चुनावी तालमेलका लागि राजमोले पठायो प्रधानमन्त्री ओलीलाई यस्तो प्रस्ताव


कात्तिक ५, काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी संघ, प्रदेश र स्थानीय तहका उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सित चुनावी तालमेलका लागि पहल थालेको छ ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा नेकपासित तालमेलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव पठाइसकिएको जानकारी दिएकी छन् ।

उपाध्यक्ष पौडेलको विज्ञप्तिमा कास्कीको संसदीय निर्वाचन तथा बागलुङ र दाङका प्रदेश निर्वाचनहरुमा नेकपा (नेकपा)सित तालमेल गर्न राष्ट्रिय जनमोर्चाले पहल गरिरहेको उल्लेख छ । ‘त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसित वार्ताका लागि हामीले प्रस्ताव पठाएका छौं’, विज्ञप्तिमा भनिएको छ, ‘उनीहरुसित तालमेल हुन सकेमा परस्परको समझदारीअनुसार हामीले कुनै क्षेत्रमा आफ्नो उम्मेदवार खडा गर्ने र कुनै क्षेत्रमा नेकपाका उम्मेदवारलाई समर्थन गर्ने नीति अपनाउन सक्ने छौं ।’ विज्ञप्तिमा नेकपासित समझदारी नभएमा उक्त तीनवटै क्षेत्रहरुमा आफ्नो उम्मेदवार खडा गर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा संघ र प्रदेशको चुनावमा नेकपासित तालमेलको नीति खुला हुने बताइएको छ । त्यस्तै, स्थानीय तहमा भने नेपाली कांग्रेससित पनि तालमेल गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

५ कार्तिक २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको