गिरफ्तारी बिरुद्द अखिल (क्रान्तिकारी) द्वारा अनिश्चितकालिन रुकुम बन्दको घाेषणा


माघ १९, रुकुम । अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले आफ्ना बिद्यार्थी नेताहरुको गिरफ्तारीको बिरोधमा संघर्षका कार्यक्रमहरु सार्बजनिक गरेको छ । अखिल क्रान्तिकारी संगठनका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा र कोषाध्यक्ष धन बहादुर ओली लगायत सर्वसाधारणहरु किरण रसाइली, अभिषेक बुढा र सागर बुढालाई प्रहरीले गिरफ्तार गरेको विरोधमा संघर्षका कार्यक्रम घाेषणा गरेको हो ।

अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका जिल्ला उपाध्यक्ष सोमपाल कामीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यनकै क्रममा मुसिकाेट रावलबारा स्थित कोठाबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरि झुट्टा मुद्दा लगाएको भन्दै ५ दिने संघर्षका कार्यक्रम घाेषणा गरेका हुन् ।

संघर्षका कार्यक्रमहरु  २० गते देखि लागु हुनेभएको छ । २० गते विरोध जुलुस, २१ गते विरोध सभा, २२ गते अन्तरक्रिया, २३ गते शैक्षिक हड्ताल, २४ गते मशाल जुलुस, २५ गते देखि अनिश्चितकालीन रुकुम बन्द गर्ने बिज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्तिकाे पूर्ण पाठ:-

गर्विलाे इतिहास बोकेको नेपाली विद्यार्थी आन्दोलनको नेता संगठन, आम विद्यार्थीको प्रीय संगठन, हाम्रो संगठन अनेरास्ववियु (क्रान्तिकारी) का रुकुम पश्चिम अध्यक्ष प्रेम प्रशान्त बोहरा र कोषाध्यक्ष धन बहादुर ओली लगायत सर्वसाधारणहरु किरण रसाइली, अभिषेक बुढा र सागर बुढालाई सामाजिक दलाल फासिबादी श्री ७ खड्गे ओली र रामे हवल्दार नेतृत्वको गृह प्रशासनका भाडा टट्टुद्वारा हिजो माघ १८ गते अध्ययन अध्यापनकै क्रममा रावलबारा स्थित कोठाबाट अपहरण शैलीमा गिरफ्तार गरि झुटा मुद्दा लगाएको छ । निर्दलिय पंचायती व्यवस्था र जनपिराह ज्ञाने शाहीको आततायी संकटकाललाई समेत बिर्साउने गरि उखाने सरकारले विद्यार्थी-सर्वसाधारण जनता माथी गरेको दमन, धरपकड र गिरफ्तारीको हामी घोर विरोध तथा भत्सर्ना गर्दछौँ । विद्यार्थीका हक, हित र अधिकारका निम्ति दिलोज्यान समर्पित नेताहरुलाई झुटा मुद्दा लगाइ फसाउने सिआइडि सुराकीहरु र तानाशाही खड्गेका चाटुकार हरुलाई चर्कै पर्ने पनि अवगत गराउदछौँ । हामी विद्यार्थी हौँ । हामी किताब बोक्न चाहान्छौँ । कलम बोक्न चाहान्छौँ । स्कुल कलेज जान चाहान्छौँ । हामी बिनम्रतापुर्वक अनुरोध गर्न चाहान्छौँ हामीलाई फर्जी बमका मुद्दा बोकाएर बम-बारुद बोक्न बाध्य नपारियोस । हामीले साच्चिकै बम बोकियौ भने भष्मासुर शासकहरु तिमीहरुको के हालत होला ? हेक्का होस । विद्यार्थी जागे भने, विद्यार्थी जुरमुराए भने एकीकृत जनक्रान्तिमा लामावद्द भए भने, दिल बहादुर रम्तेल हुदै प्रज्वल शाहीले उठाएको रक्तरन्जित झण्डा उठाएर तिम्रो लुट स्वर्गमा मशाल झोसे भने, त्यो भर्भराउदो अग्निकुण्डमा न तिम्रा राजा-रानी वाला शितलनिवास हुनेछ, न बालुवाटार, न बालकोट, न चरी ढुकुरे चखेवा जोडी । ती सब स्वाह हुने निश्चित छ ।

सबै कोण प्रतिकोणबाट सडेगलेको, किरा धमिराले मक्किएर अस्तित्व नामेटको संघारमा रहेको दलाल संसदीय व्यवस्था र खड्गे ओलीको सत्ताले जती दमन, धरपकड र गिरफ्तारी थोपरेर बन्दुकको नाल तेर्साए पनि नेपाली विद्यार्थी आन्दोलन न हिजो झुकेको थियो न आज झुक्नेवाला नै छ । बरु खड्के र रामे हवल्दारको बन्दुकको नाललाई कमलको निपले परास्त गरेरै छोड्ने छ र रुकुमेली विद्यार्थी आन्दोलनका प्रीय नेताहरुलाई आन्दोलनको बलद्वारा रामे हवल्दारको गृहप्रशासनबाट मुक्त गर्ने शंखनाद गर्दै संघर्षका कार्यक्रम घोषणा गर्दछौँ ।

संघर्षका कार्यक्रम

> २० गते बिरोध जूलूस
> २१ गते बिरोध सभा
> २२ गते अन्तरक्रिया
> २३ गते शैक्षिक हड्ताल
> २४ गते मशाल जुलुस
> २५ गते देखि अनिश्चितकालीन रुकुम बन्द ।

१९ माघ २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको