जेठ २६, काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपालीहरु हातमा बोरा र प्लास्टिकका झोला बोकेर काठमाडौं आइपुगेका छन् ।
अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले ती नेपालीलाई गयराति काठमाडौं ल्याएर छोडेको हो । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो ।
अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेकामा ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन् ।
डिपोर्ट भएकाहरूमध्ये केहीले आफ्नो सामान बोरामा हालेर ल्याएका थिए । केही प्लास्टिकका झोलामा आफ्नो सामान लिएर विमानस्थलबाट बाहिरिएका थिए।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ । अमेरिकाले कतिपय देशका नागरिकहरुलाई हतकडी र नेल लगाएर फर्काएका समाचारहरु सार्वजनिक हुने गरेका छन् ।
ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।
अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।
डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको स्रोतले जनायो ।
प्रतिक्रिया दिनुहोस