भारतले सीमा अतिक्रमण गरेको विरोधमा कलाकारको विरोध

मङ्सिर ९, काठमाडौं । नेपालको कालापानी, लिम्यियाधुरा र लिपुलेकमा भारतद्वारा सीमाना मिचिएकोप्रति कलाकारले विरोध जनाएका छन् । साथै कलाकारले नेपालस्थित भारतीय दूतावासलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपालको सीमा मिचिएको भन्दै नेपालभर भारतविरुद्ध प्रदर्शन भइरहेका छन् । यसैबीच नेपाली कलाकारहरुले पनि सीमा मिचिएकोप्रति आपत्ति जनाउँदै ‘बृहद विरोध सभा’ गरेका हुन् ।

सीमा अतिक्रमण विरुद्ध गरिएको विरोध सभामा नेपाली कलाकार तथा विभिन्न संघका प्रतिनिधि उपस्थित थिए । विरोध सभामा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्देशक दिनेश डिसी, कलाकार नवल खड्का, मोहन निरौला लगायत उपस्थित थिए ।

कलाकारहरुले भारतले गल्ती नसच्याएसम्म विरोध गर्ने जनाएका छन् । कलाकार र संस्कृतिकमीले सबै नेपाली एकजुट हुन पनि आग्रह गरेका छन् । निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले सरकारलाई कुटनीतिक पहलका लागि दबाब दिने बताए ।

भारतीय दूतावासलाई बुझाएको ज्ञापनपत्रमा नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापा, जनसांस्कृतिक महासंघ नेपालका संयोजक खगेन्द्र राई, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष मधु क्षेत्री तथा समाजवादी सांस्कृतिक महासंघका अध्यक्ष धनराज सुब्बाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस