मगर माैलिक गायन/नृत्य प्रतियोगिताको महत्त्व- अनिल लामिछाने मगर


मगर संसार (Magar Sansar) Photo Gallery संचालक समितिले बिगत लामै समयदेखि मगर समुदायको कला, संस्कृति, रितिरिवाज र परम्परा जगेर्ना गर्न विभिन्न कार्यक्रहरु संचालन गरिरहेको छ ।आउँदै गरेको मगर समुदायको महान चाड माघे संक्रान्तिको अबशर पारेर समितिले “मगर मौलिक लोक गायन नृत्य प्रतियोगिता-२०७७” को तयारी गरिरहेको छ । यसै सन्दर्भमा मगर संसार (Magar Sansar) Photo Gallery संचालक समितिका अध्यक्ष तथा संस्थापक श्री अनिल लामिछाने मगरसंगको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।

सर्बप्रथमत: मगर संसार (Magar Sansar) Photo Gallery भनेको के हो ?
छोटकरीमा भन्नू पर्दा मगर संसार फोटो ग्यालरी मगर समुदायको एउटा साझा चौतारी हो । यसको एउटा फेसबुक ग्रुप र पेज छ । जसलाई संचालन गर्न एउटा समिती छ । त्यस समितिले अनलाइनको माध्यमबाट मगर समुदाय भित्रका विभिन्न पाटाहरुलाई अध्ययन गर्छ, कार्यक्रमहरु संचालन गर्छ । समुदाय भित्रकै सुखी, गरिवहरुलाई पनि गच्छेले भ्याएसम्म मद्दत गर्छ । जस्तै अब आउने पुस एक गते देखि मगर भाषाका तीन साखा मध्ये मगर खाम र मगर ढुटको भाषिक प्रशिक्षण शुरु गरिरहेका छौँ । त्यस्तै अहिले मगर समुदायको लोपन्मुख कला, संस्कृतिलाई संरक्षण तथा सम्बर्द्धन गरौँ भन्ने उद्देश्यले समितिका उपाध्यक्ष एम. बि. मगर र समितिकै सल्लाहकार ज्योति रजाली मगरको संयोकत्वमा “मगर मौलिक लोक गायन/ नृत्य प्रतियोगिता-२०७७” पनि संचालन गर्न गइराख्या छौँ ।

यस मगर संसारले केके काम गरिरहेको छ ?
मगर संसार फोटो ग्यालरीको एउटा संचालक समिती छ । त्यस समितिको मातहतमा एउटा मगर संसार राहत कोष छ, यसले मगर समुदाय भित्रका अति निम्न आर्थिक अबस्था भएका दुखी, गरिव, रोगी र असहायहरुलाई सकेको सहयोग गर्छ । अहिले भर्खरै मात्रै ३३ औं सहयोग श्रीङ्खला अन्तर्गतको सहयोग पनि हस्तान्तरण गरिसकेका छौँ । यसको अलावा मगर संसारले मगर समुदायको कला, संस्कृति र भेषभुषालाई संरक्षण र प्रबर्द्धन गर्नको लागि विभिन्न प्रतियोगिताहरु संचालन गरिरहेको छ । यसको ज्वलन्त उदाहरणको लागि अघि भनेजस्तै आगामी पुस एक गतेदेखि अनलाइन भाषिक प्रशिक्षण शुरु गर्नुका साथसाथै एकलाख सहत्तरी हजार राशीको मगर मौलिक लोक गायन तथा नृत्य प्रतियोगिता-२०७७ को तयारीमा छौँ ।

मगर मौलिक लोक गायन तथा नृत्य प्रतियोगितामा मगर बाहेक अरु समुदायहरुले भाग लिन पाउनु हुन्छ ?
यो केवल मगर समुदायहरुले मात्रै भाग लिन पाउने प्राबधान छ । अरु समुदायको लागि होइन । यो मगर समुदायको कला, संस्कृती, परम्परा र रितिरिवाजको संरक्षण र प्रबर्द्धनको उद्देश्य रहेकाले यस कार्यक्रममा मगर समुदायले मात्रै भाग लिन पाउनु हुन्छ ।

यस प्रतियोगितामा कसरी भाग लिन सकिन्छ ?
एकदमै महत्वपूर्ण प्रश्न सोध्नु भयो । संचालक समितिले केही नियमहरु सार्बजनिक गरिसकेको छ । प्रतियोगिताले भिडियो पौष १० गते शुक्रवार बिहानको ११ बजे देखी रातिको ११ बजे सम्म जम्मा १२ घण्टा भित्रमा पोष्ट गरिसक्ने पहिलो नियम छ । भिडियो पोष्ट गर्नुअघि प्रतियोगीहरुले भिडियो बनाउदा केही आधारभूत कुराहरुमा पनि ध्यान दिनुपर्छ । आयोजक समितिले पारित नियमनुसार प्रतियोगि समूहले हुर्रा, कौराहा, सोरठी, सालैजो, पैसारु र ठाडो भाकामा भिडियो बनाएको हुनुपर्नेछ । एउटा महत्त्वपूर्ण कुरा चाहिँ भिडियो बनाउँदा शुरुमा माघे संक्रान्तिलाई सम्बोधन गरेर शुभकामना दिएको हुनु पर्नेछ । अन्यथा मान्य हुने छैन ।

भिडियो बनाउँदा अडियो बजाएर पनि बनाउन सकिन्छ होला नि ?
होइन । बिल्कुलै होइन । भिडियो प्रत्यक्ष मुखले गाएको, मौलिक बाजाहरु प्रयोग गरी नाचेको हुनुपर्ने छ । कुनै अडियोबाट गीत बजाएर नाचेको भिडियोलाई मान्यता दिइने छैन तर माइक भने प्रयोग गर्न सकिनेछ ।

एकल प्रस्तुति दिइएको भिडियोले प्रतियोगितामा भाग लिन पाउँछ ?
एकल प्रस्तुति भएको भिडियोलाई प्रतियोगितामा समाबेश गरिने छैन । भिडियो समूहमा हुनुपर्नेछ । पुरूष/महिला सबै उमेर समूहले सहभागी जनाउन सक्नुहुनेछ । तर प्रतियोगी कलाकारहरु बहुमतको हिसावले मगर मौलिक पोषाकमा सजिएको हुनुपर्नेछ ।

भिडियो कति मिनेटको हुनुपर्छ ? कुनै न्युनतम वा अधिकतम मापदण्ड तोकिएको छ ?
भिडियो बनाउदा कम्तीमा पाँच मिनेट वा त्यो भन्दा माथिको भिडियो बनाउन पर्नेछ । पाँच मिनेट मुनिका भिडियोलाई पनि मान्यता दिइनेछैन भिडियो सम्पादन गर्न चाहिँ पाइनेछ । एउटै भिडियोलाई डबल पोष्ट गर्न पाइने छैन । भिडियो पोष्ट गर्दा आ-आफ्ना समुहको नाम र ठेगाना अनिवार्य उल्लेख गर्नुपर्नेछ ।

आयोजकले प्रतियोगिताको नतिजा कुन आधारमा निकाल्छ त ?
नतीजा भिडियो पोष्टमा प्राप्त लाइक, पचास प्रतिशत र निर्णयक टिमबाट पचास मुल्यांकन गरी प्राप्त भएको नतिजाको आधारमा विजेता घोषणा गरिनेछ ।सबै रियाक्टलाई समान अंक दिईनेछ । भिडियोको कमेन्ट बक्समा गरिने ट्याग, मेन्सन, कमेन्ट शेयर सबै खुल्ला गरिनेछ । भोटिङ समय १२ दिन छ । अर्थात पौष २२ गते बुधबार बेलूकी ठिक ५ बजेसम्म मात्र ।

कुनै प्रतियोगीले फेक लाइक वा अटो लाइक प्रयोग गर्नु भयो भने ?
अटो लाइक प्रयोग गर्न अनुमती छैन । यदि त्यस्तो भएको पाइएमा प्रतियोगीलाई निलम्बन गरिनेछ अटो लाइक गरेको नगरेको पत्ता लगाउने हामीसँग एउटा मेकानिज्म छ ।

नतिजा कसरी सार्बजनिक गर्नुहुन्छ ?
नतीजा मगर संसार ग्रुप भित्र भर्चुअल जूम अप्लिकेशन मार्फत फेसबुकमा प्रत्यक्ष लाइभ गरि पुस २५ गते शनिबार दिउँसो ठिक ३ बजे सार्वजनिक गरिनेछ । प्रमुख अतिथिको रुपमा माननीय श्री बर्षमान पुन मगर “अनन्त”, बिशेष अतिथिमा अन्तर्राष्ट्रिय मगर महासंघ/नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगर, अतिथिहरुमा नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिका अध्यक्ष कविराज मगर, नेपाल मगर संघ शाखा युएईका सल्लाहकार/निवर्तमान अध्यक्ष टंक थापामगर, समाजसेवी जुनु पुनमगर, मगर चलचित्रका नायक/गायक मनसुधन मगर, चर्चित मोडल/डान्सर रिमा काउचामगर ज्युहरुको भब्य उपस्थितिमा नतिजा घोषणा गरिनेछ ।

अनि यत्रो फण्डको ब्यबस्थापन कसरी गर्नुहुन्छ ? जब कि आउदै गरेको माघे संक्रान्तिको अबसर पारेर मगर मौलिक लोक गायन नृत्य प्रतियोगिताको आयोजनाको तयारीमा हुनुहुन्छ ?

माघे संक्रान्तिको कार्यक्रम मात्रै होइन । विभिन्न पीडितहरुलाई पनि आर्थिक सहयोग गर्ने गरेका छौँ । नेपालको बिडम्बना जताततै समस्यैसमस्या छ । एकैजनालाई धेरै दिएर पनि साध्य छैन । सबैलाई १० हजारको हिसावले सहयोग गर्दै आएका छौँ । हाम्रो यो कामलाई हेरेर “मगर संसार (Magar Sansar) फोटो ग्यालरी” ग्रुपमा आबद्ध हुनुहुने हाम्रा शुभचिन्तकहरु नै हाम्रो कोषको आर्थिक स्रोत हुनुहुन्छ । अहिले पनि मगर मौलिक लोक गायन नृत्य प्रतियोगिता संचालनको लागि पनि विभिन्न मनकारी शुभचिन्तकहरुको ठूलो हात छ । जस्तो कि प्रथम पुरस्कारको राशी ५० हजार छ, जसको प्रायोजक मगर संघ जिल्ला समिति रामेछापका उपाध्यक्ष प्रनिस आले मगर हुनुहुन्छ । त्यस्तै द्वितीय पुरस्कार ४० हजार मगर संसार समिति परिवारका पुर्व सल्लाहकार ️सिअरा राना मगर हुनुहुन्छ । तृतीय पुरस्कार ३० हजार समाजसेवी तथा सल्लाहकार मगर संसार समिति परिवारका ज्योति रजाली मगर हुनुहुन्छ । त्यस्तै सात समुहको लागि सान्त्वना पुरस्कार, एक समुहलाई भाग्यशाली चिठ्ठा र उत्कृष्ट पोशाकको लागि पुरस्कार मिलन सिङ्जाली थापामगर , वीर बहादुर सारुमगर, ऋषि राना मगर, जेनिसिस थापा मगर, मिस्ओ गबुर्जा मगर, थमन नाईसा मगर, रुक आले मगर / पुष्पा आले मगर, उमेश थापामगर, शुनिल मगर, बाघ्बीर पुन मगर सबैलाई सम्झिन चाहन्छौं ।

प्रतियोगितामा १८ मगरात क्षेत्रमा नाचिने गाइने सिंगारु, दिग्रे, झ्वोहला, लावैसिन्या, नानीला, यानीमाया, गरुवाहरु समेतिएन भनेर केहि गुनासोहरु पनि सुनिन्छ नि ?
आगामी दिनहरुमा १८ र १२ पन्थीका सबै मगर सांस्कृतिक पक्षहरुलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता लिएका छौं । यो मगर संसार फोटो ग्यालरी सिक्ने र सिकाउने प्लेटफर्म पनि हो । सबैको सुझाब, गुनासोहरुलाई उत्तिकै ध्यान दिनेछौं भन्ने बिश्वास दिलाउन चाहन्छौं ।

२९ मंसिर २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको