बाबाको मृत्युपछि ‘छोरी क्रियापुत्री’ !

अविवाहित छोरीको पिताको निधनपछिको अन्त्यष्टि अनुभव

गीता बराल ‘लक्की’ । जन्म र मरण जीवन चक्र हो । कुनै एउटा पनि घर नहोला की जसमा कसैको जन्म अनि मरण नभएको होस् । आफन्त वा आफ्ना प्रिय मान्छेको परिवारमा जन्म र मृत्युको उल्लास र सामना नगरेका मानिस कमै होलान् । फरक यत्ति हो, जन्ममा मान्छे खुशी हुन्छ, मृत्युमा दुःखी । जन्म मान्छेले चाहेर मात्रै हुन्छ, मृत्यु कसैका चाहाना, कल्पनाले हुन्न, यो सत्य हो ।

हो, मैले पनि जीवनमा जन्म र मृत्युका धेरै घटना देखें । भोगें । जन्ममा हर्षोल्लास मनाइयो र मृत्युमा दुःखी भइयो । मृत्युले पनि आफन्त र नातागोताबीच फरक फरक पीडा दिँदोरहेछ । यसको महसुस मलाई मेरो आफ्नै बुबा एस.पी बरालको मृत्युले दिलायो । मेरो संरक्षक, अभिभावक, आदर्श व्यक्तिको निधनले दिएको पीडा अहिले नै हो जस्तो लाग्छ । जति भुल्न खोज्छु, पीडा त्यति बल्झिन्छ । मैले पिउने पानी, फेर्ने सास र हिँड्ने बाटो जताततै बुबा हुनुहुन्छ, मलाई नियालिरहनुभएको छ, मुनिया भनेर बोलाउनु भएको जस्तो लाग्छ । झसङ्ग हुन्छु । आँखा त्यसैत्यसै रसाउँछन् ।

म बुबाआमाकी कान्छी सन्तान । दुःख के हो खासै थाहा भएन । सायद अत्यन्तै कम छोरीहरूले जीवनमा यस्तो अवसर पाउँछन्, सुख पाउँछन् ।

नेपाली समाजमा छोरी मात्रै हुनुको पीडा र आक्षेप दम्पतीलाई कतिसम्म हुन्छ, त्यो त मेरा आमाबुबालाई पनि राम्रै अनुभव थियो । तर आमाबुबाकी अविवाहित छोरीले पाइला पाइलामा भोग्नुपर्ने प्रश्न, अप्ठ्यारा र चुनौतीको बारेमा म एक विश्वविद्यालय नै हुँ ।

एउटा अभिभावकको मृत्युले दिने दर्द कति ठूलो हुन्छ, त्यो त सबैलाई थाहा होला । तर पुरातन सोचले गाँजेको नेपाली समाजमा एउटी छोरी मान्छेका लागि बुबाको मृत्युको पीडाले चिरा चिरा पारेको छाती उहाँको शबमा दागबत्ती दिन पाउँदा गर्वले ढक्क फुलेर आयो । मेरो खुसी, मेरो मेरुदण्ड, मेरो मनको भगवान बुबाको मृत शरीरमा आगो लगाउने सिंगो हक पाएकी मेरा लागि सायद त्यो हक त्यतिबेला मात्रै सम्भव भो, जतिबेला बुबासँग अधिकार माग्ने अरु कोही छोराहरू थिएनन् । अर्थात मेरो अघि र पछि दाजुभाइ नै थिएनन् ।

म उहाँकी कान्छी छोरी । परिवारमा आमाबुबा, दिदी र म । दिदीको बिहेपछि रह्यौं हामी तीन जना । नेपाल मेडिकल हस्पिटल एण्ड कलेज जोरपाटी अत्तरखेलमा २०६७ साउन ४ गतेका दिन दिउँसो ३ बजे हो उहाँले भौतिक संसार त्यागेको । तर अस्ट्रेलियामा रहेकी दिदी इन्दिरा जिसी बरालले बुबाको अन्तिम मुख हेर्ने भनेपछि साउन ६ गतेमात्रै उहाँको अन्तेष्टि भो । त्यसपछि रह्यौं आमा र ममात्रै ।

बुबा पेशाले बरिष्ठ इन्जिनियर । नेपाल मेडिकल हस्पिटल एण्ड कलेज जोरपाटी अत्तरखेलको संचालक समिति सदस्य । समिड अस्पतालको लगानीकर्ता ….। पदभन्दा पनि ठूलो उहाँको मन । सोच्ने तरिका । निभाउने व्यवहार । कतिलाई जिउन सिकाउनु भो । धेरैका लागि प्रेरणाको स्रोत बन्नु भो । मान्छेलाई मान्छेलाई सहयोग गर्नैपर्छ भन्ने भावना थियो ।

जसरी कुखुराले आफ्ना चल्लाहरूलाई शत्रुको सुइँको पाउनेबित्तिकै पखेटाभित्र लुकाउँछ, हो तयसैगरी उहाँको सहारा र छत्रछायामा हुर्किएँ, बढे म । अझ भनौं रक्त क्यान्सरका कारण जीवन आज हो की भोली ठानेर मृत्युसँग लुकामारी गरिरहेकी मलाई हैन, तिमी बाँच्नुपर्छ । तिम्रा लागि म छु भन्नु भो । पलपल, जीवन रहुञ्जेल हाँसेर जिउनुपर्छ भन्नु भो । त्यही अनुसारको वातावरण सृजना गर्नु भो । हातमा हात र साथमा साथ दिनु भो । म सम्झिरहन्छु मेरो मनोबल बढाउनका लागि उहाँले के मात्रै गर्नुभएन र ? अनि सधैं सधैं मिस गर्छु बुबाले मलाई असाध्यै मन पर्ने खानेकुरा तन्दुरी, नान, छोला बोकेर आएको । किनकी बुबासँगै मैले यी खानेकुराहरू पनि त गुमाएकी छु ।

आज म स्तब्द छु । करिब ८ वर्ष अस्पतालको यात्राकै क्रममा थलिनुभएका उहाँको साहस र बिबेकचाहिँ कहिल्लै थलिएन । शरीरले साथ नदिँदा पनि, रोगले सताउन नछोड्न पनि उहाँले परिश्रम गर्न छोड्नु भएन । लाग्छ उहाँको त्यही आत्मबल र सकारात्मक सोचसँग बेलाबेलामा रोगहरू प्नि हार्थे । भाग्थे उहाँबाट ।

उहाँ प्रायजसो भक्तपुरको लोकन्थलीस्सिथत समिड हस्पिटल भर्ना हुने अनि डिस्चार्ज हुने क्रम बढ्दै थियो । मेरो आफ्नै स्वाभिमानका लागि रोगी शरीर भए पनि म सानो पसल चलाउँथे । दिउँसो भन्दा उहाँलाई रातको समयमा कुर्थे । बुबाले मेरो जीवनको लागि गर्नुभएको त्यागको ऋण त म जति गरे पनि तिर्न सक्दिन, तर उहाँ जीवित रहेसम्म मैले पनि जे जति गर्न सके म त्यसमा पूर्ण सन्तुष्ट छ । उहाँप्रति गर्न नसकेका कुरामा कहिँकतै पश्चात छैन ।

सायद बुबा मसँग कहिल्यै रिसाउनु भएन । मन दुखाउनु भएन । भर्खरै देखेको एउटा सपनाले पनि त्यसलाई पुष्टि गर्छ भन्ने लाग्छ । उहाँ अस्पतालको बेडमा हुनुहुन्थ्यो । म गएँ, उहाँ मुस्कुराउनु भो । जसरी उहाँ अस्पतालको बेडमा हुँदा म जान्थे र मलाई देखेर त्यसरी नै उहाँको अनुहारमा मुस्कान छाउँथ्यो । झसंग ब्यूँझे । उही सुनसान रात । कोही थिएन वरपर । आँखा रसाए । एक्लै छट्पटिएँ ओच्छ्यानमा ।

तस्बिर: बुबाको लागि पशुपति क्रियापुत्री सेवा केन्द्रमा किरिया बस्दा गीता बराल ‘लक्की’

तिनै प्रिय बुबाको लागि पशुपति क्रियापुत्री सेवा केन्द्रमा किरिया बसिरहँदा मैले जे भोगे, जे सुनें र सामना गरे त्यस्तो कसैलाई नहोस् । किरियाको दौरानमा भेट्न आउने बाहिरका मान्छेहरूबाट थुप्रै सहानुभूति पाइयो । तर आफ्नै अनि आफ्नै नातागोता र परिवारकै सदस्यले भने बुबालाई बेवारिस पनि भन्न भ्याए । अर्थात उहाँका हामी दुई सन्तान हुँदाहुँदै पनि छोरा नभएका कारण कोही नभएको जस्तो तरिकाले उडाइयो । मैले किरिया गरेको कसैलाई चित्त बुझेको थिएन । तर हामी किरिया बस्छौं, तिमी नबस पनि कसैले भनेनन् । मरिसकेको मान्छेमाथि पनि यति धेरै, सुन्नै नसक्ने गरी आरोप प्रत्याप लगाइयो । जसको प्रतिकार म एक्लै अविवाहित छोरीले गर्नुपर्यो । स्वर्गीय बुबाको रक्षार्थ म एक्लैले प्रतिवाद गर्नुपर्यो । कोही भएनन् उहाँको पक्षमा बोलिदिने । यसो नभनौं, नगरौं भन्ने । अर्कारित आफ्नै आमा अर्थात बुबाकी श्रीमतीलेसमेत अरुका कुरामा मात्रै हो मा हो मिलाउने । म अविवाहित हो, त्यसकारण बुबाको किरिया गर्ने सबै हक मेरो हो भन्दा सबैले उडाए । मलाई एक्ल्याए । बुबाले जीवनमा केही गर्न नसकेको भन्दै सत्तोसराप गरे । आमा त झन् ‘म त ओम शान्तीमा लागेको मान्छे, किरिया गर्नुपर्दैन’ भनेपछि आफन्त र नातागोताबीच भएको मुखामुख र आलोचनाको त झन् के कुरा गरौं र ।

बुबा जीवित हुँदा उहाँका लागि कोही भएनन् । न जीवन साथी, न छोरी (मेरी दिदी), न नातागोता, न आफन्त । शरीर गलेर, थला परेको बेला सायद म भन्दा ज्यादा मेरी आमाको जरुरत थियो बुबालाई । त्यस्तै मेरोजत्तिकै माया आफ्नी जेठो छोरीको पनि त हुँदो हो । तर दिदी, अहँ । बुबा बिरामी परेर थलिएपछि एकपटक पनि बुबाको मुख हेर्न आउनुभएन । तर जब बुबा नरहेको खबर पाउनु भो अनि उहाँको मृत्त शरीर हेर्न दुई दिनपछि अष्टे«लियाबाट आउनु भो । उहाँकै कारण बुबाको शरीर पशुपतीको चिस्यान कक्षमा राख्नुपर्यो । जिउँदोमा नलागेको माया, मरेपछि कसरी जाग्यो म आफै अचम्मित हुन्छु । अनि बुबा अस्पतालको बेडमा रोग र मृत्युसँग जुधिरहेका बेला दिउँसोतिर एकछिन जाने र मुख देखाएर हतारहतार फर्किनेहरूलाई उहाँको मृत्युपछि नानाथरी भन्ने अधिकार कस्ले दियो होला ?

१४ वर्षदेखि रक्त क्यान्सरसंग जुधिरहेकी छु । प्रतिवादीले म्याद गुजारेका कारण मुद्दा मैले जितेकी छु तर कार्यान्वयन भएको छैन । यसर्थ मैले कुनै पुरुषसँग होइन, नारी त्यो पनि आफ्नै आमासंग लड्नुपरेको छ ।

बुबाको मृत्युपछि आमासंग मेरो सम्बन्ध राम्रो छैन । कारण हो सम्पत्ति । म अविवाहित त्यसमा पनि बुबाको प्रिय पात्र अनि बाचुञ्जेल र उहाँको मृत्युपछिका सबै कर्मकाण्ड पूरा गर्ने सन्तान पनि । त्यसकाकारण उहाँको सम्पत्तिको हकदार म भएका कारण आमाले म रोगी छोरी आमालाई त्याग्नुभएको हो । अनि बाचुञ्जेल बुबालाई मुख नदेखाएकी दिदीले मलाई बुबाको सम्पत्ति चाहिन्न त भन्नु भो तर उहाँको सबै सम्पत्ति के कहाँ छ, त्यसको सोधीखोजी गर्नु भो । मैले बुबाको सम्पत्ति संरक्षण गर्न खोजेका कारण मुखले त केही भन्नु भको छैन, तर व्यवहारमा दिदीलाई चित्त नबुझेको । अर्थात आफूले पनि सम्पत्ति पाउनुपर्ने लुकेको स्वार्थ ।

म यतिबेला आमासंग अंश मुद्दा लडिरहेकी छु । बुबाले मेरो सबै सम्पत्ति तेरै हो भन्नुभएको थियो । १४ वर्षदेखि रक्त क्यान्सरसंग जुधिरहेकी छु । प्रतिवादीले म्याद गुजारेका कारण मुद्दा मैले जितेकी छु तर कार्यान्वयन भएको छैन । यसर्थ मैले कुनै पुरुषसँग होइन, नारी त्यो पनि आफ्नै आमासंग लड्नुपरेको छ ।

संविधानको धारा २५ उपधारा (१) मा उल्लेख भय बमोजिम अविवाहित ४० वर्षे छोरीले कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हालिल गर्न सक्दिनन् र ? अविवाहित छोरीले पनि छोरासरह सम्पत्ति सम्बन्धि कर्तव्य तथा अधिकार पाउछन् भन्ने कुरा किन कागजमा मात्र सिमित ?

स्वर्गीय बुबाप्रति श्रद्धाञ्जली ।

भक्तपुर, धुन्चे हाइट, वडा नम्बर ५ ।
Nepal1_leukemia@yahoo.com (महिला खबरका लागि गीता बरालको सामाजिक सचेतना मुलक सामाग्री)

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको