साउन २८, रोल्पा । तीन दिनदेखिको लगातार वर्षाको कारण सुनछहरी गाउँपालिका १ सेरम २ नं. वडा भित्रीगाम ३ नं. वडा बाहिरीगाम र थबाङ गाउँपालिका ४ र ५ नं. वडा उवामा टेलिफोन अवरुद्ध बनेको छ ।
शुक्रबारदेखि लगातार परेको वर्षाको कारण टेलिफोन सेवा अवरुद्ध बनेको सुनछहरी गाउँपालिका ३ बाहिरीगामका वडा अध्यक्ष उडबिर घर्तिमगरले जानकारी दिए । सोलारबाट संचालनमा आइरहेको सुनछहरी गाउँपालिका १ सेरमको दहबाङ स्थित नेपाल टेलिकमको टावरले काम नगर्दा थबाङ गाउँपालिकाको उवा र सुनछहरी गाउँपालिकाको सेरम भित्रीगाम बाहिरीगामलगाएतका स्थानमा टेलिफोन सेवा अवरुद्ध भएको सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले बताए ।
टेलिफोनले काम नगर्दा अति आवश्यक सूचनाहरु इन्टरनेट मार्फट संप्रेषण गरिरहेको थबाङ गाउँपालिका ४ नं वडा अध्यक्ष हिकमत घर्तिमगरले बताए । निरन्तर वर्षाको समयमा टेलसिफोनले काम नगर्दा गाउँ गाउँमा खबर आदानप्रदान गर्न समस्याभइरहेको वडा अध्यक्ष घर्तिमगरको भनाई छ ।
टेलिफोनको टावरमा समस्याबारे धेरै पहिले नै अवगत गराउदा पनि नेपाल टेलिकम कार्यालय नेपालगंजले बेवास्ता गरेको सुनछहरी गाउँपालिका ३ नं वडा बाहिरीगामका वडा अध्यक्ष उडबिर घर्तिमगरले बताए । गाउँघरमा टेलिफोनले काम नगर्दा सूचना संप्रेषणमा निकै समस्या भइरहेको वडा अध्यक्ष घर्तिले बताए । उनले भने- ‘ वर्षाको समय छ, फोनले काम नगर्दा गाउँ गाउँमा सूचना आदानप्रदान गर्न गाह्रो छ। ‘,
सेरमको दहबाङमा रहेको टेलिफोन टावरबाट गामको गोङबाङमा रहेको टेलिफोन टावर र थबाङ गाउँपालिका ४ थर्पुमा रहेको टेलिफोन टावरमा लिङ्क गरिएको र सेरमको टावरमा समस्या आएपछि अन्य दुबै टावरले काम नगर्ने नेपाल टेलिकम तुलसिपुर दाङका इन्जिनियर दिपक खनालले बताए । साथै सेरममा रहेको टावरमा थप ब्याट्री व्यवस्था गरेर वर्षाको समयमा पनि नियमित फोन सेवा सुचारु गर्ने इन्जिनियर खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस