काबुल विमानस्थलमा मानवीय क्षति हुन सक्ने भन्दै बाइडेनले किन दिए चेतावनी ?


भदौ ५, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको स्वीकार गरेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै बाइडेनले अहिलेसम्म अफगानिस्तानबाट १३ हजारजनाको उद्धार गरिएको बताए । उनले यसलाई ‘अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार अभियान’ भनेका छन् ।

बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकीहरुलाई फिर्ता ल्याउने वाचा गरेका छन् । यस्तै अमेरिकी सैनिकलाई सहयोग गरेका ५० देखि ६५ हजार अफगानीहरुको पनि उद्धार गर्ने उनले बताएका छन् ।

अफगानिस्तानमा तालिबानले तीव्र गतिमा गरेको कब्जालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा बाइडेनको आलोचना भइरहेको छ ।

बाइडनेले भने, ‘घर फर्किन चाहने कुनै पनि अमेरिकीलाई फिर्ता ल्याइने छ।’

उनले आफ्ना सहयोगी देशको उद्धार प्रयासमा पनि अमेरिकी सैनिकले सहयोग गर्ने बाइडेनले बताए । तर प्राथमिकता अमेरिकी नागरिक पर्ने उनले स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘कुनै पनि गल्ती नगर्नु होला, यो उद्धार अभियान निकै खतरनाक छ । यो अभियानमा हाम्रा सुरक्षाकर्मी जोखिममा छन् । निकै कठिन अवस्थामा उद्धार अभियान जारी छ ।’

उद्धार प्रक्रिया सम्पन्न हुने बेलासम्म के हुन्छ भन्ने अहिले नै बताउन नसक्ने उल्लेख गरेका बाइडेनले मानवीय क्षतिको जोखिम अस्वीकार गर्न नसकिने बताएका हुन् । उनले भने, ‘आवश्यक सबै स्रोत मैले परिचालन गर्ने छु यसमा ठुक्क हुनुहोस् ।’

तालिबानले अमेरिकाको पासपोर्ट भएकाहरुलाई विमानस्थल प्रवेशमा रोक नलगाएको बताउँदै बाइडेनले अहिलेलाई थप सैनिक पठाउनु पर्ने अवस्था नरहेको बताए । तर केही रिपोर्टहरुमा अमेरिकीहरुलाई विमानस्थल पुग्न कठिनाइ भएको उल्लेख छ ।

अमेरिका नेतृत्वमा विगत २० वर्षदेखि जारी सैन्य अभियान अन्त्यको घोषणा गरेसँगै अफगानिस्तान तालिबानको कब्जामा आएको छ । गएको आइतबार तालिबानले अफगानिस्तानमाथि पूर्ण कब्जा गर्न सफल भएको हो ।

 

५ भाद्र २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको