यस्तो छ नवनियुक्त मन्त्री योगेश भट्टराईको पहिलो निर्देशन


साउन १५, काठमाडौं । नवनियुक्त संकृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आफूलाई पैसा खर्च नगरी शुभकामना दिन आग्रह गरेका छन् ।

बुधबार साँझ मन्त्रालयमा पदवहाली गर्दैै मन्त्री भट्टराईले पत्रिकामा बिज्ञापनको रुपमा शुभकामना नदिन आग्रह गरे । उनले सामाजिक सञ्जालबाट शुभकामना दिनेहरुलाई धन्यवाद दिँदै सामाजिक सञ्जालबाटै शुभकामना दिन आग्रह गरे ।

उनले भने– ‘सम्भवत मलाई सोसल मिडियाहरुमा धेरै बधाई आएको होला, उहाँहरुलाई धन्यवाद दिन चाहन्छु, एउटा अनुरोध पत्रकार साथीहरुमार्फत गर्छु, कुनै पनि कम्पनीले बिजनेश हाउसले व्यवसायिक मित्रहरुले पैसा तिरेर बधाई नदिनुहोला । त्यो राम्रो कुरा हैन । फेसबुकमा दिनुस, के मा दिनुस त्यो ठीक छ, त्यसलाई अन्यथा मान्दिन तर पत्रिकामा टेलिभिजनमा बिज्ञापनको रुपमा बधाई नदिनुहुन त्यो मेरो लागि धेरै राम्रो हुनेछ ।’

उनले मन्त्रालयमा बोलिने भाषामा पनि चासो देखाएका छन्। आइस्योस्, गइस्योस् भन्ने भाषा मन्त्रालयमा कसैले पनि प्रयोग नगर्न भट्टराईले निर्देशन दिए।

‘सिंहदरबारमा आइस्योस्, गइस्योस् भन्ने भाषा छ भन्ने सुनेको छु, यसअघि भए पनि अब त्यस्तो भाषा कसैले पनि प्रयोग नगरिदिनु होला,’ उनले भने।

योगेश भट्टाराईले नेपाल एयरलाइन्सको साख माथि उठाउने बताएका छन्। ‘अहिले नेपाल एयरलाइन्स प्रति जसरी प्रश्न उठेका छन् तिनको समाधानका लागि छलफल गर्नेछौं, उठेका प्रश्न न्यूनीकरण गर्नेछौं,’ मन्त्री भट्टराईले भने,‘एकदिन यस्तो बनाउँछौं, वाह! नेपाल एयरलाइन्स भन्ने हुन्छ।’

उनले आफू अपर्झट मन्त्रालय सम्हाल्न आइपुगेको बताए। ‘मलाई १ बजे बोलाएर प्रधानमन्त्रीले मन्त्रीको प्रस्ताव गर्नुभयो,’ भट्टराईले भने, ‘यो मन्त्रालयमा कति नम्बरमा परेँ थाहा छैन। फोटा धेरै छन्। उहाँहरू सबैसँग राय सुझाव लिनेछु।’

१५ श्रावण २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस