बैशाख १९, बुटवल । लण्डनको थेम्स नदी किनारमा गत मंगलबार भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ । लण्डन मेट्रोपोलिटन (महानगरीय) प्रहरीले थेम्स नदी किनारमा ती विद्यार्थीको शव भेटेको थियो । तर, शवको पहिचान हुन सकेको थिएन् ।
नेपालबाट फिङ्गर प्रिन्ट (औंठा छाप रेकर्ड) झिकाए पछि प्रहरीले उक्त शव नेपाली विद्यार्थी सुशान ओलीको भएको पुष्टि गरेको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
बेलायतको कोभेन्ट्री विश्वविद्यालयमा बिजनेश म्यानेजमेन्ट एन्ड लिडरसीप कोर्समा ब्याचलर्स दोस्रो वर्ष पढ्ने तयारी गरिरहेका रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय ओली अप्रिल २१ तारिख (बैशाख ८) देखि सर्म्पकविहीन थिए । दूतावासमा भने यसको जानकारी २३ तारिखमा पुगेको थियो । प्रहरीले अनुसन्धानको क्रममा लण्डनको वाटरलूनजिकै थेम्स नदीमाथिको पुल छेउ ओली शव र उनको मोबाइल, पर्स, कोठाको चाबी, पासपोर्टलगायत फेला पारेको थियो । त्यसपछि प्रहरी अनुसन्धानको क्रममा उनी बस्ने डेगेनहृयाम हीथवे नजिक घर पुगेको थियो । त्यसपछि प्रहरीले कोभेन्ट्री विश्वविद्यालय पढ्ने नेपाली विधार्थीसँग सम्पर्क गरेर थप अनुसन्धान अघि बढाएको थियो ।
कोभेन्ट्री विश्वविद्यालयमै अध्ययनरत यूके नेपाली स्वतन्त्र विद्यार्थी समाजका सभापति विप्लव खड्काले लण्डन मेट्रोपोलिटन प्रहरीले अनुसन्धानको क्रममा ओलीको शव पहिचान गरिसकेको बताए । ‘हामीले दिएको सूचनाको आधारमा प्रहरीले केही दिनअघि एउटा शव फेला पार्यो । पहिचान भने हुन सकेको थिएन । नेपालबाट मगाइएको फिङ्गर प्रिन्ट म्याच भएपछि पहिचान खुलेको छ’ उनले भने । प्रहरीले मंगलबार फेला पारेको शवलाई लण्डनस्थित एउटा मुर्दाघरमा राखेको छ । उनका अनुसार प्रहरीले सनाखत प्रक्रिया पूरा गरिसकेको जनाएको छ । विद्यार्थी हराएदेखि निरन्तर लण्डनस्थित नेपाली दूतावास र नेपालमा रहेका उनका परिवारका सदस्यहरुसँग सम्पर्क सहकार्य भइरहेको उनले बताए ।
दूतावासका प्रवक्ता एवम् उपनियोग प्रमुख विपिन दुवाडीका अनुसार हालसम्मको अनुसन्धान र घटनाक्रमबारे परिवारलाई खबर भइसकेको र प्रहरीले पोष्टमार्टम प्रक्रिया अघि बढाएको उनले बताए । ‘पोष्टमार्टम सकिएपछि विस्तृत विवरण आउलान् नै । उनका मोवाइल, कागजपत्रहरु, पर्स एकै ठाउँमा भेटिएको, सीसीटीभी फुटेज, कल डिटेल हेर्दा मृत्यु शंकास्पद छैन भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी छ,’ उनले भने । उनका अनुसार पोष्टमार्टम सकिएपछि शवलाई नेपाल लाने वा बेलायतमै अन्तिम संस्कार गर्ने भन्ने विषयमा परिवारले नै निर्णय गर्नेछ । अनुसन्धान प्रक्रिया पूरा गर्दा केही समय लाग्न सक्ने उनले जनाए ।
प्रतिक्रिया दिनुहोस