पूर्वलडाकूको पत्र: प्रधानमन्त्री ज्यु मित्रले कालापानी निल्यो, आदेश दिनुस लड्न तयार छौ !


सम्मानीय प्रधानमन्त्रीज्यु,
हार्दिक नमस्कार !

सर्वप्रथम हजुरको सु–स्वास्थ्यको कामना गर्दै यो खुलापत्र प्रस्तुत गर्न चाहन्छु ।

विषय भर्खरै भारतले जारी गरेको नक्सा हो । उक्त नक्सामा कालापानी र लिपुलेक भारतमा राखेको खबरले अत्यन्त दुःखित बनाएको मात्र बनाएको छैन, हामीलाई झन बढी आक्रोशित बनाएको छ । अब हामीले कसरी समस्या समाधान गर्छौ ? हामीले इतिहासबाट के सिकेका छौ ? वर्तमानमा के गर्न सक्छौं ? राष्ट्र बचाउनको लागि अब के गर्न सक्छौं ? हामीलाई हाम्रो देशप्रतिको माया कत्तिको छ ? हामीले दिनदिनै व्यक्त गर्ने राष्ट्रवादले अब कालापानी र लिपुलेक जोगाउन सक्छौं कि सक्दैनौं ? यस्तै अनगिन्ती प्रश्न, जिज्ञासा, चासो र चिन्तासहित सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो पत्र कोरिहेको छु ।

प्रधानमन्त्रीज्यू, भारतीय हस्तक्षेपविरुद्ध हिजो नाकाबन्दीको बेला तपाईं नै प्रधानमन्त्री रहँदा जसरी भारतसँग नझुकेर हिमालझैँ अडिग रहनुभएको थियो, आज पनि तपाईं नै प्रधानमन्त्री रहँदै गर्दा कालापानी र लिपुलेकमा भएको भारतीय हस्तक्षेपविरुद्ध अझै कठोर भएर हाम्रो एक इन्च पनि भूमि गुम्न नदिन तपाईंको साहसिक कदम हामीले खोजिरहेका छौं । हामी दुईचार महिना भोकै बस्न सक्छौं तर हाम्रो भूमि गुमाएर आनन्दले कदापि बस्ने छैनौं प्रधानमन्त्रीज्यू । सधैं नेपाललाई कमजोर बनाइरहने हाम्रो छिमेकी भारतको हस्तक्षेप अब सहिरहन सकिँदैन हाम्रा पुर्खाले बलिदानी दिएर जोगाएको भूमि । सकिन्छ वार्ता र कुटनीतिक पहल गर्नुस् । वार्ता र कुटनीतिक पहलले हुँदैन भने प्रतिवादको निम्ति गोर्खाली फौजको ताकत देखाउनु होस् । नेपाली जनताको बहादुरी देखाउने आँट गर्नुस् प्रधानमन्त्रीज्यू । भारतीय गोर्खा भर्ती केन्द्र तत्काल बन्द गर्नुहोस् । त्यहाँ भएका गोर्खा फौजलाई तत्काल सम्मानजनक रूपमा नेपाल फर्काउने वातावरण मिलाउनु होस् ।

प्रधानमन्त्रीज्यू, सम्झौता र मित्रताको नाममा अब नेपाल झुक्नु हुँदैन । १९५० देखि हालसम्म भएका असमान सुगौली सन्धि र सम्झौताहरु खारेज गर्ने बेला आएको छ । नेपाल दुई देशबीचको तरुल होइन जहाँ जसले चाहे पकाउन सक्ने । नेपाल दुई देशको बीच रहेको अटल र विशाल मन भएको सुन्दर फूलबारी हो । हामीले हाम्रो छिमेकीलाई सधैं सुगन्ध दिन्छौं तर हाम्रो छिमेकीले हामीलाई जहिल्यै दुर्गन्धित व्यवहार दिने गरेको छ ।

प्रधानमन्त्रीज्यू, भारतको हस्तक्षेपले अब १९५० को असमान सन्धि सम्झौतादेखि अहिलेसम्मका सबै सन्धि सम्झौतामा बहस गर्ने अवसर प्राप्त भएको छ अब नेपालले सम्पूर्ण असमान सन्धि सम्झौता खारेज गर्न सक्नुपर्छ प्रधानमन्त्रीज्यू । कहिलेको अघोषित नाकाबन्दी, कहिले सिमानामा दादागिरी हुँदै अहिले नक्सा नै परिवर्तन गर्ने भारतीय दुष्कर्मले सिंगो नेपाल आक्रान्त बनेको छ प्रधानमन्त्रीज्यू ।

सिमानामा विवाद गरेर भारतले नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि हस्तक्षेप गर्दै नेपाललाई कमजोर बनाउँदै हस्तक्षेप गरिरहने भारतीय शासकहरुको दाउँपेच सामान्य खालको कदापि छैन प्रधानमन्त्रीज्यू । यस्तो जटिल अवस्थामा नेपाली जनता, राजनीतिक पार्टीहरु टुलुटुलु हेरेर बस्न सक्छन् र प्रधानमन्त्रीज्यू ?

नेपाल सरकार, राजनीतिक पार्टीहरु, बौद्धिक जगत, विश्लेशक विज्ञहरु कतिको ताकतदार छन् भन्ने अग्निपरीक्षा आएको छ । पुर्खाको इतिहास बचाउने र नयाँ युगको इतिहास रच्ने अवसरको ढोका खुलेको छ ।

सिमाना जस्तो सम्वेदनशील हाम्रो भूगोल मिचाईप्रति भारतले गरेको दादागिरीबाट नेपाली जनतामा आक्रोश पैदा भएको छ । प्रधानमन्त्रीज्यू भारत भनेको त देश मात्र ठूलो हो । मन त उसको सानो देशलाई कमजोर बनाइरहने विस्तारवादी नीति नै हो । मन ठूलो भएको त हाम्रो नेपाल र हामी नेपाली हो । उसको जम्मु काश्मिर र भारतको रक्षा गर्न गोर्खा रेजिमेन्ट पठाइदिएका छौं । गोर्खा भर्ती केन्द्र खोलिदिएका छौ । हजारौं नेपालीले गोर्खा रेजिमेन्टबाट गरेको बलिदानको उपहार हाम्रो छिमेकीले कसरी दिएका छन् ! हामीले कसरी लिएका छौ भन्ने गहिरो समीक्षा गरौं प्रधानमन्त्रीज्यू ? पाकिस्तानसँग लड्न भारतलाई नेपाली चाहिने भए । हाम्रो कालापानी र लिपुलेक जोगाउन पनि हामी नेपाली सक्षम छौ भनेर देखाउने बेला आएको छ । बरु दुईचार महिना भोकै बसेर भएपनि हाम्रो सिमानामा काँडेतार र पर्खाल लगाउने घोषणा गर्नुस् प्रधानमन्त्रीज्यू ।

हाम्रो सबै सीमाहरु मिच्दै जाने र हामी चुपचाप सहिरहने हो भने कुनै दिन नेपाल नै गुमाउने अवस्था आउन सक्छ । त्यसैले प्रधानमन्त्रीज्यू, अब हामी कमजोर छौ भनेर सहिरहने होइन । बहादुर छौ भनेर उठ्ने बेला आएको छ । मिसाइल र तोपहरु छैन भनेर डराउने होइन । तोप र मिसाइल नस्ट बनाउने खुकुरीको धार भारतलाई राम्रोसँग थाहा छ । मिचिएको सिमाना हेर्दै रुँदै गर्ने कमजोर इतिहास रचेर मर्ने रहर नेपालीलाई कदापि छैन प्रधानमन्त्रीज्यू । बरु हाम्रो भूगोल बचाउन जस्तोसुकै परिस्थितिको सामना गर्न नेपाली जनता तयार छन् । अब खुला सिमाना प्रवेश अनुमतिपत्र लागु गर्नुपर्छ । सीमा क्षेत्रको रक्षा र सुरक्षामा कुनै कमी हुन नदिन सेनालाई सिमा रक्षाको निम्ति परिचालन गर्नुपर्छ ।

हाम्रो स्वाधीनतामाथि हस्तक्षेप गरिरहने भारतलाई सबै नेपाली एक भएर प्रतिरोध गर्नुको विकल्प छैन । नेपालको प्राकृतिक सम्पदाहरुको असीमित नाफा उठाउँदै आएको भारतले सधैं नेपाल गरिबीमा रहोस् भन्ने चाहन्छ । कहिले नाकाबन्दी लगाएर हुन्छ कि । युद्ध आन्दोलन र विद्रोह भड्काएर हुन्छ कि । नेता, मन्त्री र पहुँच भएकाहरुलाई किनेर हुन्छ कि सहयोगको प्रलोभनमा पारेर हुन्छ कि जसरी भए पनि नेपालले कहिले प्रगति नगरोस् भन्ने सोच राख्ने त्यत्रो विशाल देश भएको भारतले ब्रोइलर कुखुराको बच्चाको जत्रो मुटु बनाएर सधैं हस्तक्षेप गरिरहेको छ ।
स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न नेपालमाथि भारतले गरिरहेको बारम्बारको हस्तक्षेप विरुद्ध नेपालले अन्तर्राष्ट्रिय जगतलाई किन जानकारी गराउन सक्दैन प्रधानमन्त्रीज्यू ? कहिल्यै कसैबाट शासित नभएको नेपालमाथि भारतले दबाइरहने र हामी दबिरहने, असल छिमेकी सम्झिरहने गल्ती अब हामीले गर्नु हुँदैन । अब हामीले छिमेकी चिन्ने बेला आएको छ । भारतले आफूलाई जतिसुकै शक्तिसम्पन्न राष्ट्रवादी भने पनि एउटा सानो देश पाकिस्तानसँग लड्न नेपाली नै चाहिएको होइन र ? नेपाली फौजको ताकतले जम्मु काश्मिरमा देखाएको बहादुरीले आज विश्वमा आफ्नो हैसियत देखाउने ठाउँ पुगेको कति छिटै भुलेको होला भारतले ? प्रधानमन्त्रीज्यू, भारत शक्तिशाली र शक्तिसम्पन्न ठूलो राष्ट्र हो भनेर भनेर हामी डराइरहनु पर्दैन । जतिसुकै शक्तिशाली भए पनि भारत ब्रोइलर कुखुराको जत्रो मुटु बनाएर हाम्रो भूमि अतिक्रमण गरिरहेको छ ।

हामी सानो राष्ट्र भएपनि हाम्रो मुटु विशाल भारतभन्दा ठूलो छ । शक्तिसम्पन्न अंग्रेजहरुलाई धुलो चटाउने हाम्रो सानो देश नेपाल नै हो । त्यसैले लिपुलेक र कालापानी जोगाउन पनि हामी सफल हुनेछौ भन्ने हामीलाई विश्वास छ प्रधानमन्त्रीज्यू । हाम्रो पुर्खाले रगतको खोला बगाएर जोगाएको सिमानामा मिच्नेहरुलाई हामीले छोड्न सक्दैनौं ।

हामी जुनसुकै मूल्य चुकाउन परे पनि हामी चुकाउन तयार छौं । तर हाम्रो एक इन्च पनि भूमि गुम्न दिने छैनौं भन्ने साहस हामीसँग छ । प्रधानमन्त्रीज्यू अब हामी सत्ता र भत्ताको लडाइँ बन्द गरौं । हाम्रो सत्ता र भत्ताको लडाइँले छिमेकीले हाम्रो अस्तित्व नै सक्न लागिसक्यो । आज सिमानाको विषय मात्र होइन प्रधानमन्त्रीज्यू, नेपालका हरेक ठाउँमा भारतीय शासकहरुको हैकम चलेको छ । नेता, मन्त्री र कर्मचारीदेखि नेपाली नागरिकता बोक्ने काम समेत भारतको एजेन्टहरुले चारैतिर हैकम चलाएका छन् । त्यसको पनि पहिचान गरौं ।

भोटका लागि देशभक्त बन्ने र भोट पाएपछि भारतले हाम्रो भूमि अतिक्रमण गर्दा समेत चूप लागेर बस्ने राजनीतिक संस्कारले आज गम्भीर परिस्थितिको सामना हामीले गर्नुपरेको छ । अब विगतको गल्ती र कमजोरीले सिकाएको गलत प्रवृत्तिको अत्य गर्दै एकअर्कालाई धारे हात लगाएर होइन, सबै एक ढिक्का बनेर हाम्रो भूमि फिर्ता गर्न पहल गरौं ।

 

२९ कार्तिक २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको