अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकलाई बुधबारदेखि पक्राउ गर्ने निर्णय

मंसिर १०, काठमाडौं । मेडिकल कलेजले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएपछि सञ्चालकलाई गृह मन्त्रालयले बुधबारबाट कारबाही थाल्ने भएको छ ।

गृह स्रोतका अनुसार मंगलबार अपराह्न बसेको सर्वपक्षीय बैठकले बुधबारबाट मेडिकल कलेज तथा सञ्चालकलाई कारबाही थाल्ने निर्णय भएको हो ।

सरकारले मेडिकल कलेजलाई सरकारले पन्ध्र दिने र चौबीस घन्टै अल्टिमेटम यसअघि नै दिइसकेको थियो । सो समयमा पनि मेडिकल कलेजले विद्यार्थीबाट उठाएको गैरकानुनी शुल्क फिर्ता नगरेपछि मंगलबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो ।

गृह स्रोतका अनुसार सरकारले तोकेकोभन्दा बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई बुधबारदेखि पक्राउ गरेर कारबाही गर्ने निर्णय भएको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस