सल्यान कपुरकोटका सुरेन्द्र बेपत्ता, फेला नपरेपछि परिवार चिन्तामा


असार ३, सल्यान । गत शुक्रबारदेखि बेपत्ता भएका सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४ धनबाङ निवासी शेरबहादुर वली भनेर चिनिने सुरेन्द्र वलीको अवस्था अझै पत्ता लाग्न नसकेपछि परिवार, आफन्त र स्थानीयवासी चिन्तित बनेका छन् । ३५ वर्षीय सुरेन्द्र वली जेठ ३० गतेदेखि सम्पर्कविहिन भएको उहाँको परिवारले जानकारी दिएको छ ।

घरको मुल मान्छे हराएपछि आफुहरुलाई धेरै चिन्ता र पिरले सताइरहेको भन्दै श्रीमति मिना वलीले श्रीमानको खोजीका लागि सबैसंग अनुनय गर्नुभएको छ । उहाँले भन्नुभयो, “मेरो श्रीमान केही महिनादेखि अस्वस्थ हुनुहुन्थ्यो, डाक्टरको सल्लाहमा औषधी खाँदै घरमै आराम गरिरहनुभएको थियो । एकाएक घरबाट निस्कनुभयो, त्यसपछि सम्पर्कविहीन हुनुहुन्छ ।”

सम्भावित आफन्तको घरमा सोधीखोजी गरिएको तथा वनजंगलतिर पनि खोजी गरेको भएपनि बेपत्ता भएका सुरेन्द्रलाई फेला पार्न नसकिएको परिवारको भनाई छ । दाजु नाता पर्ने रमेश डाँगीले भन्नुभयो, “घरबाट दाङ जान्छु भनेर निस्किनुभएको थियो, तर उहाँ कहाँ जानुभयो, के भयो भन्ने कुनै जानकारी छैन ।”

कपुरकोट–४ का वडा अध्यक्ष मित्र कठायतले वलीको अवस्था र पृष्ठभूमिका कारण परिवारजन झनै चिन्तित रहेको जानकारी दिनुभयो । “उहाँ शारीरिक रूपमा कमजोर अवस्थामा हुनुहुन्थ्यो,” कठायतले भन्नुभयो, “त्यसैले हामी सबै चिन्तित छौं ।” उहाँले परिवारका सदस्यहरू, छरछिमेक, स्थानीयबासी र प्रहरी प्रशासनले संयुक्त रूपमा विभिन्न सम्भावित स्थानहरूमा खोजतलास गरिरहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको जनाउनुभयो ।

सुरेन्द्रलाई देख्ने वा सम्बन्धित जानकारी भएका जो कोहीले नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहुन वा मोबाइल नम्बर ९७४२२५३१६०, ९८४७९०७२४७ र ९७६९७३६०८५ नम्बरमा सम्पर्क गरिदिन परिवारजनको अनुरोध छ ।

२ असार २०८२, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको