नवलपरासीमा पटका पड्काउँदा एक घर जलेर नष्ट


कात्तिक १०, नवलपरासी । केटाकेटीले पटका पडकाउँदा आगो लागेर एक गरिब परिवारको घर जलेर नष्ट भएको छ ।

आज दिउँसो साढे ३ बजेको समयमा खेलीरहेको स्थानीय बालबालिकाहरुले पटका पडकाउँदा एक गरिब परिवारको घरमा आगलागि भई घरै जलेर नष्ट भएको हो ।

पटकाले सल्केको आगो नवलपरासीको सरावल गाउँपालिका–४ ललितपुर बस्ने उस्मान कुजडाको परालमा आगलागी भई आगो फैलिँदै नजिकै रहेको २७ वर्षीय ह्देश धोबीको खपडाको घर जलेर नष्ट भएको प्रहरी चौकी गाबरहियाँले जानकारी दिएको छ ।

आगोले धोबीको घरमा रहेको अनाज, कपडा लत्ता, भाँडाकुँडा, फर्निचर, टिभी डिभिडी, जस्ता लगायतका सम्पूर्ण सर–समान जलेर नष्ट भएको छ भने आगोले उक्त घरमा करिब ढाई लाख रुपैयाँ बराबरको क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

यता कुजडाले पनि धान दाँई गर्ने मेसिन र परालमा आगोले करिब २० हजारको क्षति पु¥याएको दावी गरेका छन् । आगोले घर जल्न थालेपछि स्थानीयहरुले सहयोग गरि आगो निभाएका थिए ।

त्यस्तै नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीमा सञ्चालित क्यानल सेन्टर आवासीय माविको कार्यालयमा पनि आज बिहान आगलागी भएको छ । आगोले कार्यालयमा रहेको कम्प्युटर, ल्याप्टप, फर्निचर र कागजातहरु जलेर नष्ट भएको छ ।

आगोले करिब ७ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । आगो के कारणले लागेको हो भन्ने अझै खुलेको छैन । यस विषयमा प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

१० कार्तिक २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको