कसैको आँशु बेचेको जितलाइ के जित भन्नु रन्जु? बरु हार नै महान छ {पत्र}


पोष्टपाटी!

कसैको आँशु बेचेको जीतलाई के जित भन्नु?
कसैको आस्था बेचिएको जितलाई के जित भन्नु?
नैतिकतालाई दाउमा राखेर इमानको हत्या गरिएको जितलाई के जित भन्नु र रन्जु?

प्रिय मित्र रन्जु!

हो! हारेर जित्नेहरुले नै संसार जित्छन। मेरो मतलब, अरुको आँशु र आस्था अनि आफ्नो नैतिकता बेचेर राजनीति गर्नेहरुले आज जित्छन तर भोलि अबस्य हार्छन। सम्झनु आजको तिम्रो हार भोलिको जित हो।

संख्याको हिसावले तिमीलाई कसैले हरायो होला तर यहि नै अन्तिम होइन । तिमीले जितिसकेका छौ । हजारौं मान्छेले तिम्रो भरोशा गरिसकेका छन। त्यसैले तिमि बिजय भएका छौ । वधाई छ मित्र । यो घडीमा मैले शोकसभा मनाईरहेको छैन दुखि हुनलाई। म खुसि छु, कमसेकम तिमीलाई एउटा हिस्साले भरोसा गरेको छ।

तिम्रो गल्तिले तिमी पराजय भएका होइनौं। गल्ती तिनले गरे जो पुरातनको अमलमा फसे। हो, नेपाली समाज गहिरो अमलमा फसिसकेको छ। भोलि तिनै मान्छेहरुको मुखवाट सुन्ने छौ कि यो देश त खतम भईसक्यो। नेताले देश बिगारे। अनि जब चुनाव आउँछ उनिहरुको भोट पुनः तिनैलाई जान्छ जसले देशलाई कंगाल बनाए। बिडम्वना यहि छ। उनैको आवाजले अब देशमा केही नगरी हुँदैन भन्ने संकल्प लिएर अगाडि बढ्यौं तर जब चुनाव आयो तब उनिहरु उही पुरातन अमलको जहरवाट बाहिर निस्किनै सकेनन् । तसर्थ यसमा तिम्रो दोष छैन ।

मैले अमलको कुरा गरें । मानौं एउटा लागूऔषधको अमलमा फसिसकेको मान्छेलाई थाहा हुन्छ कि लागूऔषधले मान्छेको जिन्दगी बर्वाद बनाउँछ । थाहा हुदाहुदै पनि उसले लागूऔषधको लतबाट बाहिर निस्किन सक्दैन । बरु त्यसवाट मुक्त हुनको लागि उत्पन्न हुने नयाँ परिस्थितिले उसलाई पीडा दिन्छ । त्यहि क्षणिक पीडा सहन नसकेर उसले त्यही जिन्दगी स्विकार गरिरहेको हुन्छ । हो त्यही अबस्थामा छ नेपाली समाज । पुरानो परिस्थितिमै गुनासो गरि जिईरहेको छ । त्यही उसलाई अमल बसिसकेको छ । उनिहरुलाई गन्ध राजनिती नै प्यारो छ । दुर्गन्धित काठमाडौ नै प्यारो छ । यसमा दोष तिम्रो होइन रन्जु। दोष नेपाली समाजको चरित्रको हो ।

तिमी कसरी पराजित भयौ ? मलाई थाहा छ। तिमिले मासुभात र मदिराको भोज खुवाएको कतै देखिन। मेरो अनुमानमा तिमी भोटरहरुलाई मासुभात खिलाउन सकेनौ होला । भोट किन्नको लागि पैसाको खोला बगाएनौ होला । मेयर बन्न भोज भतेर गर्नु पर्थ्यो, त्यो तिमीले गरेनौ।

ठिकै गर्‍यौ । इमान वेचेर कमाएको मेयर पद भन्दा एउटा स्वाभिमानी नागरिक हुनुको मज्जा नै फरक छ । यहाँ स्वाभिमानी मान्छे पनि पाउन मुस्किल छ । एकदिनको मासुभात र रक्सिको मातले पुरै जिन्दगी वन्दकीमा राख्न राजी हुन्छन, पुरातनमा डुबेकाहरु। चुनावले सबैलाई यहि देखायो।

भरतपुरलाइ हेरेका छौ होला रन्जु! भरतपुरलाई देखेर चुनावमा ब्यार्थै उठेको महसुस पक्कै गरेका छौ। भरतपुरको चुनावले देशको इज्जत लुट्यो, जहाँ पदको लागि कसैले आस्था बेचिएको छ, करोडौको रकम चलखेलमा सत्ता साझेदार भएको छ, भरतपुरका जनतालाई बन्दकी राखेर सहकार्यको खेल चल्यो। यस्तो फोहोरी खेलबाट तिमि अछुतो छौ रत तिम्रो जित ठानेको छु।

कसैको आँशु बेचेको जीतलाई के जित भन्नु ? कसैको आस्था बेचिएको जितलाई के जित भन्नु ? नैतिकतालाई दाउमा राखेर इमानको हत्या गर्नुलाई कसरि जित भन्नु र रन्जु ? त्यसैले त तिम्रो जित ओझेलमा होइन, अझ उचो बनेको छ।

चुनाव सकियो । जनताको गुनासो उस्तै छ । युवाहरु राजनीतिक नेतृत्वमा कहिले आउने? पढेलेखेका, उच्च शिक्षा प्राप्त गरेका मान्छेहरुलाई राजनीति नेतृत्व किन दीइएन भन्ने उस्तै पुराना भजनहरु फेरी बज्न थालेको सुनिन्छ घर गाउँमा । राजनीति नेतृत्व कसैले दया गरेर दिलाउने कुरा होइन, मलाई कठपुतली युवा नेतृत्व चाहिएको होइन । सक्षम र स्वत:स्फुर्त रुपमा नेतृत्व हत्याएको हुनुपर्छ । चौरासी पुजा गरि भ्याएकाले देश चलाएको पनि देखेकै हुँ । मेरो निष्कर्ष तिनै वयोवृद्धहरुको मन्द बुद्धहरुले देशको नतिजा खराव भयो भन्ने हो । त्यसैले एकपटक युवाहरुले देश चलाएको हेर्न चाहना थियो । तर युवाले राजनीतिमा चासो दिएको खोई ?

आज रातले छोपेको छ तर जुनेली रातको समयलाई धेरै दिन अन्धकारले छोपिरहन सक्दैन। आशा छ, पुर्णिमा नजिकै छ। एकदिन अबस्य उदाउने छ। रात पर्नुको अर्थ बिहानीको लागि हो। मानिलिउं, केही क्षणको लागि अँध्यारो भएको छ। भोलि पक्कै सुर्य उडाउने छ। यहि अनुभूति तिम्रो हारबाट गरेको छु।

दोस्रो अनुभूति यो पनि गरेको छु, यदि कसैबाट अलौकिक सपनाहरु देखाई माग्नु छ भने चुनाब आउनु पर्दो रहेछ। यही चुनावको बहानामा धेरैले पुर्व पश्चिम रेलको सपना देखाए। कसैले विपिको सुन्दर समाजवाद देखाए। कसैले मदन भण्डारीको बहुदलिय समाजवाद देखाए। कसैले शहरको सिहंदरबार गाउँ गाउँमा भन्दै हिडे। सिङ्गापुरको सपना भने थाँती रहेको छ रन्जु। पाइपवाट ग्याँस वितरण गर्ने कुराले पनि बेलाबेला जिस्क्याउछ।

फ्री वाइफ़ाईको मुन्टो उठ्यो कि उठेन त्यो तपाइलाई थाहा होला, म त परदेशमा छु, मेरो लागि देखिने कुरा पनि होइन। एकदिन चन्द्र उदाउने छ र तिम्रो कासन चल्ने मेरो युगमा अबस्य घाम लाग्ने छ। केही दिनलाई वादल लाग्दैमा सधैं सुर्यको किरण पृथ्वीवाट अलप हुनै सक्दैन। म त्यही दिनको प्रतिक्षामा बसेको छु।

उही तिम्रो  सुभचिन्तक ।

पृथीछक बुढा मगर

समुन्द्र पारीवाट ।

२२ श्रावण २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको