डा. गोबिन्द केसीको स्वास्थ्य खस्किँदै :राजीनामा नआएसम्म सत्याग्रह नछोड्ने अडान


काठमाडौँ — काठमाडौं– नागरिक अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको छ । आमरण अनशनको चौथो दिन बिहीबार उनको मुटुको धड्कन अचानक बढेको छ ।

‘चिटचिट पसिना आउने र मांसपेशी खुम्चने समस्याले पनि सताउन थालेको छ,’ उनलाई सघाउन खटिएका नातेदार हिमालय कार्कीले भने, ‘अनशन नबस्दा पनि एक छाक मात्र खाने उहाँको बानी भएकाले शरीर त्यसै पनि गलेकै थियो, झन् चार/चार दिनदेखिको अनशन र अदालतमा दौडधुप अनि प्रहरी धरपकडले निकै गलाएको छ ।’

बिहीबार दिनभर केसी शिक्षण अस्पतालको अनशनस्थलमा आँखा चिम्लिएर मौन पल्टिरहे । सत्याग्रहबारे कुरा गर्न आएका धेरै शुभेच्छुक र सञ्चारकर्मी त्यसै फर्कन परेपछि केसीले साँझपख विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा नआएसम्म आफू पछि नहट्ने बताएका छन्। ‘हामीले पुस २४ को प्रेस विज्ञप्तिमार्फत गोपाल पराजुलीको राजीनामा माग गरेकामा अब न्यायालयभित्रकै न्यायिक प्रक्रियाले त्यो मागलाई पुष्टि गरेको छ,’ विज्ञप्तिमा उनले लेखेका छन्, ‘त्यसबाहेक हामीले यस सत्याग्रहका क्रममा राखेका मागमध्ये बाँकी बुँदाहरू अहिलेसम्म सम्बोधन भएका छैनन् । उक्त मागहरू पूरा नहोउन्जेल हाम्रो सत्याग्रह जारी रहने जानकारी गराउन चाहन्छौं ।’

उनको स्वास्थ्यको निगरानीमा खटिएका डा. सुमन आचार्यले केसीलाई साँझपख रिङटा लाग्ने समस्याले पनि गालेको बताए । ‘हामीले उहाँको रगत परीक्षणका लागि पठाएका छौं,’ उनले भने, ‘रिपोर्ट आएपछि उहाँको स्वास्थ्यस्थितिको पछिल्लो अवस्था थाहा हुनेछ ।’ अनशन बसिरहेका केसीको मुद्दाको अर्काे सुनुवाइ फागुन ८ गते हुने सर्वाेच्चको आदेश छ । माग पूरा नभए त्यतिबेलासम्मै पनि सत्याग्रहबाट पछि नहट्ने प्रस्ट सन्देश केसीले दिएका छन् ।

सर्वोच्चको इजलासले केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लगाएका ११ आरोपमध्ये २ वटामा मात्रै छानबिनको आदेश दिएको र बाँकी ९ वटामा अदालत मौन बसेकामा केसीका समर्थक असन्तुष्ट छन् । ‘एनसेलदेखि चूडामणि प्रकरणसम्मको फैसलाको निष्पक्ष छानबिन हुनुपर्छ,’ केसीका पक्षबाट वकालत गर्ने मध्येका एक अधिवक्ता लेखनाथ भट्टराईले भने, ‘अनि छानबिनको निष्कर्ष ननिक्लुन्जेल प्रधानन्यायाधीशको हैसियतबाट उहाँले काम गर्न‘ हुँदैन ताकि अनुसन्धान प्रभावित नहोस् ।’

पूर्वन्यायाधीशहरूले न्याय परिषद्बाट पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउने आदेशमा असन्तुष्टि प्रकट गरेका छन् । ‘न्याय परिषद् भनेको शैक्षिक अभिलेख राख्ने ठाउँ होइन, यो त सम्बन्धित शैक्षिक निकायबाट झिकाउनुपर्ने हो,’ एक पूर्वप्रधानन्यायाधीशले भने, ‘अर्काे कुरा पहिले जन्मस्थान र पछि काठमाडौं गरी पराजुलीले दुई ठाउँबाट नागरिकता लिएका छन् तर आदेशमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट मात्रै झिकाउने भनिएको छ, पहिलो लिएको ठाउँबाट नझिकाई सक्कल बमोजिमको नक्कल कसरी थाहा पाउने ?’
‘नागरिकताको प्रतिलिपि लिँदा पहिलो प्रति जस्तो हो, हुबहुत्यस्तै लिए मात्रै प्रतिलिपि भनिन्छ,’ उनले थपे, ‘त्यसमा नामथर वा जन्ममिति इत्यादि सच्याएको भए प्रतिलिपि लिएको होइन, नागरिकतै सच्याएको मानिन्छ ।’

न्याय सम्पादनबाट अलग रहन माग
काठमाडौं– प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अदालतको कामकारबाहीमा बाधा आउन नदिन न्याय सम्पादन प्रक्रियाबाट आफूलाई अलग राख्न आग्रह गरेको छ ।

डा. गोविन्द केसीले पराजुलीविरुद्ध लगाएका अभियोग सम्बन्धमा सर्वोच्चले पराजुलीका शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता तथा डा. शशी शर्माको मुद्दामा भएको फैसला इजलासमा झिकाउने आदेश गरेपछि पीपीएलएले यो आग्रह गरेको हो ।

‘स्वतन्त्र, पारदर्शी र निष्पक्ष रूपमा न्याय सम्पादन हुन र त्यसरी न्याय सम्पादन भएको अनुभूति सबैलाई गराउनसमेत’ विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानन्यायाधीशज्यू स्वयंले आफ्ना पदीय हैसियतले गर्नुपर्ने सर्वाेच्च अदालतका सम्पूर्ण कामकारबाही र पदीय जिम्मेवारीबाट अलग रहने गरी तत्काल आवश्यक निर्णय गर्न यो संगठन सम्माननीय प्रधानन्यायाधीशज्यूको गम्भीर ध्यानाकर्षण गराउँछ ।’ यस्तो गम्भीर विषयमा पनि नेपाल बार मौन रहेको भन्दै पीपीएलले खेदसमेत व्यक्त गरेको छ ।

कान्तिपुरडेली

प्रकाशित : पुस २८, २०७४

२८ पुष २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको