जेठ २५, दाङ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३५ बढी घाइते भएका छन । दाङतुलसीपुर–अमलिया सडकखण्डमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दंगिशरण गाँउपालिका–२ का ३७ वर्षका शान्ता खड्का चौधरी र सोही ठाँउका ६५ वर्षका नारायण भण्डारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना परी ३५ जना घाइते भएको प्रहरीले जनाएको छ, तर अहिलेसम्म प्रहरीले २३ जनाको मात्रै विवरण पठाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा दंगिशरण गाउँपालिका–२ का २५ वर्षका मनिसा बस्नेत, सोही ठाँउका ५२ वर्षका गोमा सार्की, ६० वर्षका मोतिसरा सुनार, ३४ वर्षका किसिता पुन, ३२ वर्षका सिमा पुन, २७ वर्षका कमला नेपाली, उहाँको छोरा ८ वर्षका शंकर नेपाली, उहाँको भदै ९ वर्षको शुसान्त नेपाली रहेका छन् ।
यस्तै सोही ठाँउका ४१ वर्षका नोखीराम बिक, ४८ वर्षका कुसल बिक, २५ वर्षका ललिता सुनार, ४५ वर्षका कमला नेपाली, २३ वर्षका अमृत कुसारी, ४५ वर्षका पार्वति नेपाली, उहाँको छोरा १२ वर्षका राजेश नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।
यस्तै सोही ठाउँका १० वर्षका प्रवल परीयार, ४४ वर्षका भिमा घर्ति, ४३ वर्षका लक्ष्मी नेपाली, १५ वर्षका एशोदा बस्नेत, ५४ वर्षका चुडामनी बिक, ४१ वर्षका बालिका ओली रहेको प्रहरी निरीक्षक रानाले बताए ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुबाहक बस र तुलसीपुरबाट बखरियातर्फ गइ बिद्यार्थी छोडेर फर्किरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा आइतबार बिहान ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा दुर्घटना भएको इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।
यात्रुबाहक बस सडकको बाँया साईडमा सडकदेखि करिब ४५ मिटर तल खसेको प्रहरी निरीक्षक रानाले जानकारी दिए । दुवै बसका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस