रोल्पाका तीन युवा ८ किलो चरेससहित दाङबाट पक्राउ


असोज १, दाङ । साढे ८ किलो प्रतिबन्धित लागूऔषध चरेससहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं. ४ निवासी २१ बर्षीय गणेश वली, सोही ठाउँ निवासी २७ बर्षीय भूपेन्द्र थापा र ४० बर्षीय अमृत थापा रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहका अनुसार उनीहरु तीनैजनालाई बुधबार दिउँसो घोराही उपमहानगरपालिका वडा नं. १९ खम्वास भन्ने स्थानबाट पक्राउ गरिएको हो । खम्बास दाङ–होलेरी सडकखण्डमा पर्ने गर्छ । पक्राउ परेका व्यक्तिहरुले प्रयोग गरेको रा ३ प ४५५९ नम्वरको मोटरसाइकल पनि बरामद भएको प्रहरीले बताएको छ ।

१५ दिनमा ९ जना पक्राउ

जिल्ला प्रहरी प्रमुखको रुपमा नयाँ एसपी जनक भट्टराई दाङको १५ दिनको अवधिमा ९ जना विभिन्न व्यक्ति प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन् ।

यसअघि भदौ २८ गते घोराही उपमहानगरपालिका वडा नं. १४ मा डेरा गरी बस्ने २२ बर्षीया नविना रोका ३ केजी ३ सय ग्राम अफिमसहित पक्राउ परेकी थिइन् । रोका रोल्पा निवासी हुन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जसपुरबाट भदौ २६ गते तुलसीपुर–६ निवासी २३ बर्षीय विपिन भन्ने विक्रम जंग मल्ल पक्राउ परेका थिए । उनको साथबाट ४ ग्राम १० मिलिग्राम ब्राउ सुगर प्रहरीले फेला पारेको थियो ।

तुलसीपुरको वडा नं. ८ जीवन टोलबाट तुलसीपुर–५ बसपार्क निवासी माइली भनिने विमला नेपालीको साथबाट भदौ २४ गते १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।

उक्त दिनसँगै रहेका स्थानीय २५ बर्षीय मानबहादुर विकको २४० मिलिग्राम, सोही ठाउँकै २८ बर्षीय दिपककुमार वलीको साथबाट २२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ ।

त्यसअघि तुलसीपुरकै वडा नं. १८ मज्गैं पत्रेखोला नजिकैबाट बाँके जिल्लाको नेपालगञ्ज उपमहानरपालिका वडा नं. ९ निवासी २६ बर्षीय तसौवर खानको साथबाट १० ग्राम २१० मिलिग्राम ब्राउसुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । पक्राउ परेका सबै विरुद्ध मुद्दा दायर गरी कानुनी कारवाही अगाडि बढाइएको प्रहरीले बताएको छ ।

१ आश्विन २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको