मदन भण्डारी राजमार्ग डीपीआर चरणमै विवाद


मङ्सिर १०, सुर्खेत । पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा विवाद उत्पन्न भएको छ। राजमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको क्रममा स्थानीयले अवरोध गरेपछि विवाद उत्पन्न भएको हो।

स्थानीयको अवरोधका कारण डीपीआरका लागि पुगेको अध्ययन टोलीले सडकको केही भागको काम छाडेको छ। मदन भण्डारी राजमार्गमा पर्ने सुर्खेतको पश्चिम खण्डमा विवाद सुरु भएको हो। डीपीआर निर्माणकै चरणमा विवाद सुरु भएपछि राजमार्ग विस्तारमा समस्या आउने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। मुख्यगरी यो राजमार्गको बड्डीचौर र बाबियाचौर खण्डमा स्थानीयले विरोध जनाएका छन्। स्थानीयको विरोधका कारण बराहताल गाउँपालिकाको बड्डीचौर, पञ्चपुरी नगरपालिकाको दुलालथाई र बराइँचेमा सडक सर्भेको काम नै रोकिएको हो।

यो राजमार्गअन्तर्गत सुर्खेतमा एक सय ३२ किलोमिटर सडक पर्दछ। राजमार्गको रूपमा विस्तार गर्नुअघि यसको डीपीआर बनाउने काम सुरु भएको हो। यही क्रममा सुर्खेतमा दुईवटा टोलीले अध्ययन थालेका छन्। एउटा टोलीले जिल्लाको पश्चिम क्षेत्रमा काम सुरु गरेको छ। यस्तै अर्को टोलीले धुलियाबिटबाट भेडाबारी सडकहुँदै पूर्वतर्फ अध्ययन गरिरहेको छ। अध्ययन टोलीले राजमार्गमा सडकको केन्द्रदेखि दायाँबायाँ २५÷२५ मिटर अधिग्रहण गर्ने गरी डीपीआरको काम गरिरहेको छ।

बड्डीचौरमा स्थानीयले राजमार्गका लागि दायाँबायाँ गरी ३० मिटर छाडे पनि त्योभन्दा बढी क्षेत्र छाड्न नसकिने अडान लिएका छन्। संघर्ष समिति नै गठन गरेर स्थानीयले बड्डीचौरमा डीपीआरको काम गर्न गएको टोलीलाई काम गर्न रोकेका हुन्। पञ्चपुरी नगरपालिकाको दुलालथाई र बराइँचेमा राजमार्ग विस्तार भएपछि झन्डै ७० परिवार घरबारविहीन बन्ने अवस्था छ। वडा नम्बर ४ का वडाध्यक्ष प्रेम शाहीले भने, ‘सडक बन्नु हुँदैन भन्ने हाम्रो धारणा होइन।’ सडक विस्तार हुँदा धेरैजना घरबारविहीन हुने अवस्था देखिएको उनको भनाइ छ। ‘स्थानीयले पुनर्वासका लागि सरकारबाट अपेक्षा गरेका छन्’, उनले भनिन्।

बराइँचे र दुलालथाईमा सडकले नै सबै जग्गा छाड्नुपर्ने अवस्था आएपछि विवाद सिर्जना भएको वडाध्यक्ष शाहीको भनाइ छ। डीपीआर निर्माणको जिम्मा सिल्ट सीआरसी जीओकम जेभी ललितपुरले लिएको छ। नेपालको पूर्वबाट सुरु भएर पश्चिम सिमानासम्म पुग्ने प्रस्तावित राजमार्ग निर्माणका लागि सुर्खेतमा डीपीआरको काम थालिएको हो। यही क्रममा राजमार्गअन्तर्गत सुर्खेत खण्डको डीपीआर निर्माणका लागि अध्ययन टोलीले स्थलगत काम थालेको छ।

सुर्खेतमा मदन भण्डारी राजमार्गअन्तर्गत मालारानीको काल्चेदेखि चौकुने गाउँपालिकाको बेनीघाटसम्मको सडक पर्दछ। त्यसमध्ये पहिलो चरणमा बड्डीचौरदेखि पश्चिम बेनिघाटसम्मको ९४ किलोमिटर सडकको डीपीआर बनाउने काम जारी छ। यही राजमार्गको पूर्वी क्षेत्रमा पर्ने धुलियाबिट–भेडाबारी खण्डको ३७ किलोमिटर सडकमा पनि डीपीआर पुनरावलोकनको काम भइरहेको हो।

अहिले ५० मिटर नै सडक कायम भए पनि पूरै भाग कालोपत्रे नहुने भएकाले डीपीआरको कामलाई सहज बनाइदिन सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले आग्रह गरे। उनले स्थानीय तहसँग समन्वय गरेर रोकिएको डीपीआरको काम सम्पन्न गरिने बताए। अवरोध सिर्जना भएका ठाउँबाहेक अन्य स्थानमा भने डीपीआरको काम जारी राखेको सर्भे इन्जिनियर भक्तहरी श्रेष्ठले जानकारी दिए। उनले पुस पहिलो हप्तासम्म डीपीआरको काम सक्ने बताए।

प्राविधिक सर्भे र सडक डिजाइनको काम सकिएपछि माटो परीक्षणको काम गरिने उनको भनाइ छ। राजमार्गको पश्चिम क्षेत्रको डीपीआर लगत्तै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सक्ने र चालु आर्थिक वर्ष नै टेण्डर आह्वान गर्ने तयारी भइरहेको छ। यो खबर अन्नपुर्ण पोष्टले छापेको छ ।

१० मंसिर २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको