शान्ता चौधरीको संसदमा गर्जन: बालुवाटार खाने कांग्रेस हो कि केपी नेतृत्वको सरकार ?


बैशाख २३, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले बालुवाटार खाने कांग्रेस हो कि केपी ओली भन्दै प्रश्न गरेकी छिन् ।

सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै चौधरीले अहिलेको सरकारले विवादित जग्गा रोकेको र छानबिन थालेर राम्रो शुरुवात गरेको भन्दै केपी ओली नेतृत्वको सरकारको प्रशंसा गरेकी हुन् ।

‘थुप्रै भू-माफियाहरू, विचौलियाहरूलाई सरकारी जग्गा निर्णय नै गरेर सुम्पियो, अहिले सबैभन्दा बढी चर्चाको विषय बनेको ललितानिवास परिसरको ११३ रोपनी जग्गा जुन २०४७ र ४९ सालको मन्त्री परिषदको निर्णयबाट सुवर्ण शमसेरको परिवारलाई सुम्पिने काम गर्‍यो,’ चौधरीले आक्रोश पोखिन्, ‘अनि त्यही जग्गा अहिलेको सरकारले छानबिन गर्ने, रोक्का र फिर्ता गराउने निर्णय गर्‍यो । अब भन्नुहोस बालुवाटार खाने नेपाली कांग्रेस कि केपी नेतृत्वको सरकार ? मेरो प्रश्न छ । यो विषय उठाउँदा अलिकति हेक्का भएन विगतका आफ्ना कमजोरीहरु ?’

चौधरीले संसदमा गरेको सम्बोधनको सम्पादित अंश –

सम्माननीय राष्ट्रपति ज्यूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।समग्रमा नीति तथा कार्यक्रम जनमुखी छ । लोककल्याणकारी राज्य व्यवस्थास्थापनाका लागि योगदान पुर्‍याउने गरी ल्याइएको छ। समृद्ध नेपाल,सुखी नेपाली राष्ट्रिय आकांक्षा हो । जुन आकांक्षा पूरा हुने संकेत देखिएको छ । तसर्थ म नेपाल सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

नीति तथा कार्यक्रममाथि बहस गर्दै गर्दा हिजो मैले धेरै माननीय ज्यूहरूको सुझाव सुनें ,भनाइहरु सुनें ।कतिपय तर्क अनि दलील सुन्दै गर्दाकठै मेरो देशकोप्रतिपक्ष मानसिकता भन्न मन लाग्यो र दया पनि लाग्यो । किनकी जनताको जीवन बदल्ने सपना देख्न पाउँदैनस् खबरदार ! भनेर औलाउठाउँछ मेरो देशको प्रतिपक्ष । यो देशमा बहुदल आएपछि सबैभन्दा धेरै सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेस हामीले देख्यौं सत्ता संञ्चालनका सीप,नेतृत्वकला र नेतृत्व क्षमता । जसले भ्रष्टाचारको जन्म दिने महान काम गर्‍यो,हुर्कायो मात्रै होईन संस्थागत नै गरिदियो,त्यसैबेला मौलायो दलाल पुँजीवाद ।

थुप्रै भू-माफियाहरू, विचौलियाहरूलाई सरकारी जग्गा निर्णय नै गरेर सुम्पियो,अहिले सबैभन्दा बढी चर्चाको विषय बनेको ललितानिवास परिसरको ११३ रोपनी जग्गा जुन २०४७ र ४९ सालको मन्त्रिपरिषदको निर्णयबाट सुवर्ण शमसेरको परिवारलाई सुम्पिने काम गर्‍यो अनि त्यही जग्गा अहिलेको सरकारले छानबिन गर्ने,रोक्का र फिर्ता गराउने निर्णय गर्‍यो । अब भन्नुहोस ! बालुवाटार खाने नेपाली कांग्रेस कि केपी नेतृत्वको सरकार ? मेरो प्रश्न छ । यो विषय उठाउँदा अलिकति हेक्का भएन विगतका आफ्ना कमजोरीहरु ?

आगामी आर्थिक वर्षभित्र अतिक्रमित सम्पूर्ण जग्गा फिर्ता गर्ने सरकारको प्रतिबद्धतालाई म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु,सम्मान व्यक्त गर्न चाहन्छु । जुन विषय नीति तथा कार्यक्रममा समेटिएको छ । विभिन्न डाइभर्सनका आयोजना अन्तर्गत माडी-दाङ डाइभर्सन आयोजना दुई वर्षभित्र निर्माण शुरू गरिने कार्यक्रमप्रति म दाङबासीको नाताले सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

धन्यवाद छ सरकार, मलाई सबैभन्दा बढी भूमिहीन, सुकुम्बासी, कमैया, कमलरी र हलिया भन्ने विषयले छुने गर्दछ । सरकारले आगामी चार वर्षभित्र मुक्त कमैया,मुक्त हलिया,सुकुम्बासी लगायत सबै भूमिहीन सीमान्तकृत परिवारको बसोबास व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । भेरी-बबई डाइभर्सन आयोजना,सिक्टा सिंचाई आयोजना कृषिको आधुनिकीकरण,यन्त्रीकरण, विशिष्टीकरण र व्यवसायीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिने कार्यक्रम जुन अगाडि सारिएको छ यसलेकृषि क्रान्ति हुने विश्वास जाग्न थाल्यो ।

हालै चाइना-नेपाल दुई देशका राष्ट्रपतिद्वारा यातायात तथा पारवहनको प्रोटोकल लगायतका विभिन्न समझदारीपत्रमा भएकोहस्ताक्षरले विकासमा कोशेढुंगा सावित हुने आशा पलाएको छ ।

सरकार युवाहरुलाई रोजगारी सृजना गर्ने कार्यक्रम ल्याउँछ,प्रतिपक्ष हावादारी देख्छ । हामीलाई थाहा छ रोदन केका निम्ति ?यो रोदन आगामी निर्वाचनको परिणाम पनि आफ्नो फेभरमा नहुने भयो भन्ने चिन्ताका लागि । प्रतिपक्षका साथीहरुको यो अभिष्ट पूरा गर्नका लागि जनाताको सपनामाथि खेलवाड गर्न सक्दैन सरकार,हुँदैन र पाइदैन पनि । कांग्रेसले परनिर्भर बनाएको देश अहिलेको सरकारले आत्मनिर्भर बनाओस्,विगतदेखि नै देश लुट्न आँखा चम्काउने र हात लम्काउने दलाल नोकरीशाहीहरूलाई पूर्ण रुपले निस्तेज गर सरकार ! समृद्धि सम्भव छ हाम्रै पालामा ।

देशको सर्वोच्च संस्थामाथि पटक-पटक धावा बोल्ने काम गरिएको छ । नेपाली सेनाको हेलिकप्टर चढेर कुनै कार्यक्रममा जाँदा सम्माननीय राष्ट्रपतिलाई यति अरब र उति अरबको हेलिकप्टर चढ्ने भनेर आरोपित गरिन्छ । राष्ट्रपति कार्यक्रम जाँदा केमा जाने ? पहिलो टेम्पो चढेर कार्यक्रम चढेर जानुभयो या गोरु गाडा ? मेरो प्रश्न छ । अन्तर्राष्ट्रिय अभ्यास र प्रोटोकलको पनि सवाल हो, राष्ट्रपतिले मेरो सरकार भन्नुभयो । आँखा चिम्लिएर विरोध गरियो र हुर्मत नै लिइयो । हामी पनि सगर्व भन्ने गर्छौ मेरो देश,मेरो पार्टी,मेरो भन्ने शब्दसँग उत्पात मच्चाउन कुनै जरुरी नै थिएन ।

अन्त्यमा ,म हार्दिकतापूर्वक सुझाव पनि प्रस्तुत गर्न चाहन्छु । नेपाल सरकारको नीति तथा कार्यक्रमसम्माननीय राष्ट्रपति ज्यूले प्रस्तुत गर्नुहुँदै गर्दा मेरो ध्यान आज पनि स्वतन्त्रताको सास फेर्न नपाएका कमलरीप्रति थियो । मेरो जीवनको परिचयसँग जोडिएको शब्द मात्रै होइन कमलरी,अँध्यारो पर्दाभित्रको शोषणको जाँतोमा पिसिएको जीवन हो ।

तसर्थ कमलरीका बारेमा नीति तथा कार्यक्रम केही बोलेको छैन,सम्बोधन होस् भन्न चाहन्छु । तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण गरी रविन्द्र अधिकारी विमानस्थल नामकरण गरियोस् म अनुरोध गर्न चाहन्छु । किनकी रविन्द्र अधिकारी त्यही ठाउँमा विमानस्थल निर्माण गर्ने अभिलाषा बोकेर सोही ठाउँमा जाँदै नै दुर्घटना परी मृत्यु समेत हुन पुग्यो जुन कुरा सर्वविदितै छ ।

२३ बैशाख २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको