पोष्टपाटी/न्युयोर्कमा
न्युयोर्कमा गत अाईतबार सम्पन्न नेपाल आदिवासी चलचित्र महोत्सव-२०१७ मा अनिल बुढा मगरले निर्देशन गरेको मगर भाषाको चलचित्र लोम्बा उत्कृष्ट घोषित भयो ।
नेपाल आदिवासी जनजाती महासँघ, अमेरिकाले आयोजना गरेको महोत्सवमा उत्कष्ट भएको चलचित्र लोम्बालाई रु.एक लाख नगद पुरस्कार पनि प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट निर्देशकको अवार्ड लोम्बाबाटै अनिलले नै पाए भने उत्कृष्ट भेषभुषाको अवार्ड पनि लोम्बाकै नाममा रह्यो ।
त्यसै तामाङ भाषाको सेम तबा म्हिले पनि तीन वटा अवार्ड जित्यो । यस चलचित्रबाट राज कुमार मोक्तानले उत्कृष्ट पार्श्व सँगीतको अवार्ड प्राप्त गरे भने बिक्रम लामा उत्कृष्ट सिनेमाटोग्राफी बन्न सफल भए । त्यस्तै दर्शकको छनोटमा पनि यहि चलचित्र पर्न गयो ।
उत्कृष्ट नायिका गुरुङ चलचित्र मैरिमोबाट सपना गुरुङ भइन् भने चलचित्र शेरढाकबाट छेवाङ रिन्जिन् गुरुङ उत्कृष्ट नायकको अवार्ड पाउन सफल भए । उत्कृष्ट सम्पादनमा कृषा गौतमी चलचित्रका बालकृष्ण ठहरिए भने सुम्निका चलचित्रका कथाकार प्रविन पुमा उत्कृष्ट कथाकार बने ।
उत्कृष्ट लघु चलचित्रमा १७ मिनेटको पुवालो छानियो । चलचित्र निर्देशक सुरज सुब्बा ‘नाल्बो’, सञ्चारकर्मी शैलेस श्रेष्ठ र कलाकार अमृत लामा जुरीमा रहेका थिए । तीन दिनसम्म उडसाईड स्थित गुल्सन टेरेसमा तीन लघु चलचित्र सहित ११ चलचित्रहरु प्रदर्शन गरिएका थिए ।
केहि वर्ष अघि स्थानिय संस्था सिनेमिङगासँगको सहकार्यमा फिप्नाले चलचित्रहरु प्रदर्शन गर्दै आएको थियो । त्यसैलाई परिष्कृत गरेर महोत्सवको रुपमा लगिएको अध्यक्ष लुईसाई वाईबाले बताए ।
प्रतिक्रिया दिनुहोस