नेपाल अन्तरिक्ष युगमा प्रवेश गरिसक्यो: प्रधानमन्त्री ओली


वैशाख ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिएका छन् । यसबाट नेपालको प्रतिष्ठा बढेको ओलीले बताएका छन् ।

सानै आकारको भए पनि नेपाली भू-उपग्रह अन्तरिक्षमा पठाइएपछि विश्वभर छरिएका नेपालीहरूले पनि खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु राखिरहेका छन् ।

बिहीबार बिहान २: ३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट-१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । यसको तौल झण्डै एक किलो छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्वीर र सूचनाहरू प्राप्त गर्न सक्ने छ । यो नेपाली भू-उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्के लगायत संलग्न थिए ।

कत्रो छ नेपाली भू-उपग्रह ?

नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केका अनुसार नेपालीस्याट-१ न्यानो स्याटलाइट हो। अर्थात् यो निकै सानो आकारको भू-उपग्रह हो र यसको तौलको झन्डै एक किलो छ।

उनको भनाइमा यो प्रविधिमा नेपालले अझै धेरै काम गर्न बाँकी छ। बीबीसी नेपाली सेवासँग उनले भने, “नेपाल सरकारबाट पहिलो पटक लगानी आएकोले यो सम्भव भयो।

आफ्नै भू-उपग्रह अन्तरिक्षमा लामो समयसम्म राख्ने चुनौती बाँकी नै छ। यो हाम्रो पहिलो पाइला हो।” उनको भनाइमा भू-उपग्रह प्रविधिमा नेपालले फड्को मार्न अझै धेरै काम गर्न बाँकी छ। त्यसको अर्थ निरन्तर नेपाल सरकारले विज्ञान प्रविधि र भू-उपग्रहको विकासमा लगानी गर्न आवश्यक छ।

यो भू-उपग्रहले के गर्छ ?

मास्केका अनुसार यो भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ। यो भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ भनिने प्रविधिको फाइदा लिन सक्छ ।

यसको सहायताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ। मास्केका विचारमा ती तस्बिरहरू सञ्चारमाध्यममा छाप्न उपयुक्त हुने खालका हुनेछन् ।

यो भू-उपग्रह कहिलेसम्म अन्तरिक्षमा रहन्छ?

तर नेपालीस्याट-१ भू-उपग्रह लामो समयसम्म अन्तरिक्षमा रहनेछैन। मास्केको अनुमानमा यो भू-उपग्रह अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहनेछ ।

लामो समय सञ्चालनमा रहने भू-उपग्रह निर्माण गर्न र प्रक्षेपण गर्न नेपालले ठूलै लगानी गर्नुपर्ने उनको धारणा छ। यो भू-उपग्रहलाई सञ्चालन गर्न जमिनमा पनि पूर्वाधार राख्नुपर्ने हुन्छ । त्यसका लागि उपकरण खरिद गर्न नास्टले बोलपत्र आह्वान गरिसकेको छ।

५ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको