‘क्लिन फिड’ लागू गर्ने प्रावधानसहित विज्ञापन विधेयक पारित


भदौ १२, काठमाडौँ । क्लिन फिड लागू गर्ने प्रावधानसहित प्रतिनिधिसभाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, पारित गरेको छ ।

राष्ट्रियसभाले सरकारले चाहेको मितिदेखि लागू गरी स्वीकृत गरेको विधेयकलाई प्रतिनिधिसभाले तत्काल लागू हुने प्रावधान सहित विधेयक पारित गरेको हो।

अब पुराना सेवा प्रदायकहरुले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र र नयाँ सेवा प्रदायकहरुले भने ऐन लागु भएकै दिनदेखि क्लिन फिड कार्यान्वयन गर्नुपर्नेछ।

सरकारले राष्ट्रियसभामा दर्ता गरेको विधेयकमा राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि लागू हुने प्रस्ताव गरे पनि विकास समितिले त्यसलाई परिमार्जन गर्दै पुराना सेवा प्रदायकले एक वर्ष र नयाँले तत्काललै कार्यान्वयन गर्नुपर्ने प्रावधान अनुमोदन गरेको हो।

राष्ट्रियसभाले क्लिन फिड सम्बन्धी दफालाई जस्ताको त्यस्तै पारित गरेको थियो । त्यस्तै विधेयकले सरकारी कार्यालयहरुलाई मनलाग्दी विज्ञापन गर्न रोक लगाउनेछ । अब सरकारी कार्यालयले एकद्वारा प्रणालीबाट मात्रै विज्ञापन गर्न पाउनेछन्।

‘नेपाल सरकार वा नेपाल सरकारका निकायले लोक कल्याणकारी वा अन्य विज्ञापन वा सूचना प्रकाशन प्रशारण गर्दा वोर्ड मार्फत गर्नु पर्नेछ, त्यस्तो विज्ञापनमार्फतको रकम वोर्ड मार्फत खर्च गर्नुपर्ने छ’ प्रतिनिधिसभाबाट पारित विधेयकमा भनिएको छ।

विधेयकमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उनले सबैलाई समानुपातिक रुपमा विज्ञापन उपलब्ध गराउने विश्वास व्यक्त गरे।

‘सरकारको भजन गाउनेलाई मात्र विज्ञापन दिने कुरा किमार्थ हुँदैन, त्यसलाई हामी व्यवहारमा नै देखाउछौँ, उनले भने, ‘यसमा कुनै शङ्का गर्नुपर्ने आधार छैन ।’

मन्त्री बास्कोटाले विधेयकले भ्रष्टाचार रोक्ने, कर छल्नेलाई नियन्त्रण गर्ने र कुन संस्थाले के कति मात्रामा विज्ञापनमा खर्च गर्छ भन्ने विषय पारदर्शी हुने बताए।

प्रतिनिधिसभाले परिमार्जन गरेका विषयलाई अब राष्ट्रियसभाले अनुमोदन गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नपर्नेछ। राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएपछि ऐन कार्यान्वयनमा आउनेछ।

१२ भाद्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको