अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पनि कब्जा गरेको तालिवानकाे दाबी


साउन २९, काठमाडौँ । तालिवानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पनि कब्जा गरेको दाबी गरेको छ। तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ।

उक्त भिडियोमा ठूलो संख्यामा कैदीहरु मुक्त भएका देखिन्छन्। उनीहरुले तालिवानको पक्षमा नाराबाजी गरेको सुनिन्छ।

यसरी मुक्त हुनेहरुमा खतरनाक अपराधमा संलग्न भएका व्यक्तिहरु पनि सहभागी छन् जो तालिबानका सदस्य र उसका समर्थक हुन्। तालिबानका एक प्रवक्ताले कान्धारमा पूर्णरुपमा विजयी भएको दाबी गर्दै ठूलो जित भएको उल्लेख गरेका छन्।

अफगानिस्तानमा पछिल्लो केही दिनयता तालिबान विद्रोहीले रणनीतिक रुपमा महत्वपूर्ण रहेका प्रान्तीय शहरहरु कब्जा गरिरहेका छन्। तालिबानले अब राजधानी काबुल पनि कब्जा गर्न सक्ने अनुमान गर्न थालिएको छ।

सरकारले अफगानिस्तानका धेरै ठाउँमाथिको नियन्त्रण गुमाउदै गएको छ। विषेश गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकूले आफ्नो पकड बढाउदै लगेका हुन्।

अफगानिस्तानको सुरक्षामा द्रुतरुपमा देखिएको गिरावटको मुख्य कारण अमेरिकी सेनाको हतारमा भएको फिर्तीलाई मानिएकाे छ। तर अमेरिकी राष्ट्रपतिले भने सेना फिर्ता गरेकोमा पछुतो नभएको बताएका छन्।

यद्यपि राष्ट्रपति बाइडेनले अफगानिस्तानका लागि संघर्ष गर्नका लागि अफगान नेतालाई एक हुन आह्वान गरेका छन्।

२० वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ। तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरु शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ।

२९ श्रावण २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको