जेठ २५, काठमाडौं । अमेरिकाले एकैपटकमा अहिलेसम्मकै धेरै नेपालीलाई डिपोर्ट गरेको छ।
त्यसरी डिपोर्ट गरिएकाहरुलाई आइतबार अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएर छाड्दैछ।
त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले डिपोर्ट गरिएका नेपाली लिएर दिउँसो अमेरिकी चार्टर्ड विमान काठमाडौं आउँदैछ।
दिउँसो ४:४५ बजे डिपोर्ट गरिएका नेपालीहरू बोकेको विमान त्रिभुवन विमानस्थल अवतरण गर्ने जानकारी प्राप्त भएको उनले बताए।
विमानमा डिपोर्ट गरिएका कति नेपाली छन् भन्ने यकिन जानकारी भने प्राप्त नभएको उनले बताए।
‘ठूलो संख्यामा छ भनिएको छ। तर यकिन कति छन् भन्ने जानकारी छैन,’ उनले भने।
डिपोर्ट गरिएकोबारे दूतावासमार्फत एक साताअगाडि नै जानकारी आएको न्यौपानेले बताए।
त्यसरी डिपोर्ट गरिएकाहरुलाई अध्यागमनले नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउँछ।
ब्युरोले उनीहरू कसरी अमेरिका पुगे, दलालबाट ठगिएका पीडितहरु पनि हुनसक्नेबारे सोधपुछ र परामर्श गर्छ।
ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले ४८ जना नेपालीहरू डिपोर्ट भएर फर्किन लागेको जानकारी प्राप्त भएको बताए।
प्रतिक्रिया दिनुहोस