रोल्पाको गंगादेव गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा 


बैशाख १८, रोल्पा । रोल्पा जिल्लाको गंगादेव गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । बिहिवार एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । 

गाउँपालिका स्तरीय खोप समन्वय समितिका संयोजक तथा गाउँपालिकाका अध्यक्ष हरि बहादुर पुनको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सह संयोजक तथा जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारको प्रमुख आतिथ्यता, गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारीक केसी र स्वास्थ्य कार्यालय रोल्पाको कार्यालय प्रमुख सिता कुवरको विशिष्ट अतिथ्यता रहेको थियो ।

सरकारले जन्मेदेखि ५९ महिनाभित्रका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । यस वर्ष गंगादेव गाउँपालिका क्षेत्रका बच्चा जन्मिए देखि १५ महिना भित्रका ५ सय ४ जना बालबालिकाहरुले सम्पूर्ण खोप पाइरहेको र १६ महिनादेखि ५९ महिनासम्मका गाउँपालिकाभित्र रहेका कुल १ हजार ४ सय ५५ जना बालबालिकाहरुलाई पूर्ण खोप लगाई सकेपछि पूर्णखोप पाएको सुनिश्चितासहित पालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा संयोजक नरहरि नाथ योगीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष पुनले पूर्णखोप सुनिश्चित गर्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा पनि सबै बालबालिकालाई समयमै खोप लगाउने वातावरण निर्माण गर्न आग्रह गरे ।

गाउँपालिकाले हरेक वर्ष लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाइसकेको सुनिश्चित गरेर पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिँदै आएको छ ।

१८ बैशाख २०८२, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको