अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी, सम्पूर्ण सामाग्री जलेर नष्ट


असार ३, सल्यान । सल्यान छत्रेस्वरी गाउँपालिका ३ झिम्पेको मुलखोलामा रहेको वडा कार्यालयमा आगजनी भएको छ । सोमबार राति दुई बजे भएको आगजनीका कारण दुई कोठे रहेको वडा कार्यालयमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

आगजनीबाट प्रशासन र प्राविधिक कोठामा रहेका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरबहादुर खड्काले आगजनीको कारण खोजी भैरहेको र क्षतिको मुचुल्का उठाउँदै गरेको बताए । कार्यालयमा कसैले आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

वडा अध्यक्ष राजबहादुर बुढाथोकीले कार्यालयका पाँच दराज, कागजपत्र, ल्यापटप, कम्प्युटर, फोटोकपी मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट, लगायत सबै सामग्री जलेको बताए । आगजनीबाट सबै सामान जलेपछि कामकाज कसरी गर्ने अन्यौल भएको उनले बताए ।

आगजनी भएको थाहा भएपछि स्थानीयले आगो निभाएको ज्ञानबहादुर खड्काले बताए । ‘राति दुई बजे कार्यालयका कार्यालय सहयोगीले वडा कार्यालयमा आगलाागी भएको छ भनेर फोन गरे । गएर हेर्दा सबै सामग्री जलेर नष्ट भैसकेको थियो’ उनले भने ।

३ असार २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको