कतारमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना


चैत ४, काठमाडौँ । कतारमा रहेका नेपालीहरुलाई कोरोनाभाइरस (कोभिड-१९)बाट बच्न कतार सरकारले अपनाएका उपायहरु अपनाउन दूतावासले आग्रह गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै कतार सरकारले कोरोनाभाइरस सम्बन्धि अबलम्बन गरेका उपायहरु अपनाउन र जारी गरेका निर्देशनहरु पालना गर्न दूतावासले आग्रह गरेको हो ।

कतारस्थित नेपाली दुतावासले जारी गरेको सूचनामा भनिएको छ,”कोरोनाभाइरसको जोखिमलाई न्यूनीकरण गर्ने उदेश्यले कतार सरकारले अपनाएका सबै प्रकारका उपायहरुको अबलम्बन गर्नु/गराउनु,जारी गरेका निर्देशनहरुको पालना गर्नु/गराउनु हामिसबैको कर्तब्य हो । ” दूतावासले कोरोनाभाइरसबाट बच्न यस अघि जारी गरेका सुचनाहरूबारे स्मरण गराउंदै उच्च सतर्कता अपनाउन भनेको छ ।

त्यस्तै कतारबाट नेपाली नागरिकहरुलाई विनाकारण डिपोर्टेसन गरिएको भन्ने समाचारको सन्दर्भमा पनि आफ्नो ध्यानाकर्षण भएको जनाउंदै कतार सरकारका सम्बन्धित निकायसँग जानकारी लिनेकाम भइरहेको बताएको छ ।

कतार सरकारले तोकेका निषेधित क्षेत्रमा नजान वा भेला नहुन समेत दूतावासले आग्रह गरेको छ । ‘कतार सरकारले सम्बन्धित निकायबाट जारीहुने सबै प्रकारका निर्देशनहरुको अक्षरश पालना गर्नु’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ,’श्रमिकहरुको आवासीय क्षेत्रको आसपास सप्ताहन्त लगायत अन्य समयमा अबैधरुपमा पसल राखी सामानहरुको बेचबिखन गर्ने पाइएको र सो कुरा कतार सरकारले बन्देज गरेको हुँदा कम्पनीको आधिकारिक व्यक्तिसँग तोकिएको संख्या (२ जना )मा आधिकारिक स्थानबाट मात्र किनमेल गर्नु ।

हेर्नुस सूचना 

 

यो पनि पढ्नुस

कतारले २० नेपाली कामदारलाई कारवाही स्वरूप नेपाल पठायो

कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन् । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनमा राखेको छ । कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइँदैन । त्यसबारे दूतावासले पनि सूचना जारी गरेको छ । तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वेदश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए ।

कतारको सुरक्षा निकायले २७ जनालाई पक्राउ गरेको थियो । परीक्षण गर्दा ज्वरो देखिएका ७ जनालाई भने आइसोलेसनमा राखिएको छ । यूएई, साउदी अरेबिया, ओमान, बहराइन र कुवेतले पनि घरबाट बाहिर ननिस्कन स्वदेशी एवम् विदेशी सबैलाई आग्रह गरिसकेका छन् ।

नेपाल सरकारले यसबारे सूचना प्रवाह गर्न दूतावासलाई पत्राचार गरेको थियो । सबैजसो खाडी मुलुकमा कार्यरत कामदारलाई जोखिम क्षेत्रमा नजान भन्दै क्वारेन्टाइनमा राखिएको छ ।

कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्रभित्रै क्वारेन्टाइन बनाएर राखिएको परराष्ट्र अधिकारीले बताएका छन् । उनीहरू क्वारेन्टाइनबाटै काममा आउने–जाने गर्छन् ।

खाडीका सबै मुलुकमा सुरक्षा व्यवस्था कडा गरिएको छ । विदेशी आउजाउमा रोक लगाइएको छ ।

साउदी अरेबियाले मुस्लिमको पवित्र स्थल मक्का मदिना जानेलाई रोक लगाइएको छ । नेपाली रहेका मुलुकमा कोही न कोही व्यक्तिमा कोरोनाको शंका भएपछि निकट रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।

नेपाली कामदारलाई आफू बसेको देशको कानुनी व्यवस्थाबारे सेचत हुन जानकारी गराउन परराष्ट्रले खाडीलगायत सबै मुलुकमा रहेका नियोगलाई पत्राचार गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए ।

४ चैत्र २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको