भारतले लगायो पाकिस्तानबाट हुने आयातमा प्रतिबन्ध


वैशाख २०, काठमाडौं । भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गरी पाकिस्तानबाट हुने प्रत्यक्ष अप्रत्यक्ष आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको जानकारी दिएको छ।

पाकिस्तानमा उत्पादन भएका र भारत ल्याइँदै गरिएका सामानहरूमा पनि प्रतिबन्ध लगाउन महानिर्देशनालयले निर्देशन दिएको छ। बिबिसीका अनुसार सामानमात्रै नभई पाकिस्तानसँग हुलाकबाट हुने चिठी आदानप्रदानमा समेत रोक लगाइएको छ।

अप्रिल २२ मा जम्मू-कश्मिरको पहलगाममा आतंकवादी हमलाबाट नेपालका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको घटनापछि भारत-पाकिस्तानबीच प्रतिबन्धको शृंखला चलेको छ।

घटनाको भोलिपल्टै भारतले सिन्धुल जलसम्झौता निलम्बन गर्ने निर्णय गरेको थियो। जबाफमा पाकिस्तानले पनि सिमला सम्झौता निलम्बन गर्ने निर्णय गरेको छ।

दुवै देशले एक अर्काका कुटनीतिक अधिकारीहरूलाई फिर्ता बोलाएका छन् भने एक अर्काको आकाशमा उडानसमेत प्रतिबन्ध लगाएका छन्।

जम्मू-कश्मिरको नियन्त्रण रेखा (एलओसी)मा पनि भारत-पाकिस्तान गोली हानाहान भएको छ। दुई देशबीच तनावग्रस्त परिस्थित बनेपछि संयुक्त राष्ट्रसंघले संयमता अपनाउन आग्रह गर्दै आएको छ।

२० बैशाख २०८२, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको