नेपालको असल कम्युनिस्ट पार्टी नेकपा हो , देशलाई अप्ठ्यारो पर्दा निर्भिकतापुर्वक लड्छ: विप्लव


माघ ३, कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको असल कम्युनिस्ट पार्टी नेकपा भएको बताएका छन् ।

बिहीवार कपिलवस्तु स्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले उक्त कुरा बताएका हुन् ।

महासचिव विप्लवले पार्टीको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै भने– ‘हाम्रो पार्टी नेपालको एकमात्र असल कम्युनिस्ट पार्टी हो। यो पार्टी देशलाई अप्ठ्यारो पर्दा निर्भिकतापुर्वक लड्ने पार्टी पनि हो । हामी एमसिसी , एसपीपी लगाएत तमाम राष्ट्रघाती सन्धी सम्झौता विरुद्ध लडेका छौँ । भ्रष्टाचार , व्यथिती , विसंगती , सहकारी ठगी , ऐनसेलको करछली ,मानव बेचविखन , साम्राज्यवाद र दलाल पुजीवादी सत्ताका विरुद्ध निरन्तर संघर्ष गरेका छौँ । नेकपा कुनै संसदवादीहरुको झुण्ड होइन , यो नेपाली श्रमिक जनताको मुक्तिका खातिर बलिदान गरेको कम्युनिस्ट पार्टी हो ।’

‘दलाल पुजीवादी सत्ताले नेपाली जनताको आकांक्षा र चाहानाको नेतृत्व गर्न सक्दैन । अहिले संविधान संसोधनको कुरा चलिरहेको छ तर संविधानका केही धाराहरु फेरेपनी सत्तामा दलाल पुजिपती वर्गको हालिमुहाली हुँदासम्म जनताले मुक्ती पाउदैनन् । तर कतिपयले अहिले संकटको समाधान ०४७ साल फर्काएर , ०१९ साल फर्काएर हुने कुरा गर्छन जुन समाधान होइनन् । यो दलाल पुजीवादी सत्ताको निर्विकल्प समाधान भनेको नेपाली बिशेषताको समाजवाद , वैज्ञानिक समाजवाद हुँदै साम्यवादतिर जाने राजनीतिक प्रणाली हो । त्यसैले अहिलेको राजनीतिक , आर्थिक , सामाजिक ,सांस्कृतिक समस्याको समाधान समाजवाद नै हो भन्ने हाम्रो प्रस्ताव हो ,’ उनले भने।

महासचिव विप्लव सीले पार्टीलाई चन्दाबाट मुक्त गर्न आत्मनिर्भर उत्पादनको अभियान चलाएको बताए ।
उनले भने – ‘चन्दाबाट पार्टीलाई मुक्त गर्नैपर्छ । हामिले आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेताकार्यकर्ता , आत्मनिर्भर जनताको उदेश्य सहित देशव्यापी उत्पादनको कार्यलाई घनिभुत बनाएका छौँ । खानाका लागि समेत मालिकसंग माग्नुपर्ने नियतीलाई हामिले तोडिदिएका छौँ । नेकपा मात्रै नेपालमा यस्तो पार्टी हो जसले समाजवादी मोडेलमा उत्पादन कार्यलाई राजनिती संगै जोडेर अगाडि बढाएको छ । हाम्रो उत्पादन समाजवादी व्यवस्थाको आधारशिला हो ।’

एक अर्को प्रसंगमा महासचिव विप्लवले पार्टीले १० वर्षको जिवनमा गरेका राजनीतिक , आर्थिक , दार्शनिक , सांस्कृतिक एवम तमाम क्षेत्रमा गरेका महत्त्वपूर्ण संस्लेषनलाई अब विचार संस्लेषनमा व्यक्त गरिने बताए ।
उनले एकीकृत स्वामित्व ,सामुहिक उत्पादन र व्यक्तिगत उत्तरदायित्वको अवधारणा सहित नयाँ आर्थिक मार्ग अनुसार पार्टीको आन्तरिक पंक्ती र समग्र जनतालाई समृद्धितिर डोर्याउने योजना बनाएको समेत बताएका हुन्।

‘माओवादीहरुको एकताका बिषयमा प्रचण्डको पार्टीमा अन्योलता देखियो । प्रचण्डको पार्टीमा हुँदाहुँदा हामीलाई फुटको औचित्य स्पष्ट गर्न सकेनौं भन्ने आवाजहरु आए , अझ विप्लवहरुले आत्मालोचना गर्ने सम्मका कुराहरु आए । यो कति लाजमर्दो कुरा हो । हामिले फुटको औचित्य पुष्टि किन गर्नुपर्ने ? के फुटको औचित्य अहिले माओवादी पार्टीमा जे भइरहेको छ त्यसले गर्दैन र?नेपालको माओवादी आन्दोलनलाई हेर्नै नसकिने गरि गन्हाउने बनाउने को हो? यी सबैबाट हेर्दा माओवादी केन्द्रको यो गैरजिम्मेवारपुर्ण कुरा भयो । वास्तवमा माओवादीसंग आज के छ ? तर नेकपासंग आज सबै छ। हाम्रो आफ्नो विचार छ , अर्थनीति छ , उत्पादन नीति छ , सांस्कृतिक निति छ , हामीसंग आफ्नै खुट्टामा उभिएको एउटा असल कम्युनिस्ट पार्टी छ । तर सबै माओवादी नेताकार्यकर्ताको चाहना एकताको छ जसलाई हामिले मुर्त रुप दिनुपर्दछ । माओवादीलाई रुपान्तरण गरेर नयाँ ढंगले एकता गर्नुपर्दछ । एकता कुर्सी र पदका लागि होइन , एकता प्रष्ट विचार, दस्तावेज सहित हुन्छ । माओवादी केन्द्रमा मान्छे त छन् तर घामले खाएर टाक्सिएका जस्ता छन् जसलाई नेकपाले प्रज्वलित गर्नेगरी सोचेको छ । माओवादीहरुलाई एकपटक एकतावद्ध गर्न सकियो भने ०६४ साल जन्माउन सकिन्छ तर हामिले पार्टी चलाउन पाउनुपर्दछ ,’ महासचिव विप्लवले भने।

महासचिव विप्लवले चुनाव प्रयोग सम्बन्धीको प्रसंगमा लेनिनवादी बुझाइलाई बदल्नुपर्ने बताए ।

‘चुनावलाई लेनिनवादी बुझाइबाट बदल्नुपर्छ । आजको दुनियाँमा चुनावलाई लेनिनको तरिकाले मात्रै हेरेर हुँदैन ।एकीकृत जनक्रान्तिको एउटा मोर्चा चुनाव हो । हामिले एकपटक चुनावलाई प्रयोग गरेर हेर्ने हो । चुनावबाट पनि क्रान्तिमा जनतालाई ध्रुवीकृत गर्दै जाने हो । संसदलाई अब समाजवादको बहस गर्ने थलो बनाउँने गरि सोच्नुपर्दछ । हामिले एकपटक सत्ता नचलाएसम्म अरुलाई छाडदैनौँ । हामी जनतालाई ०८४ मा अपिल गर्छौं एकपटक हामिलाई सेवा गर्ने मौका दिनुहोस् । साच्चिकै हामीलाई गरेर देखाउने चाहना छ । अमेरिकी एजेन्टलाई भोट हाल्ने कि नेकपालाई , हामी जनतालाई सोध्छौँ । चुनाव नेपाली जनतालाई ध्रुवीकरण गर्ने ठूलो मोर्चा हुनसक्छ ,’विप्लवले भने ।

महासचिव विप्लवले पार्टीको केन्द्रीय समितिको छैठौं बैठकको निर्णय अनुसार फागुन २१ गतेदेखी झापा-कञ्चनपुर मार्च अभियान चलाउने बताए ।

पार्टीका पिबिएम सञ्जीव सीको स्वागत मन्तव्यबाट सुरु भएको लुम्बिनी प्रदेश अन्तर्गतका १० जिल्लाका जिल्ला सदस्यहरुको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमको सहजीकरण पार्टीका पिबिएम प्रज्वलन सीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता पार्टीका स्थायी समिती सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले गरेका थिए ।

कार्यक्रममा पार्टीका पिबिएम भेषराज सी , असल सी , कृति सी , आदर्श सी , केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सी तथा पार्टीका केन्द्रीय सदस्यहरु एवम केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।

३ माघ २०८१, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको