमा कान्ती रोप्न सकिने रहेछ । नौ महिनामा जनताको मनमा आशा सञ्चार गर्न सकिने रहेछ । नौ महिनामा सकारात्मक सोचको बीजारोपण पनि सम्भव रहेछ । नौ महिनामा नवरस घोलेर अमृतजल निकाल्ने बाटोको डोब खन्न पनि सम्भव रहेछ ।

अब आजको नौ महिना हेरौं । निराशा, आवेग, आक्रोश, असन्तुष्टी, वितृष्णाको पहाड देख्दा सरकारले तय गरेको उचाई लिलिपुटे छ । भकुण्डे छ । सरकार क्रियान्मुख हैन प्रतिक्रियान्मुख देखिन्छ ।

सरकार उर्जा र लगनमा आक्रामक होइन, आलोचना र प्रत्यालोचनामा रक्षात्मक देखिन्छ । क्रान्तिकारी सरकारको स्वरभन्दा प्रतिक्रान्तिकारी मुद्दा र स्वरको भारीले सरकार किचिंदो छ । आफ्नै उपलब्धीलाई आफैंले गौण बनाउँदै लैजाँदा शान्ति र समृद्धिका एजेण्डामा धमिराले घर गर्दै गएको छ । समाधानका फेहरिस्तभन्दा समस्याका तख्ता अग्ला हुँदै गएका छन् । सरकार विकास र सुशासनमा दौडला भन्दाभन्दै चिप्लिएर लड्ने थितिमा पुगेको छ ।

भोलीका दिनमा पनि कांग्रेस, नयाँशक्ति, सरकार सम्हालिरहेको पार्टीभित्रैको पनि प्रतिपक्ष यो विषयमा बोल्छ ? बोल्दैन । यो त स्वार्थको मनोविज्ञान प्रकटीकरण मात्र भएको हो, मौका मिलेको बेला ओलीको खुट्टा तान्दिउँ भनेका । धुँवा चलेको बेलामा रोटी सेक्न हौसिने आदत नै हो, अरु केही होइन

जसले जति नै तर्क गर्न खोजे पनि सरकार पार्टीले चलाएको छ भन्ने दावी झुठो ठहर्दैछ । लोकप्रियता वा जनमत स्वेच्छाचारको अनुमति पत्र बन्दै गएको गुनासोबाट पार्टी र सरकार दुबै थिचिनु अशुभ संकेत नै हो । यी गुनासाले सामाजिक न्याय र सामाजिक सुरक्षामाथि खेलेर घोषणा गरिएको सामाजिक सुरक्षा कार्यक्रमको जयजयकार गर्न किञ्चित उत्साह जगाउँदेन । गुटहरुको थिग्रिनीबाट दुईतिहाईको सरकार हिंडिरहेको छैन घिसिपिटी घिस्रिरहेको छ ।

सरकारको बचाउ विष्णु रिमालका एकाध ट्विट र मन्त्रीहरुका प्रवक्ता गोकुल बास्कोटाको अन्टसन्ट अभिव्यक्तिसहितको पत्रकार सम्मेलनमै सीमित छ । तपाईले गलत लख काट्नुभयो, म नेकपाभित्रका माधवकुमार नेपाल खेमाको वकालत गरिरहेको छु । वा, म योगेश भट्टराई, भीम रावल, घनश्याम भुषालहरुको पक्षपोषण गरिरहेको पनि होइन । पार्टीका केन्द्रिय सदस्यहरुले हूल बाँधेर पटकपटक प्रधानमन्त्री र पार्टी अध्यक्षको ध्यानाकर्षण गराउन रोइकराई गरिरहेको दृष्य मनकारी लाग्दा मात्र पक्षधरता देखिन्छ । बाँकि पछिल्लो नौ महिनामा सचेत मनमा पैदा भएको चासो र चिन्ता मात्र हो । सत्ताको पंख तान्न र लगाम हत्याउन आतुर भित्रिया समूहबारे अर्को बसाईमा चर्चा गरौंला ।


यो हप्ता विभिन्न कोणबाट धर्मको पाटो बहसमा आयो । धार्मिक साम्रज्यवाद औ साँस्कृतिक साम्राज्यवादबारे तात्कालिक नै सही, विषयवस्तु उठान भो । यो सन्दर्भ युनिफिकेसन नामको एक अमेरिकी चर्चअन्तर्गतको नेपाल शाखाले आयोजना गरेको तथाकथित ‘पिस समिट’सँगै आयो । आफूलाई देवताको दूत दावी गर्ने एउटा बहूराष्ट्रिय धार्मिक संस्था जसलाई दुनिया अवाञ्छित देख्दछ, को कार्यक्रममा सरकारकै धनुष्टंकार र निहुरीमुन्टी किमार्थ सुहाउँदो थिएन । सरकारअन्तर्गतको परराष्ट्र मन्त्रालयलाई एउटा सानो गैरसरकारी संस्थाले बदामको खोष्टाबराबर बनायो । कूटनीति र अन्तरदेशीय सम्बन्धबारे परराष्ट्रमन्त्रीको विद्धता त होला तर व्यवहार र दृष्टीकोणमा देखिएको गहिरो विरोधाभाष र दृष्टीदोष सहजै स्वीकार गर्न सकिने रहेन । नत्र त रामबहादुर बम्जनले आफूलाइृ दोस्रो बुद्ध दावी गर्ने कार्यक्रमलाई सरकारले नै सहजीकरण गरेर अन्तर्राष्ट्रियकरण गर्दा के फरक पर्छ ?

राष्ट्रपति वा प्रधानमन्त्रीले मन्दिरमा पूजाअर्चना गर्दा निरपेक्षताको ढोल पिट्ने बर्ग नै माथिको कार्यक्रममा सरकार र प्रधानमन्त्रीको उछितो काड्न उद्यत् देखिनु चाँहि अर्को मजाक रह्यो । कांग्रेसले हिजोका कर्म बिर्सेर धर्मको बीणा बजायो । पूर्वमाओवादी तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्राईले पनि समवेत स्वरमा भाका हाले । कमल थापाहरुको खोटा सिक्का जस्तै धून पनि सुनियो । तर त्यही संस्थाको मेजमानी यसअघि पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वराष्ट्राध्यक्ष गिरिजाप्रसाद कोइराला, पूर्वप्रधानमन्त्री शुसिल कोइराला र भट्राई, पूर्व उपप्रधानमन्त्रीद्वय कमल थापा र विजयकुमार गच्छदारहरुले पनि मानिसकेको तथ्य स्वीकार गर्न भने सबलाई सकस भयो । लाजको पसारो त सोही कार्यक्रममा आमन्त्रण समितिको अध्यक्षता गर्ने माधवकुमार नेपाललाई चाँहि दूधले नुहाएको देखाउने आलोचक पनि देखिए । सरकारले नेपालको पर्यटन, शान्ति र समृद्दीको आवरण दिएर चर्को स्वर त गर्यो तर झुठको पुलिन्दाका अगाडि सरकारी दावी टीठलाग्दो थियो । यसैले घनश्याम भुषालकै शब्दमा ‘नग्नताको राष्ट्रिय परेड’ को आक्षेपलाई सरकारवादीहरुले तार्किक खण्डन गर्न सकेनन् ।

नेपालमा धर्मको राडार सोझ्याउने अरु पनि दर्जनौं संस्था छन् । साना ठूला सयौं गैरसरकारी संस्था छन् । ती संस्थाको भूमिका र खर्चबर्च सरकारको निगरानीमा छैन । सरकारलाई कज्याउने सामथ्र्य भएका धर्मभीरु नै सरकारको अघोषित परामर्शदाता कहलिएका छन् । हिमाल, पहाड, तराई चारैतिर सल्बलाइरहेका धर्मपरिवर्तनका छद्यभेषी अधिकृत र कार्यक्रमको सूची पनि लामो हुनसक्छ । तर बीसवटा अरिंगाल घरमा हुलेर एउटा कमिलाको पछाडि खनिने सामाजिक मनोवृत्तिको उपचार पनि यथासक्य चाँडो खोज्नपर्ने हुन्छ ।

तपाईलाई लाग्छ भोलीका दिनमा पनि कांग्रेस, नयाँशक्तिलगायत सरकार सम्हालिरहेको पार्टीभित्रैको पनि प्रतिपक्ष यो विषयमा बोल्छ ? बोल्दैन । विवादित कार्यक्रमको आमन्त्रण समितिको अध्यक्ष बनेका माधवकुमार नेपालको टुप्पी तान्न घनश्याम भुषाल, भीम रावलहरु अग्रसर होलान् ? यो पनि शंका छ । केपी ओलीलाई अल्झाउने यो जालो एकनाथ ढकालहरुको मात्र हो वा माधवकुमार नेपाल र कुम जोडेर हिंड्ने सभामुख कृष्णबहादुर महराहरु पनि यसमा मतियार छन् । बाँकि त स्वार्थको मनोविज्ञानको प्रकटीकरण मात्र हो, मौका मिलेको बेला ओलीको खुट्टा तान्दिउँ भनेका मात्र हुन् । धुँवा चलेको बेलामा रोटी सेक्न हौसिने मान्छेको आदत नै हो । अरु केही होइन ।

धेरैले छुटाएको तथ्य के हो भने नेपालमा भएको कार्यक्रमको आयोजक संस्था र त्यसका संस्थापकलाई जर्मनीको संघीय मन्त्रालयले सन् १९९५ मै सुन म्युङ मुन र उनकी पत्नी जसले क्राइस्टकी छोरी दावी गरिरहेकी छिन्,लाई जर्मनी र पश्चिम यूरोपीय देशहरुले प्रवेशमा रोक लगाएका थिए । प्रतिबन्धको बिवरणमा भनिएको थियो … भलमबलनभचक तजभ उभचकयलब िबलम कयअष्ब िमभखभयिऊभलत यल थयगलन उभचकयलक। अर्थात् युवापुस्ता र उनीहरुको सामाजिक वातावरणमा खराब प्रभाव पार्ने ठहर गर्दै अदालतले मुन दम्पत्तिलाई भ्रमणमा प्रतिबन्ध लगाइएको थियो । यूनिफिकेसन चर्चकै पूर्व सदस्य स्टेभेन हसनले मुन र मुनका शिष्यहरु जातीवादी, लैंगिकपन्थी र, यहूदीविरोधीवादलाई प्रश्रय दिने आरोप लगाएका थिए । यो सन् १९९३ कै कुरा हो जुनबेला हसनले द ट्रूथ अबाउट सुन म्यूंग मुन लेखेका थिए ।

धर्मभीरुहरुले आफूलाई देवदूत दावी गर्नु अनौठो होइन । दावी त आशाराम बापुहरुले नै गरेकै हुन् । चामत्कारिक बाबा भन्दिने वितिक्कै तिनका पाउमा लम्पसार पर्ने नेपालका माक्र्सवादीहरुको चरित्र पनि नयाँ होइन । अझ अमेरिका भन्ने देशमार्फत नयाँ धार्मिक आन्दोलन चलाएका मुनको नाम नै नेताहरुलाई प्रिय लाग्नु सर्वथा उचित हो । अझ मुनको नूनसँग साटिएका अनुहार सग्ला भएपछि के लाग्छ । मात्र उनहिरुले धर्मको नाम र आवरणमा चलाइएको अभियानलाई नैतिकतासँग साटिदिएका मात्र हुन्, प्रोपोभित्र आनन्द लिएर । त्यो प्रोपोभित्र नेपालमा अभियानकै रुपमा नयाँ हजारौं मुनिज (मुनका शिष्य र समर्थक) जन्माउने कुत्सित मनशायलाई सरकारका हर्ताकर्ता र अधिकारीहरुले अन्देखा गर्नु चाँहि गम्भीर हो । अब सरकारपक्षीय अभियन्ताहरुले आफ्नो बचाउ गर्न खेतीको साहारा लिन्छन् भने केही छैन तर कमजोरी स्वीकार गर्ने कि ‘मूनिज’ बन्ने भन्ने प्रश्नको उत्तर सज्जनहरुबाट अपेक्षित छ ।

खैर, सरकारले जेट सम्हालेको नौ महिना भो । हामीले घोषित अघोषित नयाँ मुनीज (मुनका शिष्य) पाएका छौं । यसका लागि सम्माननीय प्रधानमन्त्री, उहाँकै दलका वरिष्ठतम नेता माधवकुमार नेपाल, संसद्का सभामुख र तत्तत् पदाधिकारीहरुलाई हार्दिक बधाई । पशुपतिनाथले बाँकि सबैको जोडी सलामत राखुन् ।

१९ मंसिर २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको