जनताका लागि गर्ने क्रान्तिको रक्षा जनताले नै गर्ने हो: विप्लव


कात्तिक ४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलाल पुँजीवादी सत्तालाई जरैबाट उखेर फाल्न आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि ल्याएको बताएका छन् ।

उनले शान्ति वार्ता प्रक्रिया आएपछि माओवादी पार्टीभित्र र बाहिर धोका र गद्दारी भएको भन्दै क्रान्तिको उत्तराधिकारी आफ्नो पार्टी भएको बताए ।

हालै एक अंग्रेजी अनलाइनलाई दिएको अन्तरवार्तामा विप्लवले भनेका छन्,“नेपाली क्रान्तिको उत्तराधिकारी आफ्नो पार्टी भएको बताएका छन् । हामीलाई २०६३ सालपछिको ऐतिहासिक वार्ताप्रक्रियामा बाहिर र भित्रबाट भयानक धोका र गद्दारी भएपछि हाम्रो पार्टी दलाल पुँजीवादी सत्तालाई जरैबाट उखेलेर फाल्ने एकीकृत जनक्रान्तिमा छ” विप्लवले भनेका छन् ।

राष्ट्रघात, भ्रष्टाचार, जनअधिकारमाथि तानाशाही दमन, तस्करी, बलात्कार र महंगी अत्यधिक मौलाएको विप्लवले अन्तरवार्तामा कैयौँ अर्थमा राजतन्त्रको समयमा भन्दा पनि खराब र खतरनाक अवस्था रहेको बताए ।

“राष्ट्रघात, भ्रष्टाचार, जनअधिकारमाथि तानाशाही दमन, तस्करी, बलात्कार र महंगी अत्यधिक मौलाएको छ । यो कैयौँ अर्थमा राजतन्त्रको समयमा भन्दा पनि खराब र खतरनाक छ” विप्लवले भने । उनले सिक्किमलाई यस्तै दलालहरूले बेचेर खाएको बताउँदै पुनः दलाल पुँजीवादी सत्ताका विरुद्ध नयाँ क्रान्तिको प्रक्रिया अगाडि बढिसकेको बताउँदै नेपाललाई सिक्किम हुन नदिने बताए ।

तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १३ वर्ष पहिले पूर्व एमालेका अध्यक्ष केपी ओली, नेता माधव नेपाल, झलनाथलाई साम्राज्यवादका नोकर, दलाल भएको बताएको भन्दै विप्लवले आफैले जरैबाट उखेलेर फाल्नु पर्ने सत्तामा आफै गएको बताए । उनिहरुका समृद्धिका कुरा आफ्नो पश्चगमन, प्रतिगमन र पतनलाई लाज छोप्ने खोल हाल्न खोजेको बताए ।

दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना भयो भनेचाहिँ साँच्चिकै समृद्धि हुने बताए । उनले क्रान्ति जनताकै लागि गरिने भएकोले त्यसको रक्षा पनि जनताले नै गर्नुपर्ने बताए ।

“क्रान्ति जनताका लागि गरिन्छ भने जनताले नै क्रान्तिको रक्षा गर्ने हो । जनताकै बलमा क्रान्तिकारीहरूले क्रान्ति हाँक्ने हो” विप्लवले भने ।

४ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको