पूर्वराजा ज्ञानेन्द्रलाई गणतन्त्र दिवसमा माधव नेपालले दिए कडा चेतावनी


जेठ १५, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गणतन्त्रको विकल्प अरु कुनै प्रणाली नभएर अझ उन्नतस्तरको लोकतान्त्रिक गणतन्त्र रहेको बताए।

उनले पुन:राजा बन्ने चाहना परित्याग गरी प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिए। उनले देश चलाउने चाहना भए जनताद्वारा निर्वाचित भएर आउन चेतावनी समेत दिए।

‘राजतन्त्रको बारेमा कुरा उठिराखेको छ। बाबु भएन भने छोरा । छोरा भएन भने नाती पनाती जिम्मा दिउँ भन्ने कुरा आउँला। यस्तो पञ्चेको शासन हामीलाई चाहिँदैन। मुलुक सञ्चालन गर्ने चिन्ता कसैलाई लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ,’उनले भने,’ चुनाव जितेर आए हुन्छ। जनताको मन जितेर आए हुन्छ। प्रतिष्पर्धाबाट जनताको मन र विश्वास जितेर अगाडि बढ्न आँट गरे हुन्छ।’

उनले सरकार जनताका समस्याप्रति जिम्मेवार नभएको आरोप लगाए। मुलुकलाई अगाडि बढाउने विषयमा पार्टीले पटकपटक सुझाव दिएपनि सरकारले नसुनेजस्तो गरेको उनको भनाइ छ । अध्यक्ष नेपालले गणतन्त्र विरोधी शक्तिहरूलाई परास्त गर्न र मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए।

१५ जेष्ठ २०८२, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको