को हुन रोल्पाली ठिटो शनि बिश्वकर्मा ? जो बने पहिलो नेपाल लोकस्टार !

कार्तिक ०९, काठमाडौं ।  रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन्। एपीवान टेलिभिजनबाट प्रसारित सर्वाधिक पुरस्कार राशिको रियालिटी सो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार र सिटिजन्स लाइफ इन्सोरेन्सका तर्फबाट २५ लाख बराबरको जीवन बिमा हात पारेका छन्।

भृकुटीमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित फाइनलमा उनले ‘अमिलो रसैले…’ बोलको गीत गाएका थिए। प्रतियोगितामा स्याङ्जाका चेतन गोतामे दोस्रो भई २५ लाख नगदसँगै १५ लाख बराबरको जीवन बिमा पनि प्राप्त गरे। उदयपुर कटारीका विनोद दनुवारले १० लाख नगदसँगै १० लाख बराबरको जीवन बिमा प्राप्त गरे। रामेछापका रामकुमार नेपालीले सान्त्वना स्थान हासिल गरे। नेपालीले लिटमस इलोक्ट्रोफाइन परफरमर अफ द सिजन अवार्डसहित दुई लाख नगद प्राप्त गरे।

असार १२ गते सुरु भएको लोकस्टार कार्यक्रम भृकुटीमण्डपबाट ३६औं शृंखला प्रत्यक्ष प्रसारण गर्दै सम्पन्न भएको छ। नेपाली लोकसंस्कृति प्रचारप्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले कार्यक्रम आयोजना गरेको हो।

नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमा धेरै पुरस्कार राशिको सांगीतिक कार्यक्रम हो। देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारमा उत्कृष्ट छनोट भएका थिए। कार्यक्रममा विभिन्न जिल्लाका स्थानीय लोकसंगीतदेखि आधुनिक गीत र राष्ट्रिय गीतले स्थान पायो। उत्कृष्टमा छानिएकाले मधेसको भोजपुरी र सुदूरपश्चिमको देउडा गीत पनि गाए।

कार्यक्रमको ३६ औं शृंखलासम्म आउँदा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँडले निर्णायकको भूमिका निर्वाह गरे। एपीवानका सुरेश पौडेलले प्रोजेक्ट हेड जिम्मेवारी पूरा गरे। एलन श्रेष्ठ र लोकेश बज्राचार्यले निर्देशकीय भूमिका निर्वाह गरेका थिए।

विजयी प्रतिस्पर्धीलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, आईएमई गुप्रका अध्यक्ष चन्द्र ढकाल, अन्नपूर्ण मिडिया नेटवर्कका एमडी लक्ष्मी पौडेल, एपीवान टेलिभिजनका सुरेश पौडेल, चाहना मिडियाका प्रमुख भरतबहादुर बस्नेत, लिटमस केबलका उपाध्यक्ष सरोजकुमार मि श्रलगायतले पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै नेटवर्कका अध्यक्ष थापाले देशका कुनाकाप्चामा लुकेर बसेका प्रतिभालाई लोकस्टारले भव्य मञ्च र स्थान दिएको बताए। उनले नेपाली लोकसंगीतले सबैलाई एकतामा जोड्ने विश्वास व्यक्त गरे।

यस्तै आईएमई ग्रुपका अध्यक्ष ढकालले लोकसंगीतले सबैको हृृदयलाई छुने बताए। समारोहमा लिटमस केबलका उपाध्यक्ष सरोजकुमार मिश्र, लोकस्टारका सीईओ सुरज गिरी, चाहना मिडियाका अध्यक्ष सहदेव कोइराला, हेमराज ढकाल, सरोजकुमार मिश्र, सहदेव कोइराला, सुदीप आचार्य, प्रदीप रोका, सञ्जय संघाई, रोहित गुप्ता, आदित्य संघाईलगायत सहभागी थिए।

को हुन शनि बिश्वकर्मा ? जो बने पहिलो लोकस्टार !

सानै देखि भद्र स्वभावका शनि लोक संगीतको नक्षेत्रका एक भद्र अनि शालीन र बहु-प्रतिभाशाली युवा हुन् ।

जब उनका बाल्यकालमा चेतहरु भद्र अनि शालीन भएर खुल्दै थिए, तब उनि आफु जन्मिएको बनपाखामा गाई ग्वाला (गोठालो) गरिरहेका थिए । उनको साथमा केहिथान गाईहरु थिए, केहि थान भेडा बाख्रा थिए, अनि उनको साथमा एक थान बासुरी र मादल पनि थियो ।

अझै भनौ, जिबनको गोरेटोमा गित संगीतले उनको हृदयमा एक सारथिको रुपमा सहयात्रा गरिरहेको थियो ।

बाँसुरीको धुन निकाल्न र मादलको ताल दिन उनलाई गाउँको माटोले सिकायो । शनिले बाँसुरी र मादल पनि बजाउने सामर्थ्य बालापनमै सिके।

शनि बनपाखामा हिड्दा डुल्दा वा गोठालो जाँदा गित गुङ्गुनाउथे । सायद अदृश्य त्यो भगवानले उनलाई मखमली स्वर दिएछन क्यारे, त्यहि मखमली आवाज उन्कालागी अहिले बरदान भएको छ ।

उनले ७ कक्षामा पढ्दा गाउँको दशैँ मेलामा पहिलोपटक स्टेजमा चढेर गित गाएका थिए, जतिबेला उनि ११ वर्षका थिए । स्थानीय माडी युवा जलजला क्लव रोल्पाको आयोजनामा भएको कार्यक्रममा उदय सोताङ्ग र मनिला सोताङ्गको गित ‘आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुरा चल्यो’ आधुनिक गित गाएका थिए । उनले पहिलो पटक स्टेजमा चढेर यो गित गाएका थिए ।

उनको त्यो प्रस्तुतिले धेरैबाट स्याबास बटुले । गाउँघर र मेला भरि उनको प्रतिभाको कुरा चल्यो । त्यसैले शनिलाई गायन यात्रामा थप हौसल्ला मिल्यो ।

गाउँको दशैँ मेलामा उनले दिएको प्रस्तुतिका कारण दोश्रो पटक माडीचौरको ठुलै माघी मेलामा अतिथि कलाकारको रुपमा निम्तो पाए । त्यहाँ उनले लोक गायक रामजी खाण्डको लोक गित ‘भोटमा बस्ने भोटेनी हजुर’ प्रस्तुत गरे । संगै अन्य आधुनिक गीतहरु पनि प्रस्तुत गरे ।

यसरि महोत्सब तथा मेलाहरुमा गाउदै गर्दा उनका शुभचिन्तकहरुबाट सांगीतिक यात्रामा लाग्नुपर्छ भन्ने थप प्रेरणा मिलिरह्यो । उनको संगीत प्रतिको भद्र लगावले झनै बहुमुखी गायन कलामा निखार आउदै गयो ।

लिबांगमा रहेको रेडियो जलजलाले आफ्नो बार्षिक उत्सब मनाउन ‘जलजला तारा’ प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा टप १० भित्र परे । अर्को राप्ति आइडल गायन प्रतियोगितामा पनि भाग लिने अवसर मिल्यो । उनि उक्त प्रतियोगितामा दोश्रो भए ।

रोल्पामा म्युजिक क्लास नभएको कारण संगीत सिक्ने उनको चाहाना त्यसै थाँती रह्यो । तर उनका लागि गाउँघरमा हुने मेला, पर्व, महोत्सबहरु, अनि जिल्ला र अञ्चल स्तरीय प्रतियोगिताहरु म्युजिक पाठशाला बने । जुन पाठशालाहरुले आज नेपाल लोक स्टारको गोल्डेन स्टार हुँदै फाइनल सम्म पुर्याएको छ ।

दुई छोरा र एक छोरी सन्तान मध्यका कान्छा छोरा हुन् शनि बिश्वकर्मा । २०५८ सालमा जन्मिएका शनिले गाउँमै रहेको श्री नेपाल राष्ट्रिय निमाबि जंकोटमा कक्षा १ देखि ८ सम्म अध्यन गरे । माध्यामिक तहको पढाइ भने सदरमुकाम लिबांगमा रहेको बाल कल्याण नमुना माबिमा अध्यन गरे । त्यसपछि १२ कक्षा सम्म पढ्न दाङ्ग घोराहीमा रहेको माउण्ट इङ्ग्लिश बोर्डिंग स्कुलमा अध्ययन गरे ।

भौगोलिक विकटता, पिछडिएको समुदाय त्यसमाथि युद्दले अँचेटेको त्यो बिकट गाउँ रोल्पाबाट एउटा कलिलो ठिटो लोकस्टार बन्ने बाटोमा दौडीरहेका छन । आधुनिकताको कभरमा पश्चिमा संस्कार र संस्कृतिले हरण गरेको हाम्रो मौलिक संस्कार र संस्कृतिलाई बचाउन स्थानीय ‘साईली बरै’ गीतलाई काँधमा बोकेर केवल १७ बर्षे ठिटो नेपाल लोक स्टार बनेका छन्, शनि विश्वकर्मा ।

मोर्डन गित संगीतमा पनि उत्तिकै राम्रो दख्खल राख्ने खुबी भएका शनि बिश्वकर्मा यतिखेर लोक स्टार बन्न सफल भए ।

नव युगका अल्लारे ठिटोहरु आधुनिक रक-पपमा रमाईरहेको बेला बिकट गाउँमा जन्मिएको ठिटो शनि बिश्वकर्मा मौलिक लोक गीतमा प्रवेश गर्नुको कारण आफु जन्मिएको ‘माटो’लाई मान्छन । उनि माटो प्रति बफादार छन्, माटोमै हुर्किएको मौलिक संस्कृतिको एक असल पहरेदारको रुपमा शनिले आफुलाई उभ्याएका छन् ।

शनिले लोक स्टार जितेपछि देश र विदेश भरि चर्चा छ । अझै भन्दा… युद्दको चिनारी बोकेको रोल्पामा शनिको अदभुत प्रतिभाले जित्दा युद्द भूमिमा संगीतको उर्बर्भुमीको रुपमा रोल्पा परिचित बनेको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको